काठमाडौँ — देशका विभिन्न हिमाली तथा उच्च पहाडी क्षेत्रमा अहिले हिमपात र ठाउँठाउँमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा हल्का वर्षा पनि भइरहेका कारण देशभरि चिसो बढेको छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशभरि हिमपात र वर्षा भइरहेको हो। वर्षा र हिमपातका कारण कतिपय हिमाली र पहाडी क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने कतिपय ठाउँमा सडकहरू अवरुद्ध भएका छन्।
महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ। साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ।


























Leave a Reply