महायज्ञको नाममा दलितको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

दलित अनलाइन चैत्र ७, २०८१

काठमाडौं — सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले कारबाही  दोषीलाई पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विक लगायतले आपत्ति जनाएका छन् ।

उनीहरूले यस घटनाप्रति आपत्ति जनाउँदै दलितहरूले न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालत ‘हेग’ जानुपर्ने अवस्था समेत आएको बताएका छन् ।

सांसद अमरेशकुमार सिंहले महिला र दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न माग गरे। सांसद सिंहले देशभर हत्या र हिंसाका घटनाहरु बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले महिला र दलितमाथि श्रृंखलावद्ध रुपमा अत्याचार भइरहेको भन्दै यही सरकारको पालामा किन यस्तो भइरहेको छ ? भन्दै प्रश्न समेत गरे। उनले मधेश प्रदेशमा दलितमाथि भइरहेको दमनका विरुद्ध प्रदेश सरकार नबोल्नु सत्ता बाँडफाँड त होइन ? भन्दै आशंका समेत व्यक्त गरे।

नेकपा एमालेकी सांसद सांसद सम्झना थपलियाले गृहमन्त्री रमेश लेखकलाई दलितविरुद्धका घटनाहरू रोक्न कुनै कदम नचालेको आरोप लगाइन्। बैठकमा सांसद थपलियाले सभामुखमार्फत् गृहमन्त्रीसँग सोधिन्, ‘गृहमन्त्रीलाई यस्ता घटनामा चासो हुँदैन? तपाईँ गृहमन्त्री दलित विरोधी हो? यसरी कसरी संघीय लोकतन्त्र बलियो हुन्छ?’ उनले संसदीय छानबिन समिति गठन गर्न समेत माग गरिन्।

अर्का सांसद रणेन्द्र बरालीले दलित समुदायमाथि ज्यादती बढ्दै भन्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे। उनले भने, ‘दलितप्रति भएका ज्यादतीले सगरमाथा भन्दा ठूलो टाकुरा बनिसकेको छ। दलितहरूले न्याय खोज्न कहाँ जाने?’

सांसदहरू मनिष झा, अब्दुल खान, अशोककुमार चौधरी र प्रभु हजारा लगायतले पनि सिरहामा भएको उक्त घटनाको विरोध गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै सिरहाको औरही–५ का दीपक मलिक डोमको गाउँपालिका अध्यक्ष शिवजी यादवसहितको संलग्नतामा गाउँपालिकाकै डोजर प्रयोग गरेर घर भत्काएको र दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको घटना बुधबारै सार्वजनिक भएको छ । तर बिहीबारसम्म पनि दोषीहरूमाथि कुनै कारबाही भएको छैन। उनीहरूलाई प्रहरीले पक्राउसम्म पनि गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank