चुनाव त हामी जित्छौं–जित्छौं : प्रचण्ड

दलित अनलाइन मंसिर १४, २०८२

काठमाडौँ —  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरेका छन्।

आइतबार पोखराको चिप्लेढुंगामा आयोजित पार्टीको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै प्रचण्डले वामपन्थी र देशभक्त शक्तिहरूको ध्रुवीकरणले चुनावी नतिजा आफ्नो पक्षमा आउने ठोकुवा गरे।

जनसागरलाई सम्बोधन गर्दै दाहालले आत्मविश्वासका साथ भने, ‘चुनाव त हामी जित्छौँ–जित्छौँ, त्यसमा कुनै द्विविधा छैन। तर हाम्रो यो एकता अभियान चुनाव जित्न, मन्त्री बन्न वा सत्तामा जानका लागि मात्रै सुरु गरिएको होइन।’

उनले चुनाव जित्नु प्राविधिक कुरा भए पनि देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएको अवस्थामा राष्ट्र बचाउनु अहिलेको मुख्य चुनौती रहेको बताए।

Shivam Cement

‘राष्ट्र बचाउन र जनताको अधिकार सुरक्षित गर्न हामी एक ठाउँमा उभिएका हौँ,’ उनले थपे।

प्रचण्डले अघिल्लो कांग्रेस र एमालेको गठबन्धन सरकार प्रति टिप्पणी गरे। उनले प्रश्न गरे, ‘एमाले र कांग्रेसको दुई तिहाइबाट जनताले के हासिल गरे ?’

सो सत्ता गठबन्धनका कारण राष्ट्र संकटमा फसेको आरोप लगाउँदै उनले भने, ‘हामी सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ, तर हामीलाई काम गर्न दिइएन र हटाइयो। भ्रष्टाचारविरुद्धको लडाइँ लड्न शक्ति नपुगेपछि हामी जनतामा आएका छौँ।’

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन कुनै बहानामा सार्न नहुनेमा प्रचण्डले जोड दिए।

वर्तमान सरकारको गठन प्रक्रियाको स्मरण गराउँदै उनले भने, ‘यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनाएको हो। जसको जनाधार बढी छ, उसैलाई पन्छाएर चुनावी वातावरण बिग्रियो भने त्यो देशका लागि दुर्भाग्य हुनेछ।’

यदि जनता संगठित र सचेत नभए देशमा पुनः ठूलो संकट उत्पन्न हुन सक्ने भन्दै उनले सम्पूर्ण कार्यकर्तालाई चुनावी तयारीसँगै राष्ट्रियताको पहरेदार बन्न निर्देशन दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank