
काठमाडौं — नेपाल दलित मुक्ति मोर्चाले देशव्यापी रुपमा दलित समुदायमाथि भएका छुवाछूत विभेर र हिंसाबिरुद्ध काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।
माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा दलित समुदायमाथि पछिल्लो चरणमा श्रृङ्खलाबद्ध रुपमा भइरहेका छुवाछूत, विभेद, उत्पीडन, हत्या, वहिष्कारविरुद्ध र दलित समुदायका आधारभूत मुद्धा र मागहरुलाई राज्यत्तामा सम्बोधन गराउन दबाब दिने उद्देश्यले निरन्तर विरोध प्रर्दशन गरेको हो ।
माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा मोर्चाका फ्र्याक्सन इन्चार्ज परशुराम रम्तेलले निर्वाचन ऐन संशोधनको प्रक्रिया अहिले भइरहेको व्यवस्थाभन्दा पश्चगामी रहेको चर्चा गर्दै दलितहरुको सम्मानजन प्रतिनिधित्वका लागि दलित मैत्री निर्वाचन प्रणालीको माग गरे ।
रम्तेलले दलितहरुका राज्यसत्ताका सम्पूर्ण क्षेत्र, निकाय र निकायमा विशेष अधिकारका आधारमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिए ।
मोर्चा अध्यक्ष तथा पूर्वमन्त्री दलजित श्रीपालीले दलित समुदायमाथि भएका संरचनात्मक हिंसाका घटनामा मेलमिलाप गरिने, परिवारको घेराभन्दा बाहिर लैजान नदिने, झुट्टा मुद्दामा फसाउने, ऐन- कानुनलाई बेवास्ता गर्ने कामहरु भइरहेको चर्चा गर्दै केपी ओलीको सरकार दलित विरोधी रहेको बताए ।
श्रीपालीले अन्तरजातीय विवाह गरेका सत्येन्द्र नेहाको वैधानिक जोडीलाई छुटाउन प्रहरी प्रशासन र स्वयम् गृहमन्त्रीको संलग्नताप्रति भत्र्सना गर्दै छानविन समिति बनाई दोषीलाई कारवाही गर्न र पीडित जोडीको सुरक्षाको माग गरे ।
आजको कार्यक्रममा मोर्चा सल्लाहकार तथा सभासद विनोद पहाडी, महासचिव शंकर दुलाल, उपाध्यक्षहरु पदम विश्वकर्मा, अमर वि.क. र विनिता ओडलगायत केन्द्रीय पदाधिकारी तथा मोर्चा नेता कार्यकर्ताको सहभागिता रहेको थियो । विरोध कार्यक्रम भोलि फागुन ९ गते आयोजना हुने जनाइएको छ ।
Leave a Reply