राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि हट्दैन : केपी ओली

दलित अनलाईन २० असार २०८१, बुधबार १७:५६

काठमाडौँ  — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठुला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन्।

रासससँगको अन्तर्वार्तामा अध्यक्ष ओलीले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ। हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो। मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ।’

मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठुला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पारे।

उनले राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने बताए। एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्ग प्रशस्त गरेको र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि नहट्ने उनकाे भनाइ छ।

‘विनाशकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनः निर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन। हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ। आवश्यक परेमा सबैसँगै आउनुपर्छ। विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो’, उनले स्मरण गरे।

अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेका छन्। यसका लागि नेपालको परिवर्तनका संवाहक रहेका तीन ठुला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थायित्व दिने प्रयोजनका लागि आवश्यक संवाहकको पहल किन नगर्ने भन्ने प्रश्नमा अध्यक्ष ओलीले सो जवाफ दिए।

उनले भने, ‘एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी हो, मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ। यसका लागि अग्रसरता लिने पक्षमा एमाले छ।’

उनले पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली आफूहरूले रोजेर ल्याएको भन्दै याे प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिने बताए।

‘संविधान साध्य होइन, साधन हो। देश र जनताको सुख र समृद्धि साधन हो। हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ। साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ। हामीबिच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो। संवादबाट सहमतिमा जान सकिन्छ। साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ’ अध्यक्ष ओलीले भने ‘फेरि पनि संवाद आवश्यक छ। सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ। पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ। त्यसकारण सहमति हुन्छ। कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ।’

एकप्रश्नमा उनले आफूहरूलाई सरकारमा बसेर जनतालाई कुनै पनि उपलब्धि दिन नसक्ने छुट नभएको जवाफ दिए। सरकारमा देशको विकास गर्न तथा जनतालाई सुविधा दिनका लागि जाने हो। जनतालाई सेवा सुविधा दिन हो। तर कसै कसैका लागि मात्र हुनेगरी काम गर्ने छुट हामीलाई सरकारमा बसेर नहुने उनको भनाइ थियो।

अध्यक्ष ओलीले भने, ‘जनताका समस्या सम्बोधन गर्न नसकेमा हामी सरकारमा बस्नुको औचित्य के हुन्छ र? देश र जनताका समस्या सम्बोधन गर्न नसकिए कुनै पनि सरकारको अर्थ छैन।’

उनले संविधानले परिकल्पना गरेको प्रणालीको विकास र कानुनी निर्माण गर्नुपर्ने अवस्थामा आफूहरूले मिलेर जाऊँ भनेर कांग्रेससँग प्रस्ताव गरेको टिप्पणी गरे। यसमा कांग्रेस पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ।

‘लोकतन्त्रका आधारभूत प्रश्नमा हामी एक ठाउँमा छौँ र हुनुपर्छ। यो प्रणाली हामीले लडेर र रोजेर ल्याएको हो। यसलाई बलियो बनाउनुपर्छ। कार्यान्वयनका क्रममा स्थितिमा संविधान संशोधन पनि गर्नुपर्ने हुन्छ। किनभने चरम दबाबका बिच हामीले संविधान ल्याएको हो’, अध्यक्ष ओलीले भने, ‘संविधान नल्याउँदा नेपाल अराजकतामा फस्न सक्ने थियो, त्यसकारण कतिपय कमीकमजोरीका बिच हामीले संविधान ल्यायौँ। जनतालाई केन्द्रमा राखेर यसको सफल कार्यान्वयनका लागि हामीहरू संवाद र सहमतिमा लाग्नुपर्ने हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank