
सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पञ्चायती गर्ने एक जना कारागार चलान भएका छन् ।
सिरहा जिल्ला अदालतले मंगलबार वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई कारागार पठाउने आदेश दिएको श्रेस्तेदार निरज पोखरेलले जानकारी दिए । यसैगरी, अदालतले पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको छ ।
पोखरेलका अनुसार, स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई नाबालकका आफन्त पर्ने दुई जना गरी ६ जनासँग जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग भएको हो । अपहरण तथा बलात्कारका मुख्य आरोपित नाबालकलाई भने अदालतले परिवारको जिम्मामा छाडिदिएको छ ।
यस्तै, स्थानीय रामविनोद मण्डल र कमलेश दासलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश भएको श्रेस्तेदार पोखरेलले जानकारी दिए । यस घटनामा अपहरण तथा बलात्कारका आरोपित दुई नाबालक र घटना गाउँमै मिलाउन पञ्चायती गर्ने ८ जना गरी दस जना अझै फरार छन् ।
उनीहरुका नाममा कानुन बमोजिम म्याद जारी हुने सिरहा जिल्ला अदालतले जनाएको छ ।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्य सहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
Leave a Reply