काठमाडौं —पाल्पाको वगनासकाली ६ यम्घाका खिमबहादुर विश्वकर्माले बाली उठाउन छोडेको पाँच वर्ष भयो । खिमबहादुरले चापपानी—तानसेन सडकखण्डको छेवैमा घरेलु उद्योग सञ्चालन गर्न थाल्नुभएको छ । “हजुरबुबाको पालादेखि बालीघरमा काम गथ्र्याै, बुबाको निधनपछि छोडियो”, खिमबहादुर भन्नुहुन्छ, “अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौंँ ।” गाउँघरमा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बञ्चरो जस्ता कृषि औजार तथा हतियारमा धार लगाउने जस्ता काम बालीघरे प्रथा अनुसार हुँदै आएका थिए ।
वर्षभरि औजारमा धारलगाएबापत दुई–तीनपाथी धान, चामल, मकै, कोदो लगायतका अन्न घरघर पुगेर उठाउँदै आउनुपरेको थियो । “आँगनको डिलमा बसेर अन्न माग्नुपथ्र्यो”, खिमबहादुर विगत सम्झँदै भन्नुहुन्छ,“माग्न आयो जस्ता शब्द प्रयोग गर्थे ।” श्रम गरेर पनि मगन्ते हुनुपर्दा दुःखलागेको खिमबहादुर सुनाउनुहुन्छ । उहाँले गएको वर्षदेखि मासिक रु एक हजार पाँच सय तिर्नेगरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँले काँचो फलाम खरिद गरी सीपको प्रयोगबाट नयाँ कृषि औजार र हतियार बनाउने गर्नुहुन्छ ।
यहाँबाट हँसिया, कुटो, कोदालो, बञ्चरो, खुँडा, भाला जस्ता फलामका औजार तानसेन, बुटवललगायतका बजारमा बिक्री हुँदै आएका छन् । बगनासकाली– ९ चापपानीका टेकबहादुर विकले पनि बालीघरे प्रथा हटेपछि आरन पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउन थाल्नुभएको छ । विगत १६ वर्षदेखि फलामका घरेलु हतियारको काम गर्दै आउनुभएका टेकबहादुर दैनिक फलामका घरेलु हतियारमा धार लगाउने र नयाँ औजार बनाउने गर्नुहुन्छ । मासिक रु ३५ हजार देखि ५० हजार सम्मको कारोबार गर्ने उहाँले बनाएका खुँडा, भाला जस्ता हतियार चाडवाडमा पशु बध गर्नका लागि विभिन्न क्षेत्रमा बिक्री हुने गरेका छन् । “दसँैमा मात्रै रु ५० हजारको बेचे, मन्दिर, कोटघर र घरायसी प्रयोगमा बढी बिक्री हुन्छ”, टेकबहादुर भन्नुहुन्छ, “१७ वर्ष हली भएर गोरु जोते, आरनलाई व्यावसायिक गर्न थालेपछि राम्रै कमाइ भएको छ, छोरोछोरी पढाउन समस्या परेको छैन् ।” गाउँघरमा घाँस काट्ने हँसिया, धान काट्ने दँतिया, कोदालो, कोदाली, बञ्चरो, खुँडा, भालालगायत कृषि औजार र घरेलु हतियारको बढी प्रयोग हुँदै आएका छन् ।
जिल्लाको बगनासकाली, रिब्दीकोट, तिनाउ, रैनादवी गाउँपालिका लगायतका स्थानीय तहले परम्परागत आरनलाई व्यावसायिक बनाउन सहयोग गरेका छन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार स्थानीय तहले ‘ग्रेन्डर’, ‘वेल्डिङ’ जस्ता सामग्री र व्यवसाय स्थापना गर्न जस्ता पाता सहयोग गरेका छन् ।
परम्परागत आरनमा लागत मूल्य बढीपर्ने हुँदा फलाम काट्न र जोड्न सजिलोका लागि मेसिनरी सामग्री सहयोग गरिएको अध्यक्ष चिदीको भनाइ छ । यहाँका ३० बढी परिवारले परम्परागत आरन पेसा गर्दै आएका छन् । उनीहरुमध्ये २० जनाले व्यावसायिक घरेलु उद्योगको रुपमा आरन सञ्चालन गर्न थालेका छन् । तानसेन तथा बुटवल जस्ता सहरबाट कच्चा सामग्री ल्याएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
Leave a Reply