तटबन्ध नहुँदा जोखिममा बादी बस्ती

रासस बैशाख ७, २०८२

कञ्चनपुर  —  कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ। नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै आएको छ।

गुरुयोजना निर्माण गरी बस्ती जोगाउन तटबन्धको भरपर्दो व्यवस्था गरिदिनुपर्ने बस्तीका अगुव पदम रानाले बताए। ‘नदी नियन्त्रण गरी भूक्षय भइरहेको जग्गा जोगाउन धेरै वर्षदेखि माग गर्दै आएका छौँ,’ उनले भने, ‘भरपर्दो व्यवस्था हुनसकेको छैन।’

बर्खा आउन केही महिना मात्र बाँकी रहेकाले नदी छेउमा रहेकाहरु चिन्तामा छन्। गुन्यालफाँटामा ५० घर बादी समुदाय र एक सयभन्दा बढी घर दलित समुदायका छन्। विसं २०६४ मा नदीमा आएको बाढीले सात परिवार बादी विस्थापनमा परेका थिए।

नदीले वर्षात्का बेला बस्तीतर्फ कटान गर्ने भएकाले थोरै जग्गा भूक्षय भएमा पनि चार घर विस्थापनमा पर्ने देखिएको पदम रानाले बताए। बस्दै आएको ठाउँमा रहेको पाँच कट्ठा जग्गा पूरै गत वर्ष आएको बाढीले बगाएर लगेको केशव रानाले बताए।

‘नदीले जग्गा कटानी गरी बगाएपछि ६ धुरमा बनेको टहरा मात्र बाँकी छ,’ उनले भने, ‘परिवारको खर्चको जोहो मिलाउन भारततर्फ गएर मजदुरी गरौँला, त्यो कार्य वर्षौँदेखि गर्दै आएका छौँ, बास बस्ने टहरा नै नदीले बगाए कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको छ।’

स्थानीय दुरादेवी कुमालका अनुसार बस्ती जोगाउन वर्षौँ पहिले बनाइएका तटबन्ध ठाउँठाउँमा भत्किएका छन्। बाढी आए बस्ती नै छाडेर सुरक्षित सडक क्षेत्रमा खुला आकाशमा रात बिताउनुपर्ने विगतको बाध्यता उल्लेख गर्दै उनले अहिलेसम्म भरपर्दो तटबन्ध निर्माण नहुँदा बस्ती छाड्नुपर्ने बाध्यता बनेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank