काठमाडौँ — बंगलादेशमा जारी यू–२० महिला साफमा नेपालले सादनर जित निकालेको छ। बिहीबार दिउँसो बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले श्रीलंकामाथि ७–०को फराकिलो जित निकाल्यो।
नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा ३ गोल थप्यो। नेपालका लागि समिक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले समान एक गोल गरे। एक गोल आत्मघाती भएको थियो।
_KhaYWeEYXG.gif)
१५औं मिनेटमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। ३५औं मिनेटमा कुसुमले नेपालको अग्रता दोब्बर बनाए। त्यसपछि ४३औं मिनेटमा सरिता नाथ र ४५औं मिनेटमा आत्मघाती गोल भएपछि नेपालले ४–०को अग्रता लियो।
त्यसपछि ६७औं मिनेटमा बिर्सनाले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले ५–०को अग्रता लियो। त्यसपछि समीक्षाले ७४औं र ७८औं मिनेटमा गोल गर्दै नेपलाको अग्रता ७–०को बनाइन्।
९० औं मिनेटमा प्राप्त पेनाल्टीमा बिर्सना गोल गर्न चुकिन । उनको प्रहार किपरले बचाएकी थिइन्। त्यसपछि थप गोल नहुँदा नेपाल विजयी भयो। दुवै लेगमा नेपालले श्रीलंकामाथि समान ७–०को जित निकाल्यो। यो जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ। बंगलादेशले बेलुका भुटानसँग खेल्नेछ।

























Leave a Reply