असार मध्यसम्म देशभर १५.६ प्रतिशत मात्रै धान रोपाइँ

दलित अनलाइन असार १४, २०८२

काठमाडौं, असार १४ — यसवर्ष हाल सम्म देशभर करीब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जारी गरेको तथ्यांक अनुसार हाल सम्म देशभर १५.६ प्रतिशत रोपाइँ सकिएको छ।

केन्द्रका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा हाल सम्म जम्मा २ लाख १७ हजार २८९ हेक्टर जमिनमा रोपाइँ सकिएको हो। गतवर्षको तुलनामा भने यसवर्ष हाल सम्म १.६ प्रतिशत रोपाइँ कम भएको छ।

प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ। गत वर्ष यस अवधिसम्म सूदूरपश्चिममा ४० प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो। सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म ८० हजार १२८ हेक्टरमा रोपाइँ सकिएको हो।

कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ। यस प्रदेशमा ४० हजार ८८४ हेक्टरमा धान खेती गरिन्छ। त्यस मध्ये हालसम्म करीब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हाल सम्म करीब २४ प्रतिशत रोपाइँ सकिएको थियो।

लुम्बीनी प्रदेशमा हाल सम्म ९.७ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अवधिसम्म लुम्बीनीमा १८.५ प्रतिशत धान रोपाइँ भएको थियो। यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टरमा धानखेती हुने गरेको छ।

गण्डकी प्रदेशमा हाल सम्म १३.८ प्रतिशत धान रोपाइँ भएको केन्द्रले जनाएको छ। गत वर्ष यस अवधिसम्म यस प्रदेशमा १२.४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो। यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ।

बागमती प्रदेशमा हाल सम्म २०.५ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे १९ प्रतिशत रोपाइँ भएको थियो। यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ।

मधेश प्रदेशमा हालसम्म सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ भएको छ। यद्यपी, सप्तरी, रौतहट र महोत्तरी जिल्लाको धान रोपाइँको तथ्यांक हाल सम्म उपलब्ध नभएकाले यसमा समावेश नभएको केन्द्रले जनाएको छ। यस प्रदेशमा कुल ३ लाख ८० हजार हेक्टर जमिनमा धानखेती हुने गरेको छ।

कोशी प्रदेशमा हाल सम्म १४.३ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म १३.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank