रौतहट — रौतहटको राजदेवी नगरपालिका–५ पताहीमा भएको भीषण आगलागीले आठ परिवारको घर र सपना खरानी बनाएको छ।
मध्यरातमा सारा गाउँ निदाइरहेको अवस्थामा अचानक सल्केको आगोले बाबुलाल पासवानसहित अन्य परिवारका घरहरू जलेर नष्ट हुँदा झन्डै ५५ जनाको दैनिकी बिचल्लीमा परेको छ।
बाबुलालले मलेसियामा रहेका छोरा सत्येन्द्र पासवान र नेपाल प्रहरीमा कार्यरत छोरी-ज्वाइँले पठाएको १७ लाख रुपैयाँ घर बनाउनका लागि सुरक्षित राखेका थिए। तर, आइतबार रातिको आगलागीले यो रकमसँगै बाबुलालको घर बनाउने सपना पनि खरानी बनाएको छ।
घडेरी किन्ने योजना अन्तिम चरणमा पुगिसकेको अवस्थामा आगलागी भएको हो। बाबुलालका अनुसार आफ्नै घरको पछाडि रहेको घुरबाट सुरु भएको आगोले ग्यास सिलिन्डर विस्फोट गराएपछि आगो थप भयावह बनेको थियो।
आगोको लप्का र ग्यास सिलिन्डरको विस्फोटले दलित बस्तीभर कोलाहल मच्चिएको स्थानीय कान्तिदेवी पासवानले बताइन्। “केही सम्हाल्न नपाउँदै ज्यान जोगाएर भाग्नमात्र सफल भयौं,” उनले भनिन्। आगलागीले बाबुलाल पासवान, दीपेन्द्र पासवान, प्रदीप पासवान, कान्तिदेवी पासवान, नागेन्द्र पासवान, सोगारथ पासवान, र जगरनाथ पासवानका घरहरू पूर्ण रूपमा नष्ट गरेको छ।
हाल आठ परिवारका करिब ५५ जना सदस्य कडा चिसोमा ओत लाग्न त्रिपाल र अस्थायी सामग्रीमा बस्न बाध्य छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार, दैवी प्रकोप समितिबाट तत्काल राहतस्वरूप त्रिपाल, भाँडाकुँडा, खाद्यान्न, र अन्य अत्यावश्यक सामग्री वितरण गरिएको छ।
स्थानीय निर्माण व्यवसायीहरूले ग्यास सिलिन्डर, चुलो, ओढने-ओछ्याउने, र खाद्यान्न सामग्री उपलब्ध गराए पनि पीडितहरूको अवस्था दयनीय छ। “दिनभर घाम नलागेको कठ्याङ्ग्रिँदो चिसोमा बालबालिका, वृद्ध, र महिलाको अवस्था नाजुक छ,” स्थानीय खुसीबु सिंहले बताइन्।
राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादवले नगरपालिकाको तर्फबाट थप राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए। आगलागीबाट जोगिएकाहरू जिउमा लगाएको कपडा बाहेक केही पनि बाँकी नरहेको उनले बताए।
स्थानीय इन्दु देवीले आगलागीमा दुई लाख रुपैयाँ जलेको दुखेसो पोखिन्। उनले श्रीमान् दीपेन्द्र पासवानले मलेसियाबाट पठाएको पैसा घर बनाउन सुरक्षित राखेकी थिइन्। “घरमा आगो लागेको थाहा पाएपछि दुई साना छोराहरूलाई निकाल्दै ज्यान जोगाउन मात्र सफल भएँ,” इन्दुले भनिन्।
भीषण आगलागीले पताहीको दलित बस्तीलाई गहिरो आर्थिक र मानसिक आघात पुर्याएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताए। उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गौर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।
पीडितहरूले तत्काल राहत पाए पनि पुनर्स्थापनाको लागि दीर्घकालीन योजना आवश्यक देखिएको छ।
Leave a Reply