काठमाडौँ — निजामती कर्मचारी (सिभिल) अस्पतालको कार्यकारी निर्देशकमा प्रसूति तथा स्त्रीरोग क्यान्सर विशेषज्ञ प्रा.डा.जितेन्द्र परियार नियुक्त भएका छन् ।
भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यकारी निर्देशकमा परियारलाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।
कार्यकारी पदका लागि नियुक्तिका लागि आह्वान भएको आवेदनका आधारमा सिफारिस समितिले गरेको मूल्याङ्कन तथा अस्पताल विकास समितिको निर्णयअनुसार योग्यता क्रमको पहिलो नम्बरमा रहेका प्रा.डा.परियारलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय भएको हो।

मन्त्रालयले उक्त पदका लागि २०८३ असार ५ गते आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये सिफारिस समितिले साउन ३ गते मूल्याङ्कन गरी सिफारिस गरेको थियो।
अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयका आधारमा प्रा.डा.परियारलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
प्रा.डा.जितेन्द्र परियार सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)बाट एमबिबिएस र सन् २००६ मा प्रसूति तथा स्त्रीरोग विषयमा एमडी उपाधि हासिल गरेका हुन् ।
सन् २००९ मा दक्षिण कोरियाको सियोलस्थित उल्सान विश्वविद्यालयको आसान मेडिकल सेन्टरबाट स्त्रीरोग क्यान्सर विषयमा क्लिनिकल फेलोसिप पूरा गरी क्यान्सर शल्य चिकित्सा र आधुनिक उपचार विधिमा विशेष दक्षता हासिल गरेका थिए ।


























Leave a Reply