काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए।
तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्केका हुन् । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ।


























Leave a Reply