साहित्यकार पदम विश्वकर्माको “क्वारेन्टाइन” उपन्यास सार्वजनिक

दलित अनलाईन ६ कार्तिक २०७८, शनिबार १२:०३

काठमाडौँ– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास सार्वजनिक भएको छ ।

पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास बोर्ड परिषदका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, साहित्यकार रामप्रसाद दाहालले साहित्यकार विश्वकर्माको “क्वारेन्टाइन” उपन्यासलाई सार्वजनिक गरे ।

साहित्यकार विश्वकर्माको उपन्यासमाथि टिप्पणी गर्दै कुलपति उप्रेतीले उपन्यास सरल भाषामा रहेर पनि नयाँ तथा समसामयिक विषय समेटेको बताए ।
उपन्यासले दुई वर्षदेखि विश्वभरि मानवजातिलाई आक्रान्त पारेको कोरोना भाइरसले दिएको पीडालाई समेटिएकाले ऐतिहासिक कृतिको रूपमा स्थापित भएको उप्रेतीको दावी थियो ।
साहित्यकार विश्वकर्माले प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यको विकास र प्रवर्धनमा पु¥याएको योगदान अतुलनीय रहेको उप्रेतीले विश्लेषण गरे ।
सञ्चारकर्मी तथा समीक्षक राजकुमार बानियाँलेउपन्यासमाथि समीक्षा गर्दै उपन्यासमा कोरोना भाइरसको पहिलो लहरमै अमेरिकामा रहेका नेपालीले भोगेको पीडाको वर्णन समावेश भएको बताए । पुस्तकमा आदर्श र यथार्थको फ्यूजन, आख्यान र गैरआख्यानको स्वाद रहको समीक्षक महेश पौड्यालले टिप्पणी गरे ।

आफ्नै कृतिमाथि बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार विश्वकर्माले कोरोना भाइरसको कारण अमेरिकामा नेपालीले भोग्नुपरेको कारुणिक पीडा उपन्यासमा समेटेको बताए ।
कोरोनाको कारण मृत्यु भएपछि आफन्तले छुन र हेर्न नपाएका पीडाहरू र प्रदेशबाट शव आफ्नो देशमा ल्याउन नपाउँदाको पीडा समेत समेटिएको बताए ।

‘अस्पतालमा लाशको खातले लाश राख्ने ठाउँ थिएन, ती कोलाहलपूर्ण दृष्य देखेँ, त्यसपछि यो विषयमा लेख्नुपर्छ भन्ने लागेर लेखेको हुँ,’ उनले आफ्नो कर्मथलो अमेरिकाको कोलोराडोको घटना स्मरण गर्दै भने । उनले उपन्यास लेख्दालेख्दै धेरै पटक भावुक भएको स्मरण पनि गरे ।
साहित्यकार गीता खत्रीले उपन्यास भोक्ता भएर लेखिएको हुनाले मौलिकपन रहेको र विश्वको कालखण्डको महामारीलाई समेट्न सफल भएको बताइन् । ‘यो कृति पढ्दा म त्यही घटनाको स्मरण भए र रातभरि सुत्न सकिनँ,’ उनले भनिन् । विश्वकर्माले पछिल्ला साहित्यिक कृतिहरूले अघिल्ला कृतिहरूभन्दा बलियो बनेर आइरहेको उनको टिप्पणी थियो ।
अनेसास नेपाल च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतम, प्राडा. खगेन्द्रप्रसाद लुइटेल, राधेश्याम लेकालीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

संग्रिला प्रकाशनले प्रकाशित गरेको ‘क्वारेनटाइन’ १ सय ८४ पृष्ठ रहेको यो उपन्यासको बजार मूल्य ३ सय ५० रहेको छ। अमेरिकाको क्लोराडोमा लामो समयदेखि व्यवसाय गर्दै आएका साहित्यकार विश्वकर्मा यस अघि नै अन्तराष्ट्रिय साहित्य समाजका दुई कार्यकालका लागि अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।

यसअघि उनको दुई वटा कविता संग्रह ‘वर्ड फ्लोरेटस’ र ‘शब्द सुमन’ कविता संग्रह प्रकाशित भइसकेका छन्। ‘तमसुक’ कथासंग्रह पनि प्रकाशित भइसकेको छ।  पदम विश्वकर्मा साहित्य प्रतिष्ठान स्थापना गरेर उनले साहित्यको क्षेत्रमा थप योगदान  प्रदान गर्दै आएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank