सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन्।
भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुलाई भवन संहिता सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रमको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कडेलले अहिले भइरहेको जथाभावी बिकासको मोडल बदल्न नसकिए बिपत्तीको चपेटा मुक्त हुन नसकिएको बताएका हुन्।
मुख्यमन्त्री कडेलले जहाँ देख्यो त्यहीँ माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दे त्यसलाई रोक्न प्राविधिकहरु नै अघि धारणा सर्नुपर्ने बताए।
‘प्राविधिकलाई पन्छाएर डोजर चढेर हिँड्नेहरुले सडक मुल्यांकन गरिरहेको म देख्छु, यसबाट हामी बच्न सक्नुपर्छ,’ उनले भने।
विकासको आवश्कता भन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाँउ बस्ती जोखिममा परेको चर्चा गर्दे मुख्यमन्त्री कडेलले जनप्रतिनिधिले जहाँ जहाँ भन्छन त्यही जमिन भत्काउने कामलाई निरुत्साहन गर्न पनि प्राविधिकलाई सुझाव दिए।
‘विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो,’ उनले भने, ‘विकासको मोडललाई दीर्घकालीन र जोखिमरहित बनाउन तपाईहरुकै भूमिका रहन्छ।’
सबै तहका सरकारसँग चाहिएजति रकम नभएपनि भइरहेको रकमको पनि उचित सदुपयोग नभएको मुख्यमन्त्री कँडेललको भनाई थियो ।
Leave a Reply