प्रधानमन्त्रीलाई निराशाको भाषण कसले लेख्दियो ? वर्षमान पुन

दलित अनलाईन ६ श्रावण २०८१, आईतवार १६:२९

काठमाडौँ  — माओवादी केन्द्रका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक अवस्थाबारे राखेको भनाइको तथ्यसहित खण्डन गरेका छन् । आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा राखेको भाषणमा अर्थतन्त्रबारे भावनात्मक निराशाका कुरा रहेको तर तथ्य अर्कै रहेको उनले उल्लेख गरे ।

उनले प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रबारे निराशाको रूपमा व्यक्त गरेको तर त्यस्तो अवस्था नरहेको बताए । प्रधानमन्त्री ओली नेकपाबाट २ तिहाइको बहुमतबाट निर्वाचित भएको बेला भन्दा अहिले अर्थतन्त्र उकालो लागेको तथ्याङ्क रहेको उनले उल्लेख गरे । यो बिचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाले अर्थतन्त्रलाई केही शिथिल बनाउने काम गरेको उनले बताए । हमास र इजरायलबिचको द्वन्द्व, रुस र युक्रेन युद्धका कारण अर्थतन्त्रलाई केही शिथिल बनाउने घटना भएको उनले उल्लेख गरे ।

उनले भने,‘जतिखेर २०७४–७५ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कूल राष्ट्रिय ऋण कुल ग्राहस्त उत्पादनको तुलनामा ऋणको २६ प्रतिशत रहेको थियो । अर्को एकैपटक ३० प्रतिशत पुग्यो । २०७७ सालसम्म ३८ प्रतिशत पुग्यो । साढे ३ वर्ष लगातार ३ वर्ष नेतृत्व गरेर सरकार छोड्ने क्रममा हाम्रो राष्ट्रिय ऋण ४० दशमलव ८ प्रतिशत थियो भने आज त्यही कुरा ४१ प्रतिशतको हाराहारीमा छ । जतिखेर साढे ३ वर्षमा उहाँले एकैपटक साढे १० प्रतिशत राष्ट्रको ऋण बढाउनुभयो, ऋण लिएर घिउ खाने अवस्था बन्यो । आज तीन चार वर्षको अवधिमा १ प्रतिशत मात्र वृद्धि भएको छ राष्ट्रको ऋण जिडिपिको तुलनामा । आज यो कुरा तथ्याङ्कले बताउँछ, के हो निराशाका कुरा । उहाँहरूसँग कस्तो टिम छ र कसको विज्ञताले उहाँलाई फिडब्याक गरिरहेको छ ? देश कता लान्छ त्यस्तो विज्ञताले भन्ने कुरा यसबाट प्रष्ट हुन्छ ।’

अघिल्लो पटक ओलीले सत्ता छोड्दै गर्दा आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशत रहेको, ३ वर्षपछि अहिले ४ प्रतिशत आर्थिक वृद्धिदर रहेको उनले बताए । गतवर्ष १ दशमलव ९ प्रतिशत थियो भने अहिले ४ प्रतिशत हाराहारी सकारात्मक अवस्थामा कसरी निराशाको कुरा गरेको भन्दै उनले प्रश्न गरे ।

समग्र अर्थतन्त्रमा केही शिथिलता भएको साँचो रहेको बताउँदै उनले विश्वव्यापी कारण, आफ्नो अर्थतन्त्रमा केही समस्या रहेको भएपनि भावनाको आधारमा तथ्याङ्क बंगाउन नहुने बताए ।

ओलीले अघिल्लो पटक सरकार छोड्दै गर्दा सोधानान्तर बचतको अवस्था २३ करोड रहेको र अहिले वैदेशिक मुद्राको बचतको अवस्था ४२ हजार ५२७ करोडको अवस्था रहेको पुनले बताए । उनले १९ महिनाका लागि विदेशी वस्तु आयात गर्नका लागि पर्याप्त मुद्रा रहेको उल्लेख गरे । उनले प्रधानमन्त्रीलाई भाषण लेखिदिने व्यक्तिले ओलीले पहिले सरकार छोडेका बेला आर्थिक अवस्था कस्तो थियो हेर्नका लागि आग्रह गरे ।

उनले आजका दिनमा बस्तु र सेवाको १३ महिना धान्न सक्ने आर्थिक अवस्था राम्रो हो कि त्यतिबेलाको राम्रो तथ्य भिडाएर हेर्न आग्रह गरे । ओलीले ३ वर्षअघि सरकार छोड्दा वैदेशिक व्यापार घाटा १३ हजार ९८१ रहेकोमा आज १३ हजार ४४ को हाराहारीमा रहेको उनले उल्लेख गरे । उनले त्यतिबेला व्यापार घाटा थियो कि अहिले छ तथ्याङ्कमा हेर्न आग्रह गरे ।

यस्तै त्यतिबेला पुँजीगत खर्च ५७ प्रतिशत रहेकोमा आज ६० प्रतिशत पुँजीगत खर्च भएको तथ्याङ्क रहेको भन्दै भावनाको भाषणले तथ्याङ्कलाई बंग्याउन नहुने उनले बताए । प्रधानमन्त्रीले निराशाको कुरा गरेपनि नेपालको अर्थतन्त्र बिस्तारै लय पक्रँदै अघि बढेकोले सकारात्मक रूपमा लिनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank