खरानीको बीजबाट नुतन काँग्रेसको नवनिर्माणमा जुटौं

दलित अनलाइन भदौ २८, २०८२

काठमाडौं—    मुलुकभित्र उत्पन्न राजनीतिक परिस्थितिबारे हामी सबै जानकार नै छौं। मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ। देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ। हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ।

यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरु घटे र त्यसको परिणाम स्वरुप ‘जेन-जी’ आन्दोलनको युवा उर्जा र चेतनावाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र बिश्वास जितेर काम गर्नेछ भन्नेमा म बिश्वस्त छु।

म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालिन सरकारले कसरी हेर्‍यो भन्नेबारे समिक्षा गर्दिन, यसबारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रुपमा राखेको कुरा साथीहरुलाई विदितै छ।

भाद्र २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन।

त्यसक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहाँस छ, उहाँमाथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ।

हिँजो काँग्रेस कहाँ चुक्यो? के भयो ? र के हुनुपर्थ्यो? भनेर म यहाँ समय खर्च गर्न चाहन्न। अब नयाँ परिस्थितिमा नेपाली काँग्रेसका साथीहरु कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ। यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं। हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी काँग्रेसको दिशा निर्धारण गर्नुपर्दछ।

साथीहरू,

लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई- मधेसमा काँग्रेस नेता र कार्यकर्ताहरुले अनेकन कष्ट, यातना र बलिदान दिएर निभ्न दिएनन्। यो हाम्रो प्रेरणाको श्रोत हो। आज फेरी एकपटक लोकतान्त्रिक इतिहासका ति योद्धा, नेता र सहिदहरूलाई सम्झेर काँग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ। हामीसँग आँशु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन, निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाई दिदीबहिनीहरूले गरेको अपेक्षा अनुरुप खरो उत्रिन सकेनौं होला। यसको लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौं, गर्नुपर्छ।

मुख्य कुरो आज नेपाली समाजमा परिवर्तनको तिव्र चाहना छ। हाम्रा युवाहरु आफ्नै देशमा आफनो सुन्दर र समृद्ध भविष्यको खोजीमा छन। काँग्रेस त्यसको माध्यम बनोस र बन्नुपर्छ भन्ने आम नागरिकको चाहना छ। हाम्रो भावी ध्येय यसैमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ।

समयको पदचाप अनुरुप हामी हिड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठुला राष्ट्रिय दललाई सत्तावाट बाहिरिन वाध्य पार्‍यो। नेपाली समाज र यहाँका उर्जावान युवाहरु एकातिर छन, काँग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरु भए, हामी चुक्यौं। समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा हामी समर्पित हुनेछौं भन्ने प्रण गर्छौं।

साथीहरु,

जसरी देशमा नयाँ सम्भावनाहरु प्रकट भइरहेका छन्। नयाँ घटनाहरु अगाडि आएका छन्। यी सबैको संवाहक भएर नेपाली काँग्रेस अगाडि आउनु परेको छ। काँग्रेस भित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो। यसको लागि देशव्यापी बहश, छलफल र विवेकपूर्ण कदमहरु कसरी अगाडि बढाउने भनी म तपाईहरु विच दशैं लगत्तै देशव्यापी रुपमा आउनेछु।

अन्तमा,

सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भए। हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं। पार्टी ‘न दाजुको न भाईको काँग्रेस काँग्रेसजनको’ भनेर अगाडी बढौं।

जनताको भरोसा र विश्वासलाई शीरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ। विपी कोइरालाको दिव्यवाणी सम्झौं ‘नेपाल पक्कै ब्युझिन्छ जय नेपालको नाराले’ फेरि एकपटक देशभरि यसलाई बुलन्द गरौं।

विपीका पिताजी कृष्णप्रसाद कोइरालाले १ सय वर्ष भन्दा अगाडि निर्माण गर्नुभएको विराटनगरको ‘कोइराला निवास’ जहाँ म बस्थें। जहाँ हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको थियो।

लोकतान्त्रिक आन्दोलनको धरोहर थियो कोइराला निवास। नेपालको लोकतान्त्रिक आन्दोलनको मन्दिर थियो। भाद्र २४ गते जलेको छ, जलाईएको छ।

कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ। तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न। बिपी विचार मर्न सक्तैन। पिताजीको सामाजिक आन्दोलनको बीज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिदैन। कोइराला निवासको खरानी बीजबाट नुतन काँग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं।

(नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाकाे सामाजिक सञ्जालबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank