रास्वपाले भदौदेखि मन्त्री र नागरिकबिच प्रत्यक्ष संवाद कार्यक्रम सुरु गर्ने

दलित अनलाइन साउन २४, २०८३

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा रहेका आफ्ना मन्त्रीलाई नागरिकसँग प्रत्यक्ष जोड्ने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी भदौदेखि सुरु हुने उक्त कार्यक्रममार्फत मन्त्रीहरूले नागरिकका समस्या, गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष सुन्ने व्यवस्था गरिने रास्वपाले जनाएको छ ।

रास्वपाका सहमहामन्त्री असिम शाहले जारी गरेको विज्ञप्तिअनुसार सरकारमा रहेका पार्टीका प्रत्येक मन्त्रीले महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकसँग संवाद गर्नुपर्नेछ ।

कार्यक्रमको पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरिनेछ । सो क्रममा मन्त्रीहरूले नागरिकका समस्या, सुझाव तथा गुनासा सुन्नेछन् ।

त्यसपछि हुने ‘नेतृत्व संवाद’ कार्यक्रममा सम्बन्धित मन्त्रीसँगै पार्टीका केन्द्रीय सदस्य र सांसदहरू सहभागी हुनेछन् । नागरिकबाट आएका विषय, समसामयिक मुद्दा तथा नीतिगत सवालमाथि छलफल गरी पार्टीको धारणा तय गर्ने उद्देश्य राखिएको रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार कार्यक्रमले नागरिकका वास्तविक आवश्यकता सरकारको नीति निर्माण र कार्यान्वयन प्रक्रियासम्म पुर्‍याउने माध्यमका रूपमा काम गर्नेछ ।

मन्त्रीलाई नागरिकप्रति थप उत्तरदायी बनाउनुका साथै पार्टी, सरकार र व्यवस्थापिकाबिचको समन्वय प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank