काठमाण्डौ — पोखराको लिचीबारी जग्गा प्रकरणमा दुईजना पूर्वमन्त्रीवरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
भ्रष्टाचार प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित ७ जनालाई प्रतिबादी बनाइएको छ। गुप्ता एमालेका नेता हुन् भने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष छन्। गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ ।

भ्रष्टाचार प्रकरणमा रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनलाई पनि प्रतिबादी बनाइएको छ।
अख्तियारले जनाए अनुसार तत्कालिन मालपोत प्रमुख रहेका अधिकारीविरुद्ध ५३ लाख, कर्मचारीहरु गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ।
गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि अनुसन्धान शुरु भएको थियो । गुप्तामाथि कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकुलको व्यक्ति व्यवस्थापन गरिदिने नाममा त्यो रकम लिएको आरोप छ।
घुस लिएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका थिए । गुप्ता भन्दा अघि मन्त्री बनेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि पटकपटक रकम लिएको अडियो सार्वजनिक भएको थियो।
गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिए। श्रेष्ठ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भूमि व्यवस्थामन्त्री थिइन्।


























Leave a Reply