छविलाल विश्वकर्मा भन्छन्– सचिवबाट व्याक हुने अवस्था छैन

दलित अनलाईन ११ मंसिर २०७८, शनिबार २०:४१

एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा दशौँ महाधिवेशनमा पदाधिकारीका दावेदार हुन् ।

एमालेको उपल्लो तहमा पुगेका दलित समुदायका नेता पनि हुन्, विश्वकर्मा । त्यसैले अहिले उनलाई पदाधिकारीमा उक्लिन सहज पनि छ । अध्यक्ष केपी ओलीनिकट रहेर काम गरेका विश्वकर्माले विगत तीन वर्षमा खासै जिम्मेवारी पाएनन् । ओलीनिकट स्थायी कमिटीमध्ये राजकीय सुविधा नपाउने विश्वकर्मा एक्लो नेता थिए । त्यसैले विश्वकर्मा एमालेको सचिव हुने आकांक्षा राख्दै उम्मेदावरी घोषणा गरेका छन् । उनै विश्वकर्मासँग गरिएको दलित अनलाईनले गरेको कुराकानीको सम्पादित अंश :

एमाले दशौँ महाधिवेशनको भव्य रुपले अगाडी बढ्दै गर्दा तपाईंहरू आफूभन्दा बढ्ता अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत गराउनुपर्छ भनिरहनुभएको छ, किन ?

हामीले अहिलेको एमालेलाई नेकपाको विरासतको निरन्तरताका रूपमा लिएका छौँ । त्यसैले त्यो विरासतलाई धान्न सक्ने, अहिले राजनीतिक परिस्थितिको नेतृत्व गर्न सक्ने क्षमता केपी ओलीमात्रै छ भन्ने बुझेका छौँ । अहिलेको विशिष्ट परिस्थितिलाई मूल्यांकन गरेर अध्यक्षमा ओलीको निरन्तरता चाहेको हो । खासमा अध्यक्ष ओली आफैँले केही भन्नुभएको छैन, हामीले नै उहाँको नेतृत्व आवश्यक छ भन्ने ठानेका छौँ ।

सर्वसम्मत अध्यक्ष हुन त उपाध्यक्ष भीम रावलको उम्मेदवारीले बाधा सिर्जना गरिसक्यो नि ?

उपाध्यक्ष भीम रावल कमरेडले पत्रकार सम्मेलन गरेर अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । त्यो अलिक हतारो भयो भन्ने लाग्छ । उहाँनिकटकै साथीहरूले पनि बिना सल्लाह अलिक हतार गरेर उम्मेदवारी घोषणा गर्नुभयो भनिरहनुभएको छ । त्यसैले अन्तिममा उहाँले पनि केपी ओलीलाई समर्थन गर्ने परिस्थिति आउनसक्छ । अहिलेको चुनौतीलाई सामना गर्न एमाले एकढिक्का हुन जरुरी छ । त्यसका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ ।

उम्मेदवार हुन पाउने नैसर्गिक अधिकारको कुरा पनि त हो ?

पार्टीभित्र नेतृत्वको दाबी गर्नुलाई अन्यथा लिन पनि हुँदैन । आन्तरिक प्रतिस्पर्धालाई रोक्ने कुरा हुँदैन । तर, अहिले पार्टी संकटको अवस्थामा रहेका बेला एकता र सहमतिको मनोविज्ञानबाट अगाडि बढ्नु उपयुक्त हुन्छ ।

एमालेभित्र अहिले तीनवटा मनोविज्ञान छ । त्यसको व्यवस्थापन कसरी हुन्छ ?

एमालेको विधान महाधिवेशन भव्य रूपमा सम्पन्न भयो । त्यतिबेला सबै एकमत भएर विधान पारित गरियो । विचारमा बहस गरियो । त्यसैले अब पूर्वमाओवादी, १० बुँदे सहमति पक्ष भन्ने मनोविज्ञान नै छैन । सबै एमाले भइसकियो । अब नयाँ शीराबाट सोच्नुपर्छ भन्ने लाग्छ । त्यसकारण ती मनोविज्ञानको भन्दा पनि नेता व्यवस्थापनको कुरा मात्रै मुख्य हुन्छ ।

तपाईं आफैँ चाहिँ पदाधिकारीको आकांक्षी हो कि होइन ?

पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा इमानका साथ काम गरेको छु । अहिले स्थायी कमिटीमा इमान्दारिताका साथ काम गरिरहेको छु । पार्टीले दिएका अहिलेसम्मका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकाले पार्टीमा पदाधिकारी र भूमिका अपेक्षा स्वभाविक हुन्छ । तर, त्यसका लागि मरिहत्ते गरेर नेताहरूलाई भन्दै चाहिँ हिँडेको छैन । दशौं महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बनाउनुपर्छ भनेर नै मैले आफूलाई केन्द्रमा राखेर हेरेको छैन । अरु नेताहरूले त्यसो नगरुन् भन्ने लाग्छ ।

तपाई सचिवमा आउने सक्ने अवस्था कस्तो ?

नेतृत्वले हरेक व्यक्तिको क्षमता र इमानको मूल्यांकन गरिरहेको छ । अहिलेको परिस्थितिमा विवाद निकालेर एमालेलाई थप कमजोर बनाउनेभन्दा पनि सहमतिका लागि सहजीकरण गर्नुपर्छ भन्ने लागेको मात्रै हो । त्यसैले मैले सचिवमा आउने गरी सबै देशभरीका कमरेडले मलाई सचिवमा ल्याउनुहुन्छ भन्ने लागेको छ । मेरो भूमिका र जिम्मेवारीको विषयमा पार्टीभित्र र बाहिर सबै हिसाबले सबै कमरेडहरुलाई पहिलादेखि नै जानकार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank