भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

दलित अनलाईन २२ आश्विन २०७७, बिहीबार २३:४५

काठमाडौं— भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका पासवानको ७४ वर्षको उमेरमा निधन भएको  छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत जानकारी दिएका छन् । बिहारको जमुई क्षेत्रबाट लोकसभा सदस्यसमेत रहेका चिरागले लेखेका छन्, ‘बुवा… अब हजुर यस संसारमा हुनुहुन्न । तर मलाई थाहा छ, हजुर सधैं मेरो साथमा हुनुहुनेछ ।’

हालसालै मुटुको अप्रेसन गराएका केन्द्रीय मन्त्री पासवानको दिल्लीस्थित एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो  ।

 भारतीय राजनीतिमा ५ दशकदेखि सक्रिय रहेका पासवान भारतका प्रमुख दलित नेताको रुपमा  गनिन्थे । ८ पटक लोकसभा सदस्य बनेका पासवान पछिल्लो पटक भने राज्यसभा सदस्य रहेका थिए । यसअघि उनले रेल, सञ्चार तथा सूचना प्रविधि, खनिजलगायतमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

पासवान कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स(यूपीए) र बीजेपी नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स९एनडीए० दुवैमा रहेर काम गरेका छन् । तर पछिल्लो पटक उनका छोरा चिरागले लोक जनशक्ति पार्टी बिहार एनडीएमा गठबन्धनबाहिर रहेर विधानसभा चुनावमा उत्रिने बताएका छन् । संयुक्त समाजवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका पासवान पछि जयप्रकाश नारायण नेतृत्वको लोकदलको महासचिव भए ।

सन् १९७५ मा इमर्जेन्सीका बेला जेल परेका पासवान जेलबाट छुटेपछि जनता दलमा संलग्न भए । सन् २००० मा जनता दलबाट फुटेर उनले लोक जनशक्ति पार्टी गठन गरेका थिए । सन् २००४ को लोकसभामा उनले कांग्रेस नेतृत्वको यूपीएसँग मिलेर चुनाव लडेका थिए । सन् २०१४ पछि भने उनको पार्टी बीजेपी नेतृत्वको एनडीए गठबन्धनमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank