विपी साहित्य महोत्सव आजदेखि

दलित अनलाईन भदौ २४, २०८०

काठमाडौं— नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

महामानव विपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘विपी साहित्य महोत्सव’ हुन लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११०औँ विपी जन्मजयन्तीका अवसरमा विपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष विपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत विपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विशेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्षस्थानमा छन् ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । पहिलो दिन आज बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शनका साथ महोत्सव सुरु हुनेछ । त्यसपछि विपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनेछन् ।

विपीका दृष्टिमा विपी, विपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग–अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ ।

दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । माक्र्स, गान्धी र विपी, आजको लोकतान्त्रिक समाजावादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिनुहुने छ । त्यसपछि विपीले नपाएका १५ वर्ष, विपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा विपी, युवा स्रष्टामा विपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० गजलकारबाट गजल साँझको आयोजना हुने छ ।

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि विपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनुहुने छ । त्यसपछि समावेशिता, सामाजिक रुपान्तरण र विपी, समय र सबाल्र्टन, विपीका आख्यानमा नारी, परिवारले बुझेका विपी विषयमा अलग–अलग सत्र सञ्चालन हुनेछन् । अन्तिममा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।

पहिलोपटक आयोजना गर्न लागिएको यस महोत्सवमा कांग्रेसले सहभागिताका लागि प्राज्ञिक तथा विद्वान वुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank