काठमाडौं — हालैमात्र चीनबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भने अनिश्चित देखिएको छ। भारतीय सञ्चार माध्यमहरूले उनको भ्रमण अनिश्चित भएको खबरहरू प्रकाशित गरेका छन्।
द प्रिन्ट अनलाइनका अनुसार यो महिना लगभग उनको भारत भ्रमण हुने छैन। भदौको पहिलो साता नेपाल भ्रमण आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो पत्र दिएका थिए। तर त्यसमा मिति भने तय भएको थिएन।
परराष्ट्र मन्त्रालयले भने भदौ ३१ गते भारत जानेगरी तयारी सुरु गरिसकेको थियो। तर भारतीय पक्षबाट भने त्यो मितिबारे कुनै जवाफ आएको छैन। नेपाली सेनाको विशेष विमानबाट प्रधानमन्त्री ओली काठमाडौंबाट सिधै बिहार राज्यको बोधगया जाने कार्यक्रम थियो। बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो। त्यहाँको पुरानो विश्वविद्यालयको एउटा कार्यक्रममा उनी सहभागी हुने र त्यही कार्यक्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय भेटघाट हुने कार्यक्रम तय भएको थियो।

तर यो भ्रमणको औपचारिक तयारीबारे भारतले अहिलेसम्म केही भनेको छैन।
गत असारमा ओली तेस्रोपटक प्रधानमन्त्री भएका थिए। तर अहिलेसम्म उनले भारत भ्रमणको निम्तो पाएका थिएनन्। बरु परराष्ट्र मन्त्री हुनासाथ भारत पुगेकी आरजु राणा देउवालाई ‘प्रधानमन्त्री सहरकै सम्मान’ दिइएको भन्दै चर्चा भएको थियो। त्यो बेला आरजुले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटेकी थिइन्।
औपचारिकरुपमा भारत भ्रमण नगएपनि यो कार्यकालमा ओली र मोदीबीच तीनपटक भेट भइसकेको छ। गत वर्ष न्यूयोर्कमा संयक्त राष्ट्रले आयोजना भएको फ्यूचर समिट र त्यसपछि थाइल्याण्डमा भएको बिम्स्टेक सम्मेलनमा पनि ‘साइडलाइन’ वार्ता भएको थियो।
हालैमात्र चीनमा भएको सांघाइ सहयोग संगठनको शिखर सम्मेलनमा पनि उनीहरूबीच छोटो भेटघाट भयो। तर कुनै औपचारिक वार्ता भएन।
‘तियानजिनमा नेपालका प्रधानमन्त्री के.पी. ओलीसँग भेट्न पाउँदा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र विशेष छ’ त्यो भेटबारे मोदीले सामाजिक सञ्जालमा लेखेका थिए।
यसलगत्तै ओली भारत जाने योजना थियो। तर भारतीय पक्षले भने नेपालले तय गरेको मिति ‘उपयुक्त’ नभएको जनाएको छ।
उनी चीन जानुभन्दा केही दिनअघि मात्रै भारत र चीनले लिपुलेखमा ब्यापारिक बिन्दु तय गर्ने सम्झौता गरेपछि छिमेकसँग नेपालको सम्बन्ध फेरि तनावपूर्ण देखिएको छ। नेपालकै भूमि लिपुलेखलाई समेटेर यसअघिकै कार्यकालमा ओली सरकारले नै नयाँ ‘चुच्चे नक्सा’ जारी गरेको थियो।
त्यही भूमिलाई भारत र चीनले ब्यापारिक मार्ग बनाइरहँदा नेपाल पक्षलाई खबरसमेत थिएन। उनले यो कुरा सांघाइ शिखर सम्मेलनका बेला चिनियाँ राष्ट्रपति सी चीनफिङसँग पनि राखेका थिए। तर सीले त्यो कुरा भारतसँगै संवाद गर्नु भनेर टारिदिए।
ओलीले भारत भ्रमणका बेला त्यही मुद्दा उठाउने जमर्को गरेका छन्।


























Leave a Reply