कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान

दलित अनलाइन जेष्ठ २२, २०८३

मोरङ — विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरेका छन्। उनले हिउँ पग्लने दर बढ्दै जानु, हिमताल विस्फोटको जोखिम बढ्नु, पानीका स्रोत सुक्दै जानु तथा चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलन खलबलिएको बताएका छन्।

Arghakhachi Cement

‘जलवायु परिवर्तनका चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेका बेला वातावरण संरक्षणका लागि सबैको साझा प्रयास अपरिहार्य छ,’ मुख्यमन्त्री कार्कीले सन्देशमा उल्लेख गरेका छन्।

उनले तीव्र विकास र मानवीय गतिविधिका कारण प्राकृतिक स्रोत तथा सम्पदामाथि बढ्दो दबाब परेको भन्दै वन, नदी, खोलानाला तथा जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

मुख्यमन्त्री कार्कीले वृक्षारोपण, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा वातावरणमैत्री जीवनशैलीलाई व्यवहारमा उतार्न सके भावी पुस्ताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्न सकिने उल्लेख गरेका छन्। साथै उनले वातावरणीय सन्तुलन कायम राख्न सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा वातावरण संरक्षण र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank