काठमाडौँ — लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा गएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। त्यसैगरी माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५ धारेमा १ जनाको र सोही वडाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।

त्यसैगरी फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
एसएसपी पोखरेलले पहिरो र बाढी प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि सुरक्षित स्थानमा पुर्याइएको र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उनले बताए।
वर्षाका कारण हाल पनि धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् भने सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ। प्रशासनले पहिरो प्रभावित बस्तीमा राहत सामग्री पठाउने तयारी गरेको छ।
स्थानीयबासीले रातभरै वर्षा र पहिरोको डरमा घर छाडेर सुरक्षित स्थानमा बस्नुपरेको बताएका छन्। मौसम विभागले अझै केही दिनसम्म मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

























Leave a Reply