बुद्ध शासनमा समावेशीता

कमला हेमचुरी २१ आश्विन २०७७, बुधबार २१:२६

बहस : नेपालमा दलित भविष्य

भारतीय समाज वैदिककाल देखि नै पुरुष र ब्राम्हण प्रधान थियो । तत्कालीन समाजमा श्रमण र ब्राम्हण परम्परा समानान्तर रुपमा अगाडि बढेको भएता पनि ब्राम्हण परम्पराको वर्चस्व र हैकम व्यापक रुपमा विस्तार भएको थियो । महिला र शुद्रहरुको राजनीतिक, आर्थिक, धार्मिक र सामाजिक क्षेत्रमा सहभागीता नगण्य मात्रामा थियो । महिलालाई घरको चार दिवारमा सिमित गरी शिक्षाको अधिकारबाट वञ्चित गरी बच्चा जन्माउने साधन, घरको परिवारको पालनपोषण र सेवा आदि कार्यहरुमा सिमित गरी राखिएको थियो । समाजमा परित्यक, विधवा, दूषित जीवन व्यतित गर्ने, असाहय महिलाको जीवन अझै कष्टकर थियो । शुद्रहरुको अवस्था अझ दयनीय बनाइएको थियो । शुद्रहरुको धर्म भनेको ३ वटा वर्ण ब्राम्हण, क्षत्री र वैश्यको सेवा गर्नु थियो । उनीहरुलाई दासको जीवन व्यतित गर्नु बाहेक अन्य विकल्प थिएन । धर्म र राज्य सत्ता नै भेदभावलाई संस्थागत गर्ने सयन्त्रको रुपमा विकास भएका थिए । महिला र शुद्रहरुलाई सधै भरी सुनियोजित तरिकाले भेदभावको शिकार बनाईएको थियो । ब्राम्हण धर्ममा जनैधारी पुरुष अर्थात ब्राम्हण, क्षत्री र वैशको स्थान मात्र माथि थियो । बहुसंख्यक शुद्र र महिलालाई अत्यन्त हेय र घृणाको दृष्टिकोणले हेरिन्थ्यो । गौतम बुद्ध नै यस्ता महामानव थिए जसले वैदिक समाजमा महिला र शुद्रहरु माथि भएको दमन, अन्याय, अत्याचार र विभेदको विरुद्ध आवाज उठाए । बुद्धले आवाज मात्र उठाएनन् महिला र शुद्र माथि भएको विभेदलाई अन्त्य गर्न व्यवहारिक कदम समेत चाले ।

बुद्ध शासनमा नारीको स्थान
तत्कालीन समाजमा नारीहरु केवल घरगृहस्थीमा सिमित थिए । छोरीको जन्मलाई हेयको दृष्टिले हेरिन्थ्यो । उनीहरुलाई धार्मिक कार्य गर्न, राजनैतिक, सामाजिक रुपमा कृयाशील हुन र शिक्षा आर्जन गर्नबाट पूर्णरुपमा निषेध गरिएको थियो । छोरीको जन्मलाई कति हेयको दृष्टिकोणबाट हेरिन्थ्यो र बुद्धको छोरी प्रतिको धारणा कस्तो थियो भन्ने सन्दर्भमा संयुक्त निकायको १.३.१६ मल्लिका सुत्तमा यसरी व्याख्या गरिएको छ– एक समयमा भगवान बुद्ध श्रावस्तीको जेतवनाराममा विहार गरी रहनु भएको थियो । त्यहा कोशल–राजा प्रसेन्न जित भगवान बुद्धको दर्शनको लागि आए । जुन बेला कोशल–राजाले भगवान बुद्धसंग वार्तालाप गरी रहेका थिए, त्यही बेलामा एक जना राजाको दूत त्यहाँ यो र राजाको कानमा भन्यो–“महाराज ! मल्लिका महारानीले एउटा पुत्रीलाई जन्म दिनुभएको छ । ” उसको यो सन्देश सुने पछि राजा बडो दुःखी भए । तब भगवान बुद्धले राजाको खिन्नतालाई बुझेर यो गाथा भन्नु भयो–“हे राजन ! कुनै–कुनै महिला पुरुष भन्दा पनि श्रेष्ठ हुन्छन् । उनी बुद्धिमति शीलवती तथा पतिव्रता र पतिको माता पिताको सेवा गर्ने पनि हुन्छिन् । उनीबाट जन्म भएको पुत्र महान शूरवीर, चारै दिशाका राजाहरु माथि विजय प्राप्त गर्ने, प्रजापालक, ठूला–ठूला काम गर्न सक्ने र राज्यको शासक बन्न सक्छ । अतःयसको पालन पोषण गर ।”
भगवान बुद्ध स्वयःले पनि प्रबज्या लिनु भन्दा अगाडि एउटी शाक्य कन्या कृषा गौतमीको उद्गारबाट प्रवाहित भएर उनलाई मार्गदर्शकको रुपमा स्वीकारेका थिए र गुरु दक्षिणाको रुपमा उनले मोतीको माला कृषा गौतमीलाई हस्तान्तरण गरेका थिए ।
बुद्ध धर्ममा वाचिक, कायिक र मनको शुद्धलाई केन्द्रमा राखेर मानवीय आचरणको परिकल्पना गरिएको छ र त्यही अनुसारको व्यवहारको पनि अपेक्षा गरिन्छ । शीललाई मनुष्यको कर्मफलको मूल आधार मानिएको छ । त्यसैले महिला र पुरुष दुवैको आचरणलाई समान महत्वका साथ हेरिएको छ । पञ्च शीलमा तेस्रो शील “म काम–मिथ्याचारबाट बिरत रहने शिक्षालाई ग्रहण गर्छु ।”भन्ने बाक्यबाट यो स्पष्ट हुन्छ कि बुद्ध शासनमा महिला र पुरुषलाई समान हैसियतमा राखिएको छ । ब्रम्हचर्य र समान व्यवहार नारी र पुरुष दुवैले समान रुपमा पालन गर्नुपर्छ भन्ने धाराणा बुद्धमा थियो । त्यो कुरा बुद्धको उपदेश सिगालोवाद सुत्त(३१, दिघ निकाय)मा यसरी प्रस्तुत गरिएको छ ।
“यी पांँच प्रकारले श्रीमानले श्रीमतीको पश्चिमतर्फ फर्की पूजा गर्नुपर्दछ ।
१.पतिले पत्नीलाई सम्मान गर्नुपर्दछ ।
२.पतिले पत्नीको अपमान गर्नुहुदैन ।
३.पतिले परस्त्री गमन गर्नुहुदैन ।
४.पतिले पत्नीलाई ऐश्वर्य प्रदान गर्नुपर्दछ ।
५.पतिले पत्नीलाई गहना अलंँकारहरु प्रदान गर्नुपर्दछ ।
त्यसैगरी पांँच प्रकारले पश्चिम फर्की श्रीमतीले श्रीमानलाई अभिवादन गर्नुपर्दछ ।
१.सबै कामकाज समयमा तथा राम्रो तरिकाले गर्छे ।
२.पतिको आफन्तहरु तथा मित्रहरुसंग सत्कारपूर्वक तथा विनम्रतापूूर्वक व्यवहार गर्छे ।
३.उ स्वयले परपुरुष गमन गर्ने छैन ।
४.उसले आर्जन गरेको सम्पत्तिको रक्षा गर्नेछ ।
५.पत्नी सबै काममा दक्ष तथा आलस्यहिन हुन्छे र लोभलालच गर्दिन ।
यस प्रकारले पश्चिम दिशाबाट आउने भय तथा नराम्रोबाट पति सुरक्षित हुनेछ ।”
बुद्धकालीन समाज भनेको वैदिक धर्म र संस्कृतिले जर्जर भएको समाज थियो । धर्मको नाममा नारीहरु मथि गरिने विभेदको कुनै सिमा थिएन । नारीहरुलाई केवल पुरुषको यौन सन्तुष्टिको साधन, दासी, सहयोगी र सन्तान जन्माउने यन्त्रको रुपमा समाजले हेरी रहेको अवस्थामा नारी पनि मानव हो उसमा पनि पुरुषमा जत्तिकै क्षमता र बौद्धिकता हुन्छ भनेर नै बुद्धले सन्देश दिनको लागि आफ्नो उपदेशमा नारीहरुको स्थान र हैसियतको बारेमा समाजलाई बुझाउनको लागि विभिन्न समयमा उपदेशहरु दिएको देखिन्छ ।

बुद्ध नै इतिहासको एउटा यस्तो व्यक्ति थिए जसले बहुजन हित, बहुजन सुख तथा लोक अनुकम्पालाई आफ्नो धर्मचक्र प्रवर्तनको धुरी बनाए । उनले शुद्रहरुको हितको परिकल्पना गरेर नै बहुजन हित शब्द प्रयोग गरेका थिए । बुुद्धले बहुजन हितको उपदेश मात्र दिएनन् यसको व्यवहारिक पक्षलाई समेत ध्यान दिएर त्यही अनुसार संघ मार्फत निर्वाणको ढोका समेत खोलि दिए ।

भिक्षुणी र उपासिका संघ
बुद्धले आफ्नो शासनकालमै न केवल नारी समानताको वकालत गरे । त्यसलाई एक कदम अगाडि बढेर कार्यान्वयन समेत गरेर व्यवहारमा उतारे । बुद्धले आफ्नो संघलाई चारवटा पक्षको संयुक्त निकायको रुपमा स्थापित गरेका छन् । त्यसमा भिक्षु संघ, भिक्षुणी संघ, उपासक संघ र उपासिका संघ जसलाई चतुपरिषद पनि भनिन्छ । हुन त भिक्षु संघको स्थापना गर्दा बुद्धले भिक्षुणी संघको परिकल्पना गरेका थिएनन् । तर समय क्रमसंगै यसको पनि स्थापना गर्नुपर्ने परिस्थिति निर्माण भयो । बुद्धको आफ्नै सानीआमा, पालनकर्ता, अभिभावक तथा धर्मको अनुयायी प्रजापति गौतमीको नेतृत्वमा ५०० जना नारीहरुले उपसम्पदा ग्रहण गरेपछि तत् पश्चात भिक्षुणी संघको स्थापना भएको थियो । भिक्षुणी संघको सम्बन्धमा प्रो. नरसुले बौद्ध धर्मको सार भन्ने पुस्तकमा लेखेका छन्–‘यो भिक्षुणी संघमा वियोग ग्रस्त आमाहरु, संतान रहित विधवाहरु, पश्चातापमा जली रहेका भावुक नारीहरु, धनी लोग्नेहरुको निक्कमापनको कारणबाट वाक्क भएका पत्नीहरु, बौद्धिक विकासमा निषेध गरिएका विचारशील नारीहरु आदि नारीहरुले बौद्ध धर्ममा शरण लिएर सुखको सास लिए ।’
तत्कालिन परिस्थितिमा नारीहरुलाई धर्म दिक्षा दिने, संघको निर्माण गर्ने भन्ने कुरा सहज थिएन । त्यसैले बुद्धले भिक्षुुहरुले भन्दा बढी नियम पालना गर्ने गरी नारीहरुको उपसम्पदा गरेका थिए । जसलाई अष्ठगुरु धर्म पनि भनिन्छ । प्रजापति गौतमी जस्ती वृद्ध र राजकाजको सुख भोगकी नारीले बुद्धले दिएको चुनौतीको सामना गरी बुद्ध शासनमा पहिलो भिक्षुणी बन्ने श्रेय हासिल गरिन् । भिक्षुणी संघमा प्रव्रजित भएका भिक्षुणीहरुले अनेकौ दुःख कष्ट, बाधा अड्चन झेलेर त्याग कष्ट, मेहनत, धैर्यताले अर्हतफल प्राप्त गरी निवार्ण लाभ गरेका थिए । भिक्षुहरु र भिक्षुणीहरुमा भएको विशेष गुणहरुको मुल्यांकन गरी बुद्ध स्वयले ‘एतदग्ग’ भनेर घोषणा गर्दथे । शारीपुत्र र मौदगल्यानलाई अग्रश्रावकको दर्जा दिए जस्तै भिक्षुणीहरु उत्पलवण्णा र खेमालाई अग्र श्राविकाको दर्जा दिएका थिए । समाजका उच्च घरानाका नारीहरु विशाखा, महारानी मल्लिका, क्षेमा, यशोधरा,सुजाता तथा मातगीं कन्या प्रकृति, वैशाली की नगरबधू अंबपाली, वाराणासी की अट्टकासी, विमला, विजया, दासी पध्मावती आदिले हिन पतित एवं दासताको जीवन त्यागेर भिक्षुणी संघमा प्रवेश गरेर आफ्नो जीवनलाई सफल बनाए ।
भिक्षुणीहरुको उद्गार ‘थेरीगाथा’लाई त्रिपिटकमा एउटा महत्वपूर्ण ग्रन्थको रुपमा समावेश गरिएको छ ।  बुद्ध धर्मको प्रचारप्रसार उत्थानमा भिक्षुणीहरुको पनि उत्तिकै भूमिका छ । सम्राट अशोककी छोरी संघामित्रा र चारुमतीले श्रीलंका र नेपालमा बौद्ध धर्म प्रचारमा महत्वपूर्ण भूमिका निभाएका छन् ।  इतिहासको विभिन्न कालखण्डमा भिक्षुणी संघ लोप हुने र पुनः स्थापित हुने कार्य निरन्तर जारी छ र वर्तमान कालमा यसले पुनः एउटा स्थान बनाउन सफल भएको छ । र यो इतिहासको एउटा काल खण्डमा नारीको स्थान केवल दोस्रो दर्जाको मनुष्यको रुपमा रहेको अवस्थामा यसको स्थापनाले महिलालाई पुरुष सरह समान हैसियत बनाउन एउटा महत्वपूर्ण अवसरको रुपमा बुद्ध शासनमा प्राप्त भएको यथार्थलाई हामी कसैले पनि बिर्सनु हुँदैन ।  त्यसैगरी बुद्धले उपासिका संघको स्थापना गरेर गृहस्थ नारीहरुलाई समेत दुःखबाट मुक्त हुन र बौद्धिक क्षमताको अभ्यास गर्नका लागि बाटो खोली दिएका थिए । नारीहरुको आवाजलाई पनि कदर गरिन्थ्यो भन्ने कुरा रानी मल्लिकाले बलि प्रथाको अन्त्यको लागि दिएको सुझावलाई राजा प्रसेनजितले स्वीकार गरेका थिए । उपासक विशाखले आफनो पत्नीको अनुरोधलाई सम्मान गर्दै उनलाई भिक्षुणी बन्ने अनुमति दिएका थिए भन्ने उदाहरणबाट थाहा हुन्छ । उपासक र भिक्षुहरुले नारी प्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने सन्दर्भमा भगवान बुद्धले विनय नै बनाएका थिए । यो बाट के स्पष्ट हुन्छ भने बुद्ध शासनमा उपासिकाको हैसियत पनि सम्मानजनक थियो ।

शुुद्रको स्थान र हैसियत
बुद्धको समयकाल भन्दा अगावै वैदिक धर्मले आफ्नो हैकम स्थापित गरी सकेको थियो । यो अन्तरगत समाज चार वर्णमा विभाजित थियो । ब्राम्हण, क्षत्री, वैश्य र शुद्र । कालान्तरमा चार वर्णबाट विभिन्न गोत्र र जातिहरुको उत्पत्ति भयो । वर्णाश्रम व्यवस्थालाई धार्मिक शास्त्रमा स्थापित गरेर यसलाई दैवीरुप प्रदान गरियो र अपौरुषेय बनाइयो ।  वैदिक समाज चार वर्णमा विभाजन हुनुभन्दा अगाडि केवल दुई वर्णमा विभाजित थियो । आर्य र अनार्य अर्थात दास । अनार्यहरु यो क्षेत्रका मूल निवासी तथा मोहन्दोजाडो र हडप्पा सभ्यताका सर्जक थिए भने आर्यहरु धेरै पछि यो क्षेत्रमा प्रवेश गरेका थिए । उनीहरुले शान्तपूर्वक सभ्यता र संस्कृतिको विकास गरी बसेका यहांँका मूूलवासीहरु माथि आक्रमण गरी उनीहरुलाई दास बनाए । कालान्तरमा मूलत यिनीहरुलाई नै आर्यहरुले शुद्रको रुपमा व्यवहार गरे ।
वैदिक धर्म अनुसार चारै वर्णको कामको समेत निर्धारण गरिएको थियो । ब्राम्हणको काम वेदाभ्यास गर्ने, पढ्ने, पढाउने, यज्ञ गर्ने, तथा दान लिने ; क्षेत्रीहरुको काम प्रजाको रक्षा गर्ने, दान गर्ने, यज्ञ गराउने, पढ्ने तथा राज्य संचालन गर्ने थियो; वैश्यको काम पशुहरुको रक्षा गर्ने, खेतिकिसान गर्ने, दान दिने, यज्ञ गराउने, पढ्ने, व्याजमा पैसा लगाउने तथा शुद्रहरुको काम भनेको यी तिनै वर्णको सेवा गर्नु थियो ।
वर्णाश्रम व्यवस्थामा वर्ण अनुसारको अधिकारको निर्धारण गरिएको थियो र वर्णको संरचना माथि देखि तल भए जस्तै अधिकार र दायित्वको बाँडफाँडमा पनि असमानता थियो । ब्राम्हणको अधिकार सबैभन्दा बढी थियो भने दायित्व न्यून जबकी शुद्रको दायित्व अत्यधिक धेरै थियो भने अधिकार अत्यन्त न्यून थियो । शुद्रमाथि सबैभन्दा बढी भेदभाव गरियो । शुद्रहरुलाई पूर्ण रुपमा शिक्षा,सम्पत्ति आर्जन गर्न र हतियार चलाउनबाट वञ्चित गरियो । जे सम्पत्ति उसको हुन्थ्यो त्यो पनि ब्राम्हणको अधिनमा हुन्थ्यो ।
वैदिक धर्ममा चतुर्वर्ण व्यक्तिको जन्मको आधारमा स्थापित थियो । र यसमा वर्ण परिवर्तनको कुनै गुन्जाइस थिएन । ब्राम्हणहरुले आफू ब्रम्हाको मुखबाट जन्मिएको सबैभन्दा उत्कृष्ट जातिको रुपमा समाजमा प्रस्तुत गर्थे र अरु खास गरी शुद्रलाई अत्यन्त हेयको दृष्टिकोणले हेर्थे ।
बुद्धकालमै शुद्रहरुको अवस्था कति दयनीय थियो भन्ने कुरा अंगुत्तर निकायको ९.२.१ को सीहनाद–सुत्तमा यसरी प्रस्तुत गरीएको छ–
‘भते ! जस्तो कुनै चण्डाल कुमार, चण्डाल कुमारी स्वच्छकार या पुक्कुस कुमार छन् । जसको हातमा फोहर उठाउने टोकरी छ, जो अद्र्धनग्न छ, अर्थात जोसंँग शरीर ढाक्नको लागि पुरावस्त्र पनि छैन । जब उनीहरु कुनै सेवा कार्यको लागि गाउँं या नगरमा प्रवेश गर्छन त्यतिवेला उनीहरु हिनग्रन्थीले ग्रसित चित्त लिएर बडो विनम्रतापूर्वक प्रवेश गर्छन् । उनीहरु यस्तो आशंँकाले सयंमित हँुदै, भयभित हुँदै प्रवेश गर्छ कि उनीहरुबाट कुनै किसिमको गल्ती नहोस्, गल्तीले कसैलाई नछोइयोस्, उनीहरुलाई कुनै सवर्ण व्यक्तिले देखेर गाली नगरोस्, नझपाडोस् तथा उनीहरुलाई नपिटोस् । म पनि तिनै चण्डाल कुमार, स्वच्छकार वा पुक्कसकुमारहरु जस्तै शहनशील, उदार, महान, असिम चित्तबाट युुक्त भएर स्मृति–संप्रजन्यको साथमा बिना घृणा र द्धेष यस प्रकारले विचरण गर्छु कि मबाट कसै प्रति कुुनै किसिमको अपराध अथवा दोष नहोस् ।’
ब्राह्मणहरुमा दम्भ, अहमता र घमण्ड यति धेरै बढेको थियो कि बुद्धलाई समेत उनीहरु अपमान गर्थे । नीच जातिको मुण्डक भनेर अपमान गर्थे । शुद्रहरु नत वेद अध्ययनका अधिकारी थिए न सँंस्कार योग्य थिए । समाजको एउटा ठूलो हिस्सा अपमान, उपेक्षा, दमन, शोषणबाट आक्रान्त थियो । तर उनीहरुको उत्थानमा लाग्नुको विपरित समाज ब्राह्मणहरुको दवदवाबाट निर्देशित हुनाले शुद्रहरुको मुक्तिको मार्गमा कसैले चासो दिएका थिएनन् । जैनहरुले केही यसको विरोध गरेको भएता पनि यसको अन्त्यको लागि खासै प्रयास गरेको देखिदैन । बुद्ध नै इतिहासको एउटा यस्तो व्यक्ति थिए जसले बहुजन हित, बहुजन सुख तथा लोक अनुकम्पालाई आफ्नो धर्मचक्र प्रवर्तनको धुरी बनाए । उनले शुद्रहरुको हितको परिकल्पना गरेर नै बहुजन हित शब्द प्रयोग गरेका थिए । बुुद्धले बहुजन हितको उपदेश मात्र दिएनन् यसको व्यवहारिक पक्षलाई समेत ध्यान दिएर त्यही अनुसार संघ मार्फत निर्वाणको ढोका समेत खोलि दिए । उनले वर्ण व्यवस्था र जाति व्यवस्थाको पूर्णत खण्डन गरे । अमानवीय समाजको संरचना तथा समस्याको विरोध गर्दै आफ्नो मैत्री एवं करुणायुक्त विचार व्यक्त गरे । बुद्धत्वको मार्गमा जाति एवं वर्ण बाधक छैन भन्ने धारणा व्यक्त गरे । वर्ण एवं जात व्यवस्थाको खण्डन गर्दै बुद्धले अम्बट्ठ–सुत्त (३.दी.नि), अस्सलायण– सुत्त(९३.म.नि), कण्णत्थलक–सुत्त (९०.म.नि), अग्गञ्ञ–सुत्त(२७.दी.नि), छःअभिजाति–सुक्त (६.६.७ अं.नि), अनाथपिंडिकोवाद–सुत्त (१४३.म.नि), लगायत धेरै सुत्तहरु तथा अपण्ण जातक(१), वण्णुपथ जातक(२) अनुसार बोधीसत्वले बंजाराको घरमा जन्म लिएको, भेरीवाद जातक(५९) अनुसार भेरी बजाउनेको घरमा जन्म लिएको, बब्बु जातक (१३७) अनुसार पत्थरकट्टाको घरमा, कच्छप जातक(१७८) र कुम्भकार जातक(४०८) अनुसार कुमालको घरमा, सतधम्म जातक (१७९), छवक जातक (३०९), मातंग जातक (४९७) तथा चित्तसंभूूूूत जातक(४९८) अनुसार चण्डालको घरमा जन्म लिएको आदि वर्णन गरिएको छ ।
विद्या–आचरणले सम्पन्न व्यक्ति नै श्रेष्ठ हो भन्दे अम्बठ–सुत्त(३.दी.नि.) मार्फत आफ्नो विचार बुद्धले यसरी व्यक्त गरेका छन्–“अम्बष्ट्ठ ! गोत्र लिएर हिँड्ने व्यक्तिमा क्षेत्रीय श्रेष्ठ हो । जो विद्या एवं आचरणबाट सम्पन्न छ त्यो मनुष्यमा श्रेष्ठ हो । अनुपम विद्या–आचारण–सम्पदालाई जातिवाद भनिदैन, नत गोत्र भनिन्छ, न मानवाद भनिन्छ । जहांँ आवाह– विवाह मान्छे बाँधिन्छ; उनीहरु विद्या–आचारण–सम्पदाबाट टाढा छन् । जातिवाद, गोत्रवाद, मानवाद, आवाह–विवाहको बन्धनलाई छोडेर विद्या–आचारण–सम्पदालाई साक्षात्कार गर्न सकिन्छ । (३. अम्बट्ठ–सुत्त, दी.नि)
चतुवर्ण व्यवस्थाको सम्बन्धमा समेत बुद्धको ब्राह्मणहरुको भन्दा नितान्त फरक धारणा थियो । जुन यर्थाथ र वस्तुपरक थियो । चतुवर्णको व्याख्या गर्दै बुद्ध भन्छन्– “बशिष्ठ ! कोशल नरेश प्रसेनजितलाई के थाहा छ भने श्रमण गौतम शाक्य कुलबाट प्रव्रजित भएका हुन । शाक्यहरु प्रसेनजितको अधीनमा छन् । शाक्यहरुले प्रसेनजितलाई नमन गर्दछन् । जसरी शाक्यहरुले प्रसेनजितलाई नमन गर्छन्, त्यसैगरी प्रसेनजित तथागत प्रति श्रदाले युक्त छन् । यो यसकारण होइन कि श्रमण गौतम सुजात हो, म दुर्जात हु । श्रमण गौतम सुन्दर छन् र म कुरुप हुँ । धर्मलाई सत्कार गरेर प्रसेनजितले श्रमण गौतमलाई आदरणीय मान्छन् । यसरी धर्म नै मनुष्यमा श्रेष्ठ हो ।
बशिष्ठ ! आदि कालमा प्राणीहरुमा पाप धर्म प्रकट भयो र सबै प्राणीहरु एकतृत भएर भन्न लागे कि प्राणीहरुमा पाप धर्म जस्तो–चोरी, जीव–हिंसा, व्यभिचार, मिथ्या–दृष्टि आदि प्रकट भयो, अतः हामीले यस्तो प्राणीको चयन गरौं, जसले हामीले गरेको निन्दनीय कार्यको निन्दा गरोस् तथा उचित कर्म के हो त्यो बताओस् र दोषीलाई दण्ड देओस् ।
क्षेत्रीको उत्पत्ति
बशिष्ठ ! तब ती प्राणीहरु, जुन उनीहरुमा सुन्दर थियो, दर्शनीय तथा महाशक्तिशाली थियो, उसँंग गएर भने“हे प्राणी ! उचितानुचितलाई ठीकसंग अनुशासित गर, निन्दनीय कर्मलाई निन्दा गर, उचीत कर्म बताउ तथा निकाल्न योग्यलाई निकाली देउ । हामीहरुले तिमीलाई शालि(धान)को भाग दिन्छौ । त्यो व्यक्तिले यो प्रस्ताव स्वीकारे पछि उसले उचितानुचितलाई अनुशासित गरयो । महाजनहरुको सम्मतिले भएको हुँदा पहिला उसलाई महासम्मत भनियो । क्षेत्रको अधिपति हुनाले उसलाई क्षत्री भनेर दोस्रो नाम दिइयो । धर्मको आधारमा अरुलाई न्याय दिने भएकोले राजा भनियो ।

ब्राह्मणको उत्पत्ति
बशिष्ठ जब तिनै मध्ये कुनैकुनै प्राणीहरुमा मनमा यस्तो अनुभूति भयो कि प्राणीहरुमा पाप धर्म प्रकट भई रहेको छ । अतःहामीहरुले पाप धर्मलाई छोडौ । उनीहरुले अकुशल कर्मलाई छोडी दिए । पाप धर्मलाई छोड्नु अथवा बगाउनुको कारणले ब्राह्मण भए । उनीहरु जंगलमा कुटी बनाएर बस्थे तथा ध्यान गर्थे त्यसैले उनीहरुको दोस्रो नाम ध्यायक भयो । उनीहरु मध्ये कसैले ध्यान पुरा गर्न नसकेर गाउँ अथवा निगममा गएर ग्रन्थहरु अध्ययन गर्ने, लेख्ने काम गर्न थाले । ध्यान नगर्ने भएकाले तेस्रो नाम अध्यायक भयो । त्यो समयमा अध्यायकलाई नीच मानिन्थ्यो तर अहिले श्रेष्ठ मानिन्छ ।

वैश्यको उत्पत्ति
बशिष्ठ ! तिनै प्राणीहरु मध्ये केही प्राणीहरु गृहस्थ भएर व्यापार, कृषि आदि विभिन्न व्यवसायमा लागे । गृहस्थमा बसेर विभिन्न प्रकारको व्यवसायमा लागेका कारण उनीहरुको नाम वैश्य भयो ।

शुद्रको उत्पत्ति
बशिष्ठ ! त्यही प्राणीहरुमा बचेका प्राणीहरु शिकारी बने, काठको काम गर्ने, माटोको भाँडा बनाउने, अरुको सेवा गर्ने आदि कार्यमा लागे । यस्तो कार्यमा लाग्ने प्राणीहरुलाई क्षुद्र आचारवाला भनियो । क्षुद्र–आचार, क्षुद्र–आचार भन्दा भन्दै शुुद्र अक्षर उत्पन्न भयो । क्षुद्र आचर भएको प्राणी शुद्र भनेर चिनिए ।
श्रमणको उत्पत्ति
ब्शिष्ठ ! एउटा समय थियो जब क्षत्रीय पनि म श्रमण हुन्छु भन्ने सोचेर आफ्नो धर्मलाई निन्दा गर्दै घरबाट बेघर भएर प्रब्रजित हुुन्थ्यो । ब्राह्मण, वैशे, शुद्र पनि आफ्नो धर्मलाई निन्दा गर्दै प्रब्रजित हुन्थे । यिनै चार वर्णबाट श्रमण वर्णको उत्पत्ति भयो ।
वशिष्ठ ! कुनै पनि वर्णमा जन्म हुनाले मनुष्यको श्रेष्ठता बढ्दैन । धर्मको पालनाले मात्र मनुष्य श्रेष्ठ हुन्छ । यस प्रकारले धर्म नै श्रेष्ठ हो ।”(२७. अग्गञ्ञ–सुत्त दी.नि.)
मनुष्यको जात होइन आचरण सोध भनेर सुन्दरिक भारद्धाज ब्राह्मणले सोधेको प्रश्न–“तपाईको जात के हो ?” भन्नेको जवाफ यसरी दिएका छन्–“म नत ब्राह्मण हुँ, न क्षत्रीय, न वैश्य न अरु केही हुँ । पृथक–जनको संज्ञा अथवा नामलाई ज्ञात गरेर विचारपूर्वक अंकिचन भावले लोकमा विचरण गर्छु । चीवर लगाएर बेघर भएको, शिर मुण्डन गरेर, पूर्णरुपमा शान्त भएर तथा मनुष्यहरु प्रति अनाशक्त भएर म यहाँ विचरण गर्छु । तिमीले मसंग जाति, गोत्रको प्रश्न अनुचितरुपले सोधी रहेका छौ । जाति नसोध आचरण सोध । दाउराबाट आगो निस्किन्छ । त्यसै गरी कसैले नीच कुलमा जन्म लिएर, साधनाको बलमा एउटा उच्च कोटीको मुनी हुन सक्छ । ”(सुन्दरिकाभारद्धाज सुत्त, सं.नि.१.७.९, सु.नि.३.४) बुद्धले ब्राह्मण दर्शनको जात तथा वर्णको अवधारणालाई उल्टाएर जन्मले मनुष्य श्रेष्ठ हुंदैन । मनुष्य भन्दा धर्म श्रेष्ठ हो र मनुष्यको जात होइन आचरण प्रधान हो भन्ने मान्यतालाई स्थापित गरिदिए र शुद्रलाई समेत ज्ञान आर्जन गर्ने र धर्म अभ्यास गर्ने वातावरण बनाइदिए ।

संघमा शुद्रहरुको उपस्थिति
बुद्धले ब्राह्मणहरुको असमावेशी दर्शनको विरोधमा वकालत मात्र गरेनन् उनले सबै वर्णका मनुष्यहरुलाई समान हैसियतमा राख्दै भिक्षु संघमा शुद्रहरुलाई समेत प्रवेश खुला गरे । भिक्षु संघमा प्रवेश भए पछि मानिसहरुमा समानताको व्यवहार हुन्थ्यो । उपाली नाउ, सुनीत भंगी, श्रोत्रिय गोठालो, सोपाक, सुप्पिय, प्रकृति चण्डालिका, सुप्रबुद्ध कोरी, प्रसिद्ध वैद्य जीवक कौमार–भृत्य यसको उच्चकोटीका उदाहरणहरु हुन । बुद्धले भनेका छन्–“ यो पृथ्वीमा जति पनि महा नदीहरु छन्, जस्तो–गंगा, यमुना, सरस्वती, अचिरवती, सरयु तथा माही आदि; यि सबै महानदीहरुले समुन्द्रमा मिलेपछि जसरी आफ्नो अस्तित्व गुमाउँछन् । समुन्द्र मिलेपछि यिनीहरुको जललाई पनि समुन्द्रको जल भनिन्छ, तब यि महानदीहरुको पनि कुनै नाम हुँदैन तथा महासमुन्द्र नै भनिन्छ । त्यसैगरी जब ब्राह्मण, क्षेत्री, वैश्य तथा शुद्र बुद्धको संघमा प्रवेश गरेर विनय एवं धम्मको पालना गर्न लाग्छन् ; तब उनीहरुको कुनै वर्ण, जाति, गोत्र तथा कुल रहँदैन । तथा उनीहरुलाई केवल भिक्षुको नामले मात्र बोलाइन्छ । तथा भिक्षु संघको सदस्य मात्र रहन्छन् । ”(उपोसथ–सुत्त, उदानपालि ५.५)

निष्कर्षः
बुद्धले तत्कालिन समाजमा नारी र शुद्रहरु माथि भएको विभेदलाई अन्त्य गदै स्वयम र भिक्षु भिक्षुणीहरुको माध्यमबाट समाजमा भएको लिङ्गिय र जातीय विभेदको विरुद्ध तर्कसंगत विचार राखेर, उनीहरुको चेतनालाई जागृत गरे । समाजमा समानताको प्रादुर्भाव गरे । उनले शील, समाधि र प्रज्ञाको माध्यमबाट व्यक्तिको मनलाई परिशुद्ध गर्ने मार्ग बताए । मन, वचन र कायाले पवित्र भएको व्यक्तिको अगाडि लिङ्ग, जाति, कुल, वर्ण र गोत्रको कुनै अस्तित्व छैन भन्ने सत्यलाई स्थापित गरिदिए । बौद्ध धर्ममा आस्था राख्ने व्यक्ति समता, बंधुत्व, शील, सदाचार, करुणा र प्रज्ञाको खानी हुन्छ र सबैको मंगल कामना गर्ने हुन्छ । त्यसैले होला आज संसारभरी बुद्धका विचारहरु दिन दुई गुणा रात चौगुणाको हिसाबले फैलिरहेको छ । समानता, समानता स्वतन्त्रता, भातृत्व र बहुजन सुखाएको उपदेशले दिक्षित हुँदै धेरै मनुष्यहरु आत्मसम्मानपूर्वक जिउने अवसर पाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank