काठमाडौं — गाजा सिटीको प्रमुख अस्पताल अल–शिफा नजिक इजरायली आक्रमणमा परेर पाँच अल–जजीरा पत्रकारको मृत्यु भएको छ। अल–जजीरा समाचार संस्थाले उनीहरूको मृत्यु पुष्टि गरिसकेको छ।
मृत्यु हुनेमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैकेह, साथै क्यामराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोअमेन अलिवा रहेका छन्। उनीहरू अस्पतालको मुख्य गेट नजिक पत्रकारहरूको लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको अल–जजीराले जनाएको छ।
अल–जजीराले यस आक्रमणलाई ‘पत्रकारितामाथिको पूर्वनियोजित र स्पष्ट आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ।

इजरायली रक्षा बलले आक्रमणपछिको टेलिग्राम पोस्टमा अनस अल–शरीफलाई हमासको एक आतङ्ककारी सेलको प्रमुख भएको आरोप लगाउँदै उनीमाथि लक्षित कारबाही गरिएको पुष्टि गरेको छ। अन्य पत्रकारहरूबारे भने कुनै टिप्पणी गरेको छैन।
अल–जजीराको अनुसार, उक्त आक्रमणमा कूल सात जनाको मृत्यु भएको छ। सुरुमा संस्थाले चार पत्रकारको मृत्यु पुष्टि गरे पनि केही घण्टापछि मृतकको संख्या पाँच पुगेको जनाएको छ।
गत महिना, अल–जजीरा, संयुक्त राष्ट्रसंघ, र पत्रकार सुरक्षा समितिले संयुक्त रूपमा अल–शरीफको सुरक्षाका लागि अपिल गरेका थिए।
पत्रकार सुरक्षा समितिका अनुसार, अक्टोबर २०२३ मा इजरायली सैन्य कारबाही सुरु भएदेखि गाजा क्षेत्रमा हालसम्म कम्तीमा १८६ जना पत्रकारको मृत्यु भइसकेको छ।


























Leave a Reply