रातारात भाइरल बनाइएका सेलेब्रिटी बालकको दर्दनाक कथा

नवराज कुँवर १५ असार २०७९, बुधबार २१:४६

उनले स्कुल नटेकेको ६ महिना नाघ्यो । देशको राजधानी काठमाडौंबाट पुरानै थातथलो गुल्मी फर्केको महिनौँ भइसक्यो । पुतलीबजारस्थित अढाइतले घरको भुइँतलाकाे सटरमा उनको बसाइ कम छटपटीपूर्ण छैन ।

युट्युबरले रातारात भाइरल गराएका बालक सचिन परियार शारीरिक रूपमा त अस्वस्थ थिए नै, अहिले छिनमै भनेका कुरा छिनमै बिर्सने समस्यासमेत उनमा देखिन थालेकाे छ । केही महिनाअघि निमोनिया भएर हप्तौँ थला परेका थिए । अहिले नशासम्बन्धी समस्यासँग जुधिरहेका छन् । उनकाे वजन वृद्धि भएकाे छ तर उचाइ भने बढिरहेकाे छैन ।

औषधि खाइरहेका सचिन घरिघरि बाहिर खेल्न निस्कन खोज्छन् तर अभिभावकले उनलाई रोक्छन् । सचिनका माइलाबुबा महेन्द्र परियारका अनुसार, बच्चालाई अन्टसन्ट बोल्न लगाएर युट्युबरले भिडियो पोस्ट गरिदेलान् भनेर परिवारले उनलाई छेकबार गर्नुपरेको हो । ‘सोमबार पनि हामी घरमा नभएका बेला केही युट्युबर आएर उसको भिडियो बनाई लगेछन्’, महेन्द्रले भने, ‘यसले (सचिनले) के-के बोलेको छ, सबै हाल्दिन्छन् होला ।’

केही दिनअघि सचिनको भिडियो खिचेर माग्दै हिँडेको भनी कसैले पोस्ट गरिदिएको सचिनका बुबा तेजेन्द्रले बताए । उनले भने, ‘बच्चा हो, माग्यो पनि होला तर बाउआमाले माग्ने बनाएको भनी हामीमाथि गालीगलौज आइरहेको छ ।’

रेसुङ्गा नगरपालिका-१, पुतलीबजारस्थित घरको सटरवाला कोठामा सचिन आफ्नी कान्छी आमा, बुबा र भाइबहिनीका साथ बसिरहेका छन् । कुनै बेला काठमाडौंको नाम चलेको बोर्डिङ स्कुलमा पढ्ने सचिनका लागि अब त्यो सब सपनासरह भएको छ । पढ्न त टाढाकै कुरा भयो, उनी आफ्नो मर्जीले कोठाबाट निस्किनसमेत पाउँदैनन् ।

सञ्चारकर्मी कृष्ण कँडेलले चन्दा उठाएर कक्षा १२ सम्म पढाइदिने गरी सचिनलाई गाैशालास्थित हिमाली इङ्लिस बोर्डिङको जिम्मा लगाएका थिए । तर, ६ महिनासम्म अनुपस्थित भएपछि बोर्डिङले सचिनलाई ‘रेस्टिकेट’ गरिदिएको छ । सचिन मात्र होइन, सोही बोर्डिङमा होस्टेल बसेर पढ्ने उनकी बहिनी सोनियाको समेत पढाइ छुटेको छ । ‘सचिनका बुबा अपरिपक्व र लापर्वाह हुनुहुँदो रहेछ’, स्कुलका प्रिन्सिपल नेत्र उपाध्यायले  भने, ‘हामीले पढाउन खोजेकै हौँ तर उहाँ आफैँले बारम्बार छोराको पढाइमा बाधा गर्नुभयो ।’ 

तेजेन्द्रले हप्तौँ, महिनौँसम्म मेला, महोत्सवमा डुलाउँदा सचिनको पढाइ खस्किएको उपाध्याय बताउँछन् । उनका अनुसार, नर्सरीमा सचिन प्रथम भएका थिए । एलकेजीमा उनले मध्यम अंक ल्याए । यूकेजीमा त केही विषय पास नै गर्न सकेनन् । ‘एकपल्ट होइन, दुईपल्ट होइन । बारम्बार तेजेन्द्रजीले दुई दिनमा ल्याइदिन्छु भन्दै सचिनलाई लानुहुन्थ्यो अनि हप्ता दिनपछि ल्याइदिनुहुन्थ्यो’, उपाध्यायले भने, ‘परीक्षामा समेत सचिन उपस्थित हुन पाएनन् । एक हदसम्म त हामीले सहेकै हौँ । तर, स्कुलले सधैँ आफ्नो नियम तोडिएको हेर्न सक्दैन ।’ 

गत पुस १८ देखि सचिन स्कुल गएका छैनन् । लगातार अनुपस्थित भएपछि उनको कोटामा अर्का एक बालकलाई पढाउन लागिएको उपाध्यायले बताए । होस्टेलका बच्चालाई जुन बेला पायो, त्यही बेला नलैजानुस् भन्दा सचिनका बुबाले गालीगलौज गर्ने गरेको वार्डेन दीपु परियारले बताए ।

१३ वर्ष भइसकेका सचिनलाई गुल्मी फर्काए पनि उनका बुबाले स्कुल भर्ना गराएका छैनन् । माग्दै हिँडेको भिडियो भाइरल बनेपछि फेरि युट्युबरहरू सचिनको खोजीमा जुटेका छन् । विद्यालयमा गएर सोधीखोजी गर्न थालेका छन् । अनि सचिनका बुबा तेजेन्द्रचाहिँ छोराका लागि केही चन्दा संकलन भएमा काठमाडौं फर्किने र कुनै स्कुलमा भर्ना गरिदिने योजनामा छन् । यसरी बालक सचिन धेरैका धेरैखाले स्वार्थमा फसेका छन् ।  

मामाघर बसेर पढिरहेका थिए

नाबालक छोराछोरीलाई छाडी सचिनकी आमा दोस्रो विवाह गरेर गइन् । बुबा तेजेन्द्रले पनि दोस्रो विवाह गरे । अनि मावलीले सचिनलाई आफैँसँग राखेर पढाउन थाले । उनको मावली बाग्लुङको गल्कोट हाे । त्यहाँको गल्कोट माविमा सचिन २ कक्षामा पढ्दै थिए । उनको गाउँचाहिँ गुल्मीकै मुसिकोट नगरपालिका– ९, ददल्का हो । तर, बुबा तेजेन्द्र पुतलीबजारमा टेलर खोलेर बसेकाले छुट्टी हुँदा सचिन उतै जान्थे ।

लकडाउनका कारण २०७७ सालको सुरुवातमा स्कुल बन्द थियो । उनी तम्घास गएका थिए । एक दिन अर्घाखाँची पार्कमा खेलिरहेका उनीसित छोटो कुराकानी गरी कसैले भिडियो टिकटकमा हालिदियो । आकर्षक बोल्ने, झट्टै जवाफ दिने सचिनको शैली धेरैले रुचाए । अनि पहिलोपल्ट उनको अन्तर्वार्ता ब्लु स्काई टीभी र लेकसाइड नामका युट्युब च्यानलले लिए । भिडियो भाइरल भयो ।

यसपछि अधिकांश युट्युबरको ध्यान सचिनतिर गयो । रातारात उनलाई कमेडियन, गायक बनाइयो । बुबा तेजेन्द्र उनलाई लिएर काठमाडौं आए । सचिनलाई गल्कोटको स्कुल छोडाए । सञ्चारकर्मी मोहन बस्नेतको पहलमा सचिनलाई लोकसंगीतसम्बन्धी कार्यक्रम ‘इन्द्रेणी’मा लगियो । त्यही कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले चन्दा उठाएर पढाइदिने भए । अनि हिमाली इङ्लिस बोर्डिङमा भर्ना गराइयो ।

सचिनको आवाजमा ‘ओठ खोलेर’ बोलको पहिलो गीत रेकर्ड पनि गराइयो । त्यसपछि विभिन्न भिडियो खेलाइयो । स्कुलको होस्टेलमा भएका बेलासमेत सचिनलाई मेला, महोत्सवहरूमा लगियो । यो कुरा उनका बुबा तेजेन्द्र स्वीकार्छन् । लकडाउनका बेला युट्युबरका लागि गतिलो ‘कन्टेन्ट’ बनेका सचिनको चर्चा बिस्तारै सेलाउँदै गयो । अब युट्युबर अन्तैतिर लागे । यसबेलासम्म युट्युबरले सचिनका बुबा तेजेन्द्रलाई समेत भाइरल गराइसकेका थिए । गुल्मी पुतलीबजारको टेलर छोडेर काठमाडौंको सुन्धारास्थित होटेलमा बस्न थालेका उनी पनि गायक, कलाकार, टिकटकर भए । सचिनलाई अगाडि राखेर उनले थुप्रै युट्युबरसामु अन्तर्वार्ता दिए । उनी अचेल चर्चाकै लागि टिकटक लाइभ बसेर अन्टसन्ट बोलिरहेका देखिन्छन् । 

तेजेन्द्रलाई भाइरल हुने र केही पैसा खेलाउने लत बस्यो । पढाइको नाममा स्कुल नटेकेका उनले सचिनको पढाइमै बाधा हुनेगरी कार्यक्रमहरूमा लिएर जाने, युट्युबरलाई अन्तर्वार्ता दिने गर्न थालेको स्कुलका प्रिन्सिपल उपाध्याय बताउँछन् ।

गुल्मीकाे पुतलीबजारमा हाल उनी सर्टिङ ग्यालरीमा काम गर्छन् । उनका अनुसार, केही युट्युबर उनलाई भेट्न काठमाडौंबाट गुल्मीको गाडी चढिसकेका छन् । ‘उहाँहरूले के भन्नुहुन्छ हेरौँ, त्यसपछि सचिनलाई फेरि काठमाडौं लगेर पढाउने भइयो भने म पनि जान्छु’, तेजेन्द्रले योजना सुनाए ।

छोराको नाममा उठाएको चन्दा मोजमस्तीमा खर्च गरेको आरोप पनि कतिपयले उनलाई लगाउने गरेका छन । यस्तो आरोपको खण्डन गर्दै तेजेन्द्र भन्छन्, ‘आफ्नै छोराको भविष्यमाथि म खेलवाड गरौँला त ?’ 

काठमाडौंको हिमाली बोर्डिङका प्रिन्सिपल उपाध्यायले भने तेजेन्द्रकै कारण सचिन र सोनिया पढ्नबाट वञ्जित भएको दाबी गरे । ‘उहाँले सोनियालाई सशुल्क पढाउने भनेर यहाँ भर्ना गर्नुभएको हो तर शुल्क दिनुभएन । तैपनि हामीले बच्चालाई पढायौँ, निकालेर लैजानुस् भनेका थिएनौँ । उहाँ आफैँले छोराछोरीलाई लैजानुभयो’ उनले भने ।

राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्द कसैले कुनै पनि बहानामा बालकको शिक्षासम्बन्धी हकमा बाधा गर्छ भने त्यो दण्डनीय हो । ‘बालकलाई उसको प्रतिभा प्रदर्शन गर्न दिनु राम्रो हो तर यसले पढाइमै बाधा गर्न हुँदैन’, उनले भने, ‘अभिभावकलाई स्कुलले सम्झाउन सक्छ, यस्तो कुरा मिडियामा आएपछि सम्बन्धित स्थानीय तहको न्यायिक समितिले सम्झाइबुझाइ गर्न सक्छ ।’ 

उनका अनुसार, बालबालिकासम्बन्धी ऐन २०७५ मा बालबालिकाको शिक्षा र परिवार वा संरक्षकको दायित्वसम्बन्धी व्यवस्था छ । ऐनको दफा १७ को उपदफा ३ मा पढ्ने उमेर पुगेपछि अभिभावकले विद्यालय भर्ना गराई यसका लागि समुचित वातावरण निर्माण गर्नुपर्ने भनिएकाे छ । मिडियाले पनि बालबालिकाको गोपनीयताको विषयमा विशेष ख्याल गरिदिनुपर्नेमा उनी जोड दिन्छन् ।

( यो सामाग्री शिलापत्र डटकमबाट साभार गरिएको हो । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank