बगेको छ रातो रगत उस्तै
सग्लो छु दुरुस्तै
बोल्छु उस्तै,खान्छु उस्तै
हिँड्छु उस्तै, पिउँछु उस्तै
खोइ ! किन हो ?
`अछुत´ भन्छन् मलाई
`कुजात´ भन्छन् मलाई ।
`छुत´भनिएका उनिहरू
र `अछुत´ झ भनिएको मञमा के छ बेमेल त्यस्तो ?
अछुतकै जस्तो हाडछालाले बनेका ए छुतहरू हो !
अछुतले सिलाएका वस्त्रले तिम्रो लाज ढाकिएको छ
अछुतले बनाएका गहनाले तिम्रो सान बढाएको छ
अछुतले बनाएका कुटोकोदालोले तिम्रो भुमि उर्बर छ ।
तारनधरनमा अछुतद्वारा निर्मित सुनको मुर्ती चाहिन्छ
चोखिनु,चोख्याउनु परे अछुतले नै छोएको सुन चाहिन्छ
खोइ ! कहाँ छ छुत र छुतको भेद ?
अछुतले झुक्किएर छोए,
अछुतले नै बनाएको गहनाले चोखिन्छ छुत
तर ! अछुतले छोएको पानी बन्छ अछुत ?
अहङ्कार र अभिमानले निर्लज्ज उभिएको,
सर्वाङ्ग नाङ्गो ए कथित छुत !
ढङ्ग नमिलेको यो अहङ्कारलाई के संज्ञा दिउ ?
भन् त,
खोइ कुनकोणबाट अछुत देखिन्छौँ हामी ?
खोइ कुन कोणबाट छुत देखिन्छौ तिमी ?
ए अहंकारी, विवेकहीन कथित छुत !
अछुतको स्पर्शमा निहित छौ तिमी
तिमीसङ्ग सङ्गै घर भित्र बाहिर गरिरहेका छौं हामी,
हेर त –
तिम्रो वस्त्रमा छौं
तिम्रो श्रृङ्गारमा छौं
तिम्रो अनाजमा छौं ।
तिमीले देखेका छैनौं,
वा तिम्रो अहंकारले देख्न दिएको छैन ?
अहंकारको पट्टि फुकाएर
एैना अगाडी उभिएर
मनको आँखाले तिमी आफैंलाई
नियाल एकपटक
देख्यौ होईन ?
कहाँ देखि कहाँ सम्म छ हाम्रो स्पर्श ?
तिमीले पहिरिएका लवेदासुरुवालमा
तिमीले लगाएका ढुङ्ग्री बुलाकीमा
तिम्रो खलिहानका कुटो कोदालोमा ।
छोएको छैन मैले तिमीलाई
बरु तिमीले अङ्गालेका छौ मलाई
सुम्सुम्याएका छौ।
कारण सहित खुलस्त पार अब,
के कारणले म अछुत कहलिएँ ?
मलाई थाहा छ,
तिम्रो मस्तिष्कमा `डोपामाइनको´मृत्यु भइसकेको छ
मृत इन्द्रियले व्यबहार र संवेदनाको
प्रादुर्भाव सोच्न सक्दैन ।
बुझ्नै सकिन मैले,
खोइ ! कस्तो चर्को इवि छ तिमी जस्तै मानिस प्रती तिम्रो ?
मरे पछी तिमी पनि उहि माटोमा घुल्छौ
जुन माटोमा म घुल्छु ।
अछुतको कलाले गुप्ताङ्ग छोपेर नाङ्गिएका
ए कथित छुतहरू हो !
प्रयोग गर्दैनौ भने
– अछुतको सिलाई शिल्प
– अछुतको आरन शिल्प
सक्छौ भने निर्वस्त्र हुन
स्वीकार्य छ अछुतलाई
– अछुत हुनुमा
– कुजात कहलिनुमा ।
केवल एउटै प्रश्नको उत्तर देउ –
सक्छौं निर्वस्त्र हुन ?
Leave a Reply