उत्कृष्ट मेयर नृप वडको राजनीतिक यात्रा

दलित अनलाईन ८ पुष २०७८, बिहीबार २२:३२

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा दलित खुलातर्फको केन्द्रीय सदस्यमा धनगढी उपमहानगरपालिका मेयर तथा नगर सभापति नृप बहादुर वड निर्वाचित भएका छन् । ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा.शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन ।

दलित खुलातर्फ मानबहादुर नेपालीले २ हजार २ सय ९७ मत ल्याई पहिलो, नगर प्रमुख नृप बहादुर वडले २ हजार २ सय ४५ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । त्यस्तै प्रकाश रसाईली २ हजार २ सय २५ , हरिशरण नेपाली २ हजार ५२ र मैकुलाल वाल्मिकी १ हजार ९ सय १ मत ल्याई निर्वाचित भएका हुन । निर्वाचितमध्ये स्नेही कोइराला प्यानलका हुन् भने अरु सबै देउवा प्यानलका हुन् ।

केन्द्रिय सदस्य वडको राजनीतिक यात्रा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय सदस्यमा निर्वाचित भएका नृप बहादुरको पहाड घर अछाम हो । ०३६ सालतिर बुबा–आमाको साथमा धनगढी झरेका उनी त्यसयता धनगढी उपमहानगरपालिका वड नम्बर ५ मा बस्दै आएका छन् । घरपरिवारका अरु कसैको पनि राजनीतिसँग साइनो नभएको अवस्थामा विद्यार्थी काल देखि उनको राजनितीमा यात्रा तय भएको हो । नेविसंघमा २०४६ साल देखि आबद्ध हुदै २०५० साल तिर उनि कांग्रेसको राजनीतिमा आएका हुन् ।

त्यसपछि उनको जिवनको आधा समय राजनीतिमै बित्यो भन्दा पनि हुन्छ । २०४९ सालमा पार्टीको क्रियाशील सदस्यता पाएका उनी २०५१ मा धनगढी–५ जाईका वडा सभापति र २०५७ मा धनगढी नगर सचिव बने । त्यसरी जिल्लामा कांग्रेस नेता चाहिंदा र गाउँमा कसैलाई गाह्रो साह्रो पर्दा खोजिने नाम बन्यो, नृप वड ।

पारिवारिक पृष्ठभूमि सामान्य किसान परिवार र त्यसमाथि दलित समुदायमा जन्मिएका उनको बाल्यकाल दुःखजिलो रुपमै बित्यो । हातमुख जोर्न गाह्रो नभए पनि आर्थिक अभावमा त्यस बाहेकका कुरा परिवारका लागि विलासी वस्तुसरह थिए । त्यस क्रममा वडाको सभापति हुँदै नगर सचिवसम्म भए । राजनीतिक जीवनमा खासै समस्या नभोगेको बताउने नृपले जेलनेल पनि भोगेका छन् ।

०६२ र ६३ को दोस्रो आन्दोलनमा उनी पक्राउ परे । त्यस क्रममा ९६ दिनसम्म जेल बसे । माओवादी द्वन्द्वको समयमा पनि उनले गाउँ छाडेनन । द्वन्द्वकै बेला नगर सभापति बनेका उनले धनगढीमा २०६२ र ६३ को आन्दोलनको नेतृत्व गरे । त्यो बेला कांग्रेस र एमालेका धेरैजसो जिल्ला नेता काठमाडौं या भारत पलायन भएका थिए। त्यसरी  कैलालीमा सुपरिचित बनेका वड राजनीतिमा सफल बन्दै जाँदा आर्थिक सकसमा पर्दै गयो ।
अर्थोपार्जनका लागि नृप वडले धनगढीमा खोलेको होटल पुष्पाञ्जली केन्द्रबाट आउने कांग्रेस नेता र स्थानीय नेता–कार्यकर्ताको जमघटस्थल त बन्यो, तर त्यही कारण घाटामा गएर लगानी डुब्यो । आठ वर्षदेखि धनगढी नगर सभापति रहेका नृप वड स्थानीय तह निर्वाचनमा मेयरमा समेत जिते ।

 १४ औं महाधिवेशन अन्तर्गत कैलालीबाट महाधिवेशन प्रतिनिधिमा मत ल्याउनेमा दोस्रो नम्बरमा आए । उनको त्यो राजनीतिक छलाङले उनी दलित कोटाबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएर राजनीतिक यात्रा सुनिश्चित गरेका छन् । बीच–बीचमा आरोह–अवरोध त आए, तर उनले कुनैलाई सम्झनामा राखेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank