नेकपा एमालेबाट विद्रोह किन ?

गणेश विश्वकर्मा १५ भाद्र २०७८, मंगलवार १२:१९

नेपालमा राष्ट्रियता, जनजिविका र सामाजिक न्यायसहितको लोकतन्त्रको स्थापनाका लागि वि.सं.२००६ सालमा कम्यूनिष्ट पार्टीको स्थापना भएको थियो । नेपाली जनताको सार्वभौमसत्ता, नेपालको स्वतन्त्रता, स्वाधीनता एवम् क्षेत्रीय अखण्डताको रक्षाका लागि सामन्तवाद–साम्राज्यवादविरोधी सङ्घर्षका ओराली उकाली पार गर्दै नेपालको कम्यूनिष्ट आन्दोलनले ७२ वर्ष पार गरेको छ । यही दौरानमा नेकपा एमालेको नवौं महाधिवेशनमा विचार माधव नेपालको पारित हुनु र नेतृत्व केपि शर्मा ओलीेको हुनुले नेपालको कम्यूनिष्ट आन्दोलन इतिहासकै संकटको अवस्थामा पुगेको छ । नेपालको सबैभन्दा ठूलो र बलियो संगठन भएको नेकपा एमालेमा देखा परेको महासंकटबाट उद्धार गर्न कमरेड माधवकुमार नेपालको अगुवाईमा विद्रोह गर्दै नेकपा (एकीकृत समाजवादी) को पुनर्गठन भएको छ । नेकपाको चौथो महाधिभवेशनमा कमरेड पुष्पलालको विचार पारित भएको तर नेतृत्व डा.केशरजंग रायमाझीले लिएर दरबारमा बुझाएकाले कमरेड पुष्पलालले विद्रोह गरी कम्यूनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको सबैका अगाडि घाम जस्तै झर्लङ्ग छ । केपि शर्मा ओलीमार्फत आज पुनः इतिहास दोहोरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टी पुष्पलालकालिन पार्टीको निरन्तरता मात्र होइन कम्यूनिष्ट आन्दोलनको पुनर्गठन हो । नेपाली समाजको राजनीतिक, आर्थिक र सामाजिक÷साँस्कृतिक क्षेत्रको पुनगर्ठन हो । हाम्रो मुलुक अहिले विशिष्ट परिस्थितिमा रहेको छ । राजतन्त्र परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, तर राज्यसत्ताको बहुवर्गीय स्वरुप बाँकी छ तथा नयाँ जनपक्षीय गणतान्त्रिक क्रान्ति सबैतिर सम्पन्न गर्न र संस्थागत गर्न अझै बाँकी छ । यही कार्यभार पूरा गर्न नेकपा (एकीकृत समाजवादी) को स्थापना भएको हो । यस पार्टीको आगामी पथप्रदर्शक सिद्धान्त, कार्यदिशा, कार्यक्रम, कार्यनीति, संगठनात्मक सिद्धान्त र कार्यक्रमले नै माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) का मूलमान्यताका रक्षा र विकास गर्दै नेपाली समाजको आमूल परिवर्तन गर्दै जनताको लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत गर्न यस पार्टीको प्रमुख कार्यभार बन्न पुगेको छ । यस अर्थमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीे) नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक धारको प्रतिनिधि पार्टी हुने निश्चित छ ।

केपि ओली नेतृत्वको नेकपा एमालेमा उत्पन्न दक्षिणपन्थी र उग्रवामपन्थी भड्काउ, विशेषतः दलाल पूजीवादी प्रवृति र अराजकता र स्वइच्छाचारीका विरुद्ध सैद्धान्तिक–वैचारिक सङ्घर्ष गर्दै पलायनवाद, जडसूत्रवाद एवं विसर्जनवादलाई पराजित गर्न र समाजवाद तथा साम्यवादमा पुग्ने ध्येयकासाथ नेकपा (एकीकृत समाजवादी) निरन्तर क्रियाशील रहनेछ । जनताको बहुदलीय जनवादका मूलमान्यताका रुपमा स्थापित भएको राज्यसत्ताको स्वरूपमा लोकतान्त्रिक मान्यतालाई पार्टीको लोकतान्त्रिकरणलाई पनि उच्च महत्व दिने मूल मान्यतालाई यसले निरन्तरता दिनेछ । जुन पार्टीको आन्तरिक जीवन लोकतान्त्रिक छैन, त्यसले समाज र राज्यको लोकतान्त्रिक आन्दोलनको पनि नेतृत्व गर्न सक्दैन भन्ने मान्यता यस पार्टीको स्पष्ट दृष्टिकोण रहनेछ । सबै तहमा समानुपातिक र समावेशीकरणको सिद्धान्त मुताविक निर्वाचित कमिटीको व्यवस्थासहित जनतामा आधारित कार्यकर्ता पार्टी पुनगर्ठन र रुपान्तरण हुनेछ ।

नेकपा (एकीकृत समाजवादी) ले पार्टीमा कार्यकर्ताको रेखदेख, भरणपोषण, संरक्षण, सैद्धान्तिक तथा राजनीतिक चेतनाको विकासलगायतका समस्याको वैज्ञानिक हल गरिनेछ । केपि ओली नेतृत्वमा रहेको नेकपा एमालेमा सबै तहका संगठनमा क्रान्तिकारीहरू विस्थापित हुने र अवसरवादी स्थापित हुने, पूर्णकालीन कार्यकर्ता पलायन हुने र गैरपूर्णकालीनलाई प्रोत्साहित गर्ने, क्रान्तिकारी कार्यकर्ता निरीह बन्ने, कार्यकर्ताको मूल्यांकन योग्यता, क्रान्तिप्रतिको निष्ठा, बलिदानी भावना, काममा निरन्तरता आदिलाई आधार बनाएर होइन नेतृत्वको चाकडीलाई आधार बनाउने परिपाटीको अन्त्य हुनेछ । पार्टी कमिटी र नेतृत्व छान्दा मिश्रित मोडेलको विकास गरी सबै तहको कमिटीमा कार्यसम्पादन मूल्यांकनका लागि सर्वहारावर्र्गीय दृष्टिकोण, जनदिशा र जनतासँगको सम्बन्ध, कम्युनिस्ट आन्दोलनमा योगदान र समावेशी समानुपातिक प्रणाली स्थापित गर्न पार्टीमा शक्तिशाली संरचनाको व्यवस्था गरिनेछ । मौलिक क्रान्तिको रक्षा, समाजवादको सही र मौलिक बाटो, सुशासन र समृद्धि, राष्ट्रिय पूजीको निर्माण, वैज्ञानिक भूमिसुधार, कृषिको औद्योगिकीकरण, मर्यादित श्रम सम्मानित श्रमिक, सामन्तवादका अवशेषहरुको समूल अन्त्य, संविधानका मौलिक हकको कार्यान्वयन, सबैप्रकारका विभेद र जातीय छुवाछूतको अन्त्य, समावेशी बजेट र विकास, गरिवी र बेरोजगारीको अन्त्य, उद्योगहरुको पुनःस्थापना, भूराजनीतिको सन्तुलनसहितको सपना, कल्पना र योजना आजको मूल पक्ष बनाइनेछ । पार्टीमा विधि, विधान र प्रक्रिया स्थापित गर्दै थ्री–इन–वानको सिद्धान्त अन्तर्गत युवा, प्रौढ र जेष्ठ सदस्यहरूको समूहमा महिला, दलित, आदिवासी जनजाति, मुश्लिम, मधेशी र अल्पसंख्यकहरूको प्रतिनीधित्व सुनिश्चित गरिनेछ । नेपालको जस्तो वर्णव्यवस्थाले निर्माण गरेको वर्र्गीय र विभेदकारी समाजको परिवर्तन र रूपान्तरणमा माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग महत्वपूर्ण आधार हुनेछ । संगठनात्मक नीति र संरचना तोक्दा अनुहार हेरेर संख्या होइन, आवश्यक संख्याको एकिन गरी त्यसभित्र अनुहार रहने व्यवस्था गरिनेछ । सबै जनवर्र्गीय संगठनहरु विधानतः स्वायत्त र विचारमा पार्टीको निर्देशन मुताविक वर्गसंघर्षमार्फत प्रगतिशील रुपान्तरणका कामहरु गरिनेछ । संगठनात्मक नीति र संरचना तोक्दा अनुहार हेरेर संख्या होइन, आवश्यक संख्याको एकिन गरी त्यसभित्र समावेशी अनुहार रहने व्यवस्था गरिनेछ । हरेक तहको कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी र बढीमा २ कार्यकाल मात्र कार्यकारी प्रमुख रहने विधानको अपरिवर्तनीय धाराकारुपमा व्यवस्था गरिनेछ । यस बाहेक नेपालको संविधान तथा नेपाली राजनीतिका नयाँ मुद्दाहरुको संवोधन गर्ने गरी योजना निर्माण गरिनेछ ।

जबजको आधारभूत मूल्य र मान्यताको रक्षा र विकास गर्दै समाजवादको दिशामा अगाडि बढौं । नेकपा (एमाले) कालको संगठनको पुनर्गठन र रुपान्तरणमा सहभागी बनौं । अराजकता, यथास्थिति र विखण्डनका चुनौतीबाट मुलुकलाई मुक्त गर्न नेकपा (एकीकृत समाजवादी) को अझ प्रभावकारी, सार्थक र नेतृत्वदायी भूमिका स्थापित गरौं । कमरेड पुष्पलालले भन्नुभएको ‘नेता होइन, नीति प्रधान’ भन्ने मूल मान्यतालाई स्थापित गरौं ।

 

पार्टी एकता चाहना : पार्टी पुनगर्ठन बाध्यता

आज कमरेड माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) हठातमा पुनगर्ठन भएर दर्ता भएको हो । पार्टी विभाजन गरेर गठन भएको हो भन्ने भ्रम सिर्जना गर्न खोजिएको छ । यति मात्र होइन पार्टीको आन्तरिक अन्तरविरोध हल गर्न १० बुंदे सहमति गरिएको भ्रम सिर्जना गर्न खोजिएको छ । यस विषयमा स्पष्ट हुन जरुरी छ । केपि ओली नेतृत्वको नेकपा एमालेको कथित १०औं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतबाट अबैध घोषणा गरकै दिन १० बुंदे सहमतिको औचित्य समाप्त भइसकेको हाम्रा सामु स्पष्ट भइसकेको थियो । तथापि पार्टीको आन्तरिक अन्तरविरोध हल गर्न कमरेड माधवकुमार नेपालले ९औं महाधिवेशनमा केपि शर्मा ओलीबाट झिनो मतान्तरले पराजित भएपछि पार्टीको स्थापित विधि, विधान र पद्धति मुताविक अनुशासनपूर्वक पार्टी बैठकहरुमा जाने आफ्ना कुरा स्पष्टरुपमा राख्ने, चित्त नबुझेको कुरा नोट अफ डिसेन्टको रुपमा राख्ने र लाखौं प्रयासहरुसहित कम्यूनिष्ट अनुशासनमा बसिरहनु भएको थियो । यति मात्र होइन माधव नेपालसंग कुनै सल्लाह नगरी केपि शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरण गर्दा पनि स्वीकार गरेर बस्नु भएको थियो । यद्यपि त्यो बेला पनि पार्टीभित्र माधव नेपालको अवस्था त्यति कमजोर थिएन । जब कि पार्टी एकताका बखत केपि ओली प्रचण्डसंग मिलेर माधव नेपाल र झलनाथ खनालको अपमान गर्न शुरु गर्नुभयो त्यसको माधव नेपालले सालिन ढंगले साँकेतिकरुपमा केबल दुईजनाले ‘चोचोमोचो मिलाएर मात्र हुँदैन’ मात्र भन्नुभयो । जब केपि ओलीले आफूलाई एक नंबरको अध्यक्ष स्वघोषणा गरे । पार्टीको एकताको बाँकी काम ठप्प हुनथाल्यो । पार्टी संगठन र जनसंगठनका कामहरु ठप्प हुन थाले तब स्वाभाविकरुपमा माधव नेपालले पार्टी र कम्यूनिष्ट आन्दोलनको रक्षा र विकासका लागि हस्तक्षेपकारी भूमिका खेल्नुभयो । जब केपि ओलीले दुई दुई पटक सार्वभौमसत्ता सम्पन्न संसदको विघटन गरी प्रतिगमन गरेपछि नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र कम्यूनिष्ट आन्दोलनको रक्षाको प्रश्न जबरजस्त रुपमा अगाडि आयो । त्यस महाअभियानमा १० बुंदे सहमतिका कार्यदलका चर्चित नेता कमरेडहरु पनि देशव्यापी आन्दोलनको आधिव्यहोरी सिर्जना भयो ।

सर्वोच्च अदालतको फैसलाबाट दुईवटै प्रतिगमनले घुडा टेकेपछि नेपालको राजनीतिले नयाँ कोर्षमा प्रवेश गर्यो । तर आज हिजो संविधान, लोकतन्त्र, कम्यूनिष्ट आन्दोलन र राष्ट्रियताको मुद्दा माधव नेपालको नेतृत्वमा जबरजस्तरुपमा उराल्ने दोस्रो पुस्ताका नेता कमरेडहरुले आज जबाफ दिनुपर्ने भएको छ र हामी लाखौं कार्यकर्ताले उहाँहरुलाई सोध्नुपर्ने भएको छ कि हिजो तपाईहरुले उठाएका मुद्दाको सुनुवाइ कहाँनेर भयो ? हिजोको केपि प्रवृति र स्थितिमा कहाँ सुधार आएको छ ? केपि ओलीले दुई दुईपटक प्रतिनिधिसभा विघटन गरी चालेको असंवैधानिक कदम कसरी सच्चियो ? ओलीले ती गल्ति कमजोरी स्वीकार गरेर कहिले आत्मालोचना गरे ? अब त थप कुरा सोध्नुपर्नेछ कि ओली र नेपालबीच हार्दिकता निर्माण हुन नदिने हिजो तपाईहरु नै होइन र ? के तपाईहरुले अन्तिममा माधव नेपाललाई दिएको धोकाबाट कमरेड केपि शर्मा ओलीले शिक्षा लिएका छैनन होला र ? कतै तपाईहरु ९ औं महाधिवेशनका पद र आगामी दिनमा आउने अन्य पदको लागि मात्र माधव नेपाल बाहेकको एकता त गरिरहनु भएको छैन ? कतै तपाईहरुको विश्वास माधव नेपाल र केपि ओली मात्र होइन नेपाली राजनीतिबाटै क्षेृयीकरण भइरहेको त छैन ? किनभने हिजो तपाईहरुसमेतले उठाएका मुद्दाहरु अलपत्र परेर अझै चाबाटोमा खित्का छाडेर हाँसिरहेका छैनन् र ? त्यसैले माधव नेपाल नेपाली कम्यूनिष्ट आन्दोलनको बलियो सतिशाल हो र रहिरहनेछ यस सत्यलाई अस्वीकार गर्नु सूर्यलाई हत्केलाले छेकेजस्तै हो । नेकपा एमालेको क्षितिज आफ्नो होइन भन्ने स्पष्ट थाहा हुँदाहुँदै त्यहीँ घुस्रिरहनुलाई राम राम बाहेक के भन्न सकिन्छ र ?
जब पार्टी एकताका सम्पूर्ण प्रयत्न समाप्त भएपछि जब पार्टी राजनीतिमा वैचारिक प्रतिस्पर्धा समाप्त हुनपुग्छ तब केपि प्रवृति (बा कल्चर) अर्थात ‘व्यवहारवाद’ मात्र हाबी हुनपुग्छ, तब विचारविहिन कमजोर नेतृत्वको बोलवाला हुनपुग्छ । हिजो विचार र सिद्धान्त जोगाउन कार्यकर्ताहरु शहादत दिने गर्थे तर आज केपि ओली प्रवृतिको शक्ति जोगाउन कार्यकर्ताले शहादत दिनुपर्ने अवस्था आइलाग्यो । त्यसैले पार्टी एकता अनिवार्य आवश्यकता भएपनि पार्टी पुनगर्ठन बाध्यता सिर्जना भएपछि नेपाली समाजको राजनीतिक, आर्थिक र सामाजिक-साँस्कृति प्रगतिशील रुपान्तरणको महान उद्येश्यले नेकपा (एकीकृत समाजवादी) को पुनगर्ठन भएको हो । त्यसैले आउनुहोस, जबजको आधारभूत मूल्य र मान्यताको रक्षा र विकास गर्दै समाजवादको दिशामा अगाडि बढौं । नेकपा (एमाले) कालको संगठनको पुनर्गठन र रुपान्तरणमा सहभागी बनौं । अराजकता, यथास्थिति र विखण्डनका चुनौतीबाट मुलुकलाई मुक्त गर्न नेकपा (एकीकृत समाजवादी) को अझ प्रभावकारी, सार्थक र नेतृत्वदायी भूमिका स्थापित गरौं । कमरेड पुष्पलालले भन्नुभएको ‘नेता होइन, नीति प्रधान’ भन्ने मूल मान्यतालाई स्थापित गरौं । प्रकृतिको नियममा अँध्यारो अनन्त हुँदैन । कुनै क्षणमा अँध्यारो फाट्न र उज्यालो आउनैपर्छ । त्यसैले विचार, सिद्धान्त, एजेन्डा, नैतिक मूल्य, मान्यता र संस्कृतिका लागि राजनीतिको निर्माण गरौं ।

(लेखक विश्वकर्मा  नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय सदस्य हुन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank