सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो : राष्ट्रपति

दलित अनलाईन २० पुष २०८०, शुक्रबार १५:१९

डुम्रे (तनहुँ)  — राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन्।

भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै आज राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका नेपालीहरु आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने अवस्था रहेको गुनासो गरे।

‘अबका दुईचार वर्षमा यी सबै गाउँमा कालोपत्र सडक पुर्‍याउन हामी लागेका छौँ। म भन्छु, त्यो पनि पूरा गरिन्छ। तर समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन्?’, राष्ट्रपति पौडेलले भने, ‘विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने हाम्रो हालत छ। आखिर किन भयो यस्तो रु यो प्रश्न म आफँैसँग गरिरहेको छु। उत्तर पनि मसँगै छ। गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था बन्न सकेन।’

राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रमशक्तिको पलायन भएको उल्लेख गरे। ‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरी मेरा प्रशंसाका पात्र हुनुहुन्छ। यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर पसे। उतै बस्नु भयो। गाउँको समस्या यही हो। अब आज देशको समस्या प्रतिभा पलायन, श्रमशक्तिको पलायन मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ’, उनले भने।

राष्ट्रपति पौडेलले आफूले पहिलोपटक चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाउँमा नै बसौँ बसौँ बनाउँछु भनेको स्मरण गरे। आफूले ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर गाडी र स्वास्थ्यचौकी अनि सातौँ विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको उनको भनाइ थियो। उनले अहिले सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताउनुभयो। उनले गाउँमा सबै विकास र सुविधा पुगे पनि गाउँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गरे।

राष्ट्रपतिमा निर्वाचित भएपछि दोस्रोपटक गृहजिल्ला पुग्नुभएका राष्ट्रपति पौडेलले आफूले बैदी–छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही विषयमा आज पनि उभिएको स्पष्ट पारे। उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अबको  शिक्षा पनि यिनै विषयमा केन्द्रित हुनुपर्ने धारणा राखे।

राष्ट्रपति पौडेलले भने, ‘हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, विविधता छ। त्यसलाई हामीले चिन्न सकेनौँ। हामी फोस्रा नारामा बढी बहकियौँ। कुन उचाइ र कुन पाटोमा के उब्जनी हुन्छ रु त्यो ठम्याएर खेती गरौँ। जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गर्नु जरुरी छ।’

उनले हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारको विकास गरे गाउँमै रोजगारी र आम्दानी आउने बताए। पौडलले भने, ‘हिमालबाट उर्लेर बग्ने हाम्रा नदीनालाबाट हजाराैं मेगावाट ऊर्जा उत्पादन गरी छिमेकमा समेत बिक्री गरौँ, हामी यहीँबाट धनी हुन्छौँ। आफ्नो परिवार तड्पाएर विदेशतिर भौतारिन पर्दैन। आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन। आफैँले आफैँलाई चिनौँ–गाउँमुखी बनौँ–नेपालमुखी बनौँ, हाम्रो स्कुलमा पढाउने यही नै हो असली राष्ट्रवाद।’

राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङ्गीण विकासको आधारशिला भएको बताउँदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे। उनले भने, ‘सीपविना तथा आचरणविनाको नागरिकबाट देश समृद्ध हुन सक्दैन। सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि गरी  सीपवान् र शीलवान् नागरिक बनाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्ने मलाइ लाग्छ।’

सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेशको मागअनुरुपको शीक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरुपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank