अब बन्ने सरकारमा हामी जाँदैनौँ: रास्वपा

दलित अनलाईन १९ असार २०८१, मंगलवार १२:४६

काठमाडौँ  — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब बन्ने सरकारमा सहभागी नहुने बताएकाे छ। मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रमुख सचेतक सन्तोष परियारले अब बन्ने सरकारमा सहभागी हुन नसक्ने बताएका हुन्।

‘पछिल्लाे समयमा जे भएकाे छ (नयाँ गठबन्धन), याे देश र जनताकाे हितमा छ भन्ने हामीलाई लाग्दैन। यसले राजनीतिक स्थायित्व दिन्छ भन्ने लाग्दैन। उनले भने, अब बन्ने गठबन्धनमा हामी रहँदैनाैैँ अब हामी सरकारमा जाँदैनाैँ।’

अर्काे सरकार बन्ने प्रक्रिया अघि बढेपछि रास्वपा सरकारबाट बाहिरने उनले बताए। ‘अहिले सबै एक खालेकाे अनुमान र आधिकारिक केही प्रक्रिया अगाडि नबढिसकेकाे हुँदा सरकार परिवर्तन गर्ने, सरकार अर्काे बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वभाविक रूपमा बाहिरन्छाैँ’, परियारले भने।

आफूहरूले विगतमा राजनीति स्थायित्वका लागि प्रयास गरेकाे भन्दै उनले भने, ‘नेपालकाे राजनीतिमा याे खालकाे अस्थिरता, याे खालकाे चलखेलहरू निरन्तर भइरहेकाे छ। त्याे नहुनु पर्थ्याे। त्याे नहाेस् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीकाे चाहना पनि हाे। हाम्राे प्रयास पनि सधैँ रह्याे। विगतमा पनि हामीले स्थायित्वका लागि प्रयासहरू गर्याैँ।’

सोमबार मध्यराति काँग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भइसकेको छ। त्यसपछि आज मंगलबार सबै दलका बैठक बसिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank