काठमाडौँ — सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको ०८१ माघ ९ गते को इजलासले तीन महिना कैद सजाय र ३० हजार रुपियाँ भराउने फैसला गरेको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार निर्मलाकुमारी खड्काले जानकारी दिए ।
तत्कालीन कर्णाली प्रदेश प्रमुख तिलक परियारले निजी सचिवालयमा दलितहरू मात्र राखेको विषयमा महाबु गाउँपालिका–३ बाँसीका बिनोद बुढाले लेखेको फेसबुक स्टाटसमा शिक्षक ठकुरीले ‘डुमैडुम मात्र रहेछन्’ भनी कमेन्ट लेखेका थिए ।
जातीय विभेद हुने गरी सिंगो दलित समुदायको आत्मसम्मानलाई चोट पुर्याउने सामाजिक सद्भाव भड्काउने कार्य गरेको भन्दै दलित अधिकारकर्मी गम्भिरसिंह भुलले साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा ‘जातीय भेदभाव तथा छुवाछुत कसुर’ अन्तर्गत आरोपित विरुद्ध उजुरी दिएका थिए । । ठकुरीलाई प्रहरीले साउन ११ गते गिरफ्तार गरेको थियो ।
रिट निवेदक भुलले सुर्खेत जिल्ला अदालतबाट सम्भव त पहिलोपटक दलित समुदायमाथि भइरहेको विभेद विरुद्धको मुद्दामा थोरै भए पनि दलित समुदायको पक्षमा फैसला गरेकोमा खुसी व्यक्त गरे।
Leave a Reply