जनयुद्धमा हतियार बनाएका धनबहादुरलाई ताराखोला बनाउने जिम्मा

संगम घर्तीमगर ७ जेष्ठ २०७९, शनिबार १७:१०

बागलुङ—जिल्लाको ताराखोला गाउँपालिका आफैमा विशिष्ट पहिचान भएको पालिका हो। त्यहाँको भौगोलिक अवस्थाका कारण जनयुद्धको समयमा ताराखोला माओवादीको सेल्टर एरिया थियो।

उनीहरु त्यसलाई आधारभूमि भन्थे। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि ताराखोला आधारभूमिकै रुपमा रहेको छ। स्थानीय तह निर्वाचन २०७४ मा माओवादी केन्द्रले एक्लै ताराखोला गाउँपालिकाका सबै पदमा जितेको थियो। पाँच वडामा वडा सदस्य, अध्यक्ष सहित गाउँपालिका र वडाध्यक्ष जितेको माओवादीले ताराखोलामा पाँच वर्ष एकलौटी शासन गर्‍यो । यस पटक पनि ताराखोला एक्लै जित्ने माओवादीको दाबी थियो।

 

जिल्लाभर गठबन्धन गर्दै गर्दा काँग्रेस र राष्ट्रिय जनमोर्चालाई समेत भाग लगाउनु परे पनि गठबन्धन गर्दा माओवादीले केन्द्र गाउँपालिका अध्यक्ष सहित पाँच वटै वडाको अध्यक्ष पायो। नेपाली काँग्रेसले गाउँपालिका उपाध्यक्ष सहित सदस्य पायो।

 गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका धनबहादुर विक हिमाल र नेपाली काँग्रेसका भिमबहादुर रोका विजयी बने। पाँच वटै वडाध्यक्षमा माओवादीका उम्मेदवारलाई कसैले टक्कर दिन सकेनन्। गाउँपालिका अध्यक्षमा भने निवर्तमान गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले धनबहादुरलाई कडा टक्कर दिए।

अन्तिम परिणाम सार्वजनिक हुँदा जम्मा १९५ मतान्तरले विजयी हाँसिल गरे। जनयुद्धको आधारभूमिमा विगतको एउटै मोर्चाबाट आएका विक र घर्तीबीच निकै कडा प्रतिस्पर्धा भयो। जनयुद्धको  सुरुवातमा माओवादीको जनमिलिसियमा रहेका उनी पछि उनी निर्माणको क्षेत्रमा लागे।

युद्धका लागि माओवादीलाई आवश्यक पर्ने, बम बारुदको निर्माण गर्ने काम गरे। जनयुद्ध सकिएपछि उनी राजनीतिक मोर्चामा लागेका हुन्। उनी नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन समितिको आयोजक समिति सदस्य समेत भए। अहिले गण्डकी प्रदेश समितिको सदस्य छन्। युद्धको मैदानमा खटिदै गर्दा उनको देब्रे हातमा गोली लागेको छ।

२०६० साल वैशाख ७ गते म्याग्दीको बेनी आक्रमणका क्रममा लागेको त्यो गोली अहिलेसम्म निकालेका छैनन्। ‘उनी भन्छन्,‘ म जनसेनामा नभए पनि युद्ध मोर्चामै थिएँ, हतियार भित्र पठाउने, जनसेनाका साथीहरुलाई भित्र पठाउने, घाईतेको उद्धार गर्ने काममा खटिंदा मलाई गोली लाग्यो, त्यो बेला राम्रो उपचार भएन अहिले पनि गोली शरिरमै छ।’ अहिले पनि गर्मी र चिसो बढ्दा निकै दुःखेर सताउने गरेको छ। ‘धेरै नै दुख्यो भने निकाल्ने नभए केही फरक पर्दैन भन्ने डाक्टरको सल्लाह छ,’ उनले भने,‘गोली निकाल्दा रक्तसञ्चार हुने नसा काटिन्छ भनेर डाक्टरले अप्रेसन गर्न मानेनन्।’

बिहानपख नेपाली सेनाले हेलिकप्टरबाट हानेको गोली उनलाई लागेको थियो। त्यो बेला आफ्नै आँखा अगाडि १० माओवादी कार्यकर्ता मारिएको उनी अहिले पनि झलझली सम्झन्छन्। २०५५ सालमा जनमिलिसियामा काम गर्दै गर्दा आफैले बोकेको बन्दुक पड्केर दाहिने खुट्टामा गोली छर्रा लागेको थियो। त्यसले गर्दा अहिले पनि सहज रुपमा हिँडडुल गर्न समस्या । जनयुद्धको समयमा धनबहादुरले मात्रै होईन परिवारले पनि क्षति व्यहोरेको छ। उनको आफ्नै दाईकी छोरीले दोहोरो भिडन्तमा ज्यान गुमाईन् । सरकार पक्षले जनयुद्धको लागेको भन्दै घर ध्वस्त पारिदिएका थियो । अहिले उनी ताराखोला गाउँपालिका अध्यमा विजयी भएका छन्।

अघिल्लो पटक आफैले चुनाव हाँकेर विजयी गराएका प्रकाश घर्तीले अन्तिम समयसम्म कडा टक्कर दिए पनि जित हात पार्न सफल भए। जनयुद्धको समयमा युद्धका लागि आवश्यक हतियार बनाउने जिम्मा पाएका उनले यस पटक ताराखोला गाउँपालिका निर्माण गर्ने जिम्मा मतदाताबाट पाएका छन्। निर्वाचित भैसकेपछि प्रतिक्रिया दिँदै उनले ताराखोलाको भौतिक विकाससंगै आर्थिक र सामाजिक रुपान्तरणमा जोड दिने बताए। ‘ताराखोलामा भौतिक विकासको काम त गर्नु नै छ,’ उनी भन्छन्,‘आर्थिक र सामाजिक विकासको काम अझ बढि गर्नुपर्ने छ। यहाँको जनताको आर्थिक स्तर सुधार हुनेगरी ठोस कार्ययोजना लागू गर्नेछु।’

 

शिक्षा, स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिएर विगतका जनप्रतिनिधिले गरेर बाँकी रहेका सबै काम पूरा गर्ने उनले बताए। ‘यहाँ पाँच सैयाको अस्पताल बन्न थालेको छ, बनेको छैन, त्यसलाई पूरा गरेर व्यवस्थीत गरेर सञ्चालन गर्छौं,’ उनले भने,‘पाँच वटै वडामा कम्तीमा एक्सरे मेसिन राख्न सके भने त्यसले जनतालाई ठूलो राहत हुन्छ, त्यो काम मैले गर्छु।’ रोजगारी बढाउने गरी कृषि, पर्यटन र उद्योग क्षेत्रको विकासमा ध्यान दिने उनले बताए।

‘जनताको आर्थिक स्तर उकास्ने काम मुख्य एजेन्डा हो,’ उनले भने,‘ढुङ्गाखानीलाई वैधानिक रुपमा सञ्चालन गर्ने, कृषिमा निर्यात हुनेगरी विकास गर्ने र पर्यटन क्षेत्रमा घाईघाट झरनादेखि हाम्रा जनयुद्धकालिन तालिम केन्द्र र सुरुङ छन् त्यसलाई व्यवस्थीत गरेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने हो।’ संघीय सरकारबाटै निर्णय गराएर ढुंगाखानी वैधानिक बनाउने उनी बताउँछन्। जनयुद्धको समयमा ताराखोलाबाट २१ जनाले ज्यान गुमाएका छन् भने दुई जना अझै वेपत्ता रहेका छन्। जनयुद्धको समयमा जनताले देखेको सपना साकार पार्नेगरी उनले प्रतिवद्धता जनाए।

(यो साम्रागी नागरिक दैनिकबाट साभार गरिएको हो । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank