काठमाडौँ — नेकपा एकीकृत समाजवादीको केन्द्रिय सचिवमा गणेश विश्वकर्मा निर्वाचित भएका छन् । पदाधिकारीका लागि भएको निर्वाचनमा दलित कलस्टरतर्फ दुई नेतालाई पछि पार्दै विश्वकर्मा सचिवमा निर्वाचित भएका हन् ।
केन्द्रीय समिति सदस्यमध्येबाट पदाधिकारीका लागि चुनाव भएको थियो । दलित कलस्टरतर्फ सचिवमा गणेश विश्वकर्मा , निरादेवी जैरु र कृष्णबहादुर नेपाली प्रतिष्पर्धामा थिए । सचिवमा निर्वाचित विश्वकर्माले १८०, जैरुले ९८ र नेपालीले २६ मत पाएका थिए । तीनै जना नेता यसअघि पोलिटव्यूरो सदस्य थिए ।
असारमा सम्पन्न भएको १० औं महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल सर्वसम्मत भएका थिए । त्यसैगरी ९३ जना केन्द्रिय सदस्य पनि सर्वसम्मत भएका थिए ।
अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको थियो । १७ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारी परेको थियो । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ
को हुन गणेश विश्वकर्मा ?
२०४५ सालमा जयपृथ्वी क्याम्पसको स्ववियू सचिव हुंदै बझाङ अनेरास्ववियूको संस्थापक सचिव हुंदै अनेरास्ववियू ११ औं राष्ट्रिय सम्मेलनबाट सर्वाधिक मत प्रप्त गर्दै सेतीबाट राष्ट्रिय परिषद सदस्यको जिम्मेवारी लिएर डोटी बहुमुखी क्याम्पसमा अखिलका तर्फबाट सिंगै प्यानल विजय गराउँदै डोटी जिल्लामा शिक्ष संगठन र पार्टीको जिल्ला कमिटी सचिव भएर काम गरेको गणेश विश्वकर्मा सोही जिल्लाबाट तत्कालिन दलित मुक्ति समाजको केन्द्रीय सचिव थिए ।
नेकपा (एमाले) को छैठौँ महाधिवेशनपछि पार्टीको केन्द्रीय सामाजिक सेवा विभाग हुँदै मानवअधिकार एलाइन्सको केन्द्रीय अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दैै ७५ वटै जिल्लामा संगठन निर्माण तथा देश विदेशमा यसको सम्पर्क विस्तारमा काम गरे ।
८ औँ महाधिवेशबाट पार्टी केन्द्रीय अनुशासनमा निर्वाचित भएका विश्वकर्मा २०४६ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरी पार्टीमा सक्रिय राजनीति सुरु गरेका थिए । पार्टी संगठित सदस्यता २०४८ साल लिएका विश्वकर्मा २०५४ सम्म तीन कार्यकाल नेकपा (एमाले) जिल्ला कमिटी डोटीको निर्वाचित जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठन परिचालन विभाग प्रमुख र संगठन विभाग प्रमुख भएर काम गरेका थिए ।
नेकपा एमालेको ९ महिने सरकारलाई जनतामा स्थापित गर्न २०५१ मा गाउँ जागरण (गाजा) अभियानको प्रमुख बक्ताको रुपमा डोटीका सबै गाविस र नगरपालिकामा अभियान संचालन गरेका थिए ।
२०५६ सालमा फ्याक्सन कमिटी सचिवका हैसियतले पार्टीको राष्ट्रिय परिषद सदस्य हुँदै पार्टीका राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद तथा केन्द्रीय र अञ्चल तथा जिल्ला स्तरीय प्रशिक्षणमा प्रशिक्षकका हैसियतले भूमिका निर्वाह गरे । पार्टी पुनगर्ठन पछि नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य तथा स्कूल विभाग सदस्यको भूमिकामा आफ्नो जिम्मेवारी निर्वाह गरेका विश्वकर्मा नेकपा एकीकृत समाजवादीको दशैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भएका थिए ।
नेपाली दलित आनदोलनमा एक जना बौद्धिक तथा बैचारिक नेताका रुपमा परिचित गणेश विश्वकर्मा एमाले समबद्ध तत्कालिन मुक्ति समाज नेपालको महासचिव थिए । पार्टी पुनगर्ठन पछि नेकपा एकीकृत समाजवादी सम्बद्ध नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्ष समेत रहेका विश्वकर्मा राजनीतिशास्त्रमा पिएचडि गर्दै छन् । प्रचण्ड नेतृत्वको सरकारले उनलाई सुदूरपश्चिम नीति तथा योजना आयोगको उपाध्यक्ष बनाएको थियो ।
विश्वकर्माले कम्युनिष्ट आन्दोलन, दलित आन्दोलन, भूमिसुधार र मानवअधिकार आन्दोलनमा सयौं लेख तथा रचनाहरु प्रकाशित छन् ।
Leave a Reply