काठमाडौं — नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो पटक पार्टी अध्यक्ष बन्ने बाटो खुला गरेको छ । गत भदौ २० देखि २२ सम्म गोदावरीको सनराइज हलमा भएको विधान महाधिवेशनले ७० वर्षे उमेरहद र कार्यकारी पदको कार्यकालको पूर्ववत् व्यवस्था हटाएर ओलीलाई बाटो खुला गरेको हो ।
एमालेको विधानमा यसअघि कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्षे उमेरहदको सीमा र दुई कार्यकाल मात्र कार्यकारी पदमा उम्मेदवार बन्न पाउने व्यवस्था रहेको थियो । दोस्रो विधान महाधिवेशनले यी दुवै व्यवस्थालाई खारेज गरेको छ । योसँगै हाल दोस्रो कार्यकालको नेतृत्व गरिरहेका अध्यक्ष ओली तेस्रो कार्यकालमा पुनः अध्यक्ष बन्न योग्य भएका छन् ।

तेस्रो कार्यकाल अध्यक्ष बन्नका लागि ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यताबाट बञ्चित नै गरेका छन् । ओलीको जोडबलमा राष्ट्रपतिको भूमिका निर्वाह गरिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किन नहुने भन्दै एमालेले भण्डारीको सदस्यता नवीकरण रोकेको छ । सदस्यताबाट बञ्चित गराएको एमालेले भण्डारीलाई विधान महाधिवेशनमा समेत सहभागी गराएन ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य कर्ण थापालगायत भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्न नहुने पक्षमा छन् । स्थायी कमिटी सदस्य थापाले विधान महाधिवेशनमा फरक मत दर्ज गरे पनि उनलाई उक्त मत प्रस्तुत गर्नबाट भने बञ्चित गरियो । एमालेमा ठूलो पंक्तिले नेतृत्व हस्तान्तरणको आवाज उठाउँदै आए पनि ओलीले भने तेस्रो कार्यकालका लागि आफ्नो सिट सुरक्षित गरेका छन् ।


























Leave a Reply