गैरदलितले जात व्यवस्था नमान्ने हो भने छुवाछुत तथा दलितमाथि हुने भेदभाव नै रहँदैन । हेर्दा सरल र साधारण लाग्ने तर व्यवहारतः अत्यन्त कठिनदलित–गैरदलितबीचको उचनिच, छोइछिटा अझ भनौं जातकै आधारमा निकृष्ट व्यवहार गर्ने अभ्यास नेपाली समाजमा निकै जब्बर छ । पछिल्लो समयमा गैरदलितहरूले दलितमाथि भएका घटनाहरूको विरुद्ध प्रतिरोध गरे पनि यो अवस्था ‘समुद्रमा एक थोपा पानी खसाले’जस्तो नगन्य प्रायः छ ।
हजारौं वर्षदेखिको विभेदको दलनको प्रतिरोधमा दलित समुदाय आन्दोलनमा उत्रिएको एक शताब्दी पुग्न लागेको इतिहासबाट तथ्य पत्ता लाग्छ । हजारौं वर्षदेखिको छुवाछुत, थिचोमिचो र श्रमबाट विभाजन गरी त्यही श्रमबाट ‘शुद्र’मा कहलिएका दलितहरूलाई मानवोचित व्यवहार, समाजमा मानव भएर बाँच्ने अधिकार न त दलितका पुराना पुस्ताले पाए न त अहिलेको पुस्ताले पाउने वातावरण बनेको छ । यो कुप्रथालाई अन्त्य गर्नमा गैरदलितको भूमिका सांगठनिक तथा सामूहिक प्रतिबद्धता जति हुनुपथ्र्यो, त्यो कहिले पनि दलित समुदायले पाउन सकेन । त्यसको निरन्तरता हालसम्म पनि जारी छ ।
२१ औं शताब्दी भनिए पनि सूचना प्रविधि, आर्थिक रूपमा विश्वले नै फड्को मारेको चित्रण, व्याख्या हुँदै गर्दा आफ्नै समुदायभित्रका दलितहरूमाथि हुने विभेद ज्यूँका त्यूँ छ । यसलाई न्यूनीकरण गर्न र यो कुप्रथा नहटाउन गैरदलितहरूले साँधेको मौनता खेदजनक देखिन्छ । सतहमा विभेद, छुवाछुत छैन भनिए तापनि सबै समान भइसक्यो अनि मुलुकको मूल कानून संविधानले समेत छुवाछुतलाई वर्जित गरेको छ भनिए पनि (यद्यपि दलितभित्र) जातको जाँतोमा दलित समुुदाय प्रत्यक्ष रूपमा पिल्सिरहेका छन् ।
सयौं वर्षदेखि केवल श्रम र त्यसका आधारमा पछाडि झुन्डिएको थरका कारण गरिने विभेद निर्मूल पार्न गैरदलितहरूले न त सामूहिक प्रयास गरे, न सांगठनिक रूपमा प्रतिरोध गरेका छन् । यद्यपि औंलामा गन्न सकिने व्यक्तिहरूले दलितमाथि हुने छुवाछुत तथा विभेदको खुलेर प्रतिवाद भने गर्दै आएका छन् । महाकवि लक्ष्मिप्रसाद देवकोटाको चर्चित पुस्तक मुनामदनमा ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने उल्लेख गरेर साहित्यबाट विभेदको प्रतिरोध गरेको देखिन्छ भने २००६ सालमा लमजुङको साविकको दुराडाँडा गाविस–६ अर्चल्यानीका बाहुनहरूले सामूहिक रूपमा हलो जोतेर प्रतिरोध गरेका थिए ।
राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राह्मणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जनाले पहिलो पटक हलो जोतेका थिए । राणाकालमा ब्राह्मणको घरमा खेतीपातीका लागि दलित समुदायलाई हलो जोत्ने काममा राखिन्थ्यो । ‘हलो जोतेर परिवर्तनको सन्देश दिनुपर्छ’ भनेर लमजुङको दुराडाँडामा ब्राह्मणहरूले हलो जोतेका थिए । ‘दलितले छोएको अनौ समातेको’ भन्दै गाउँमा छिःछिः र दुर्दुर् गर्दै झ्याली पिट्दै उनीहरू ‘दलित’ सरह भएको घोषणा गाउँलेले गरेका थिए (शान्ता कमली–नयाँपत्रिका) ।
यो अवस्था अहिले पनि जारी छ । सीमित गैरदलित प्रतिरोधमा उत्रिएर जात व्यवस्था र छुवाछुत गलत हो भने पनि त्यही गैरदलित समुदायको बहुसंख्यकले उनीहरूलाई बहिष्कार गर्दा खुलेर प्रतिरोध गर्न नसकेको पनि देखिन्छ । उदाहरण– छुवाछुतमुक्त समाज निर्माणका लागि प्रदेश १ को खोटाङमा सहभोज गर्दा दलितले छोएको दही खाएको निहुँमा दिक्तेलका ७७ वर्षीय टंकप्रसाद आचार्यलाई त्यस समाजका गैरदलितले सामाजिक बहिष्कार गरेका थिए । गैरदलित प्रतिरोधमा उत्रिँदा त्यही समुदायले बहिष्कार गर्ने डरमा बोल्न, विरोध गर्न चाहनेहरू पनि चुप लागेको देखिन्छ । यद्यपि प्रतिरोध गर्नुको विकल्प गैरदलितहरूमा छैन ।
दलितमाथि हुने विभेदका विरुद्धमा एकल गैरदलितको प्रतिरोधले असर नै गर्दैन । बरु त्यो गैरदलित नै बहिष्करणमा परेको उदाहरण धेरै पुरानो छैन । अहिले पछिल्लो पुस्ताहरू पनि खुलेर दलितहरूमाथि भएका विभेदका विषयमा बोल्न, लेख्न, दलित आन्दोलनमा सरिक हुन थालेका छन् । नेपालमा अधिकांश मिडियाहरूमा वर्चस्व राख्ने गैरदलितहरूले दलितका मुद्दालाई सकारात्मक रूपमा उठाएर प्रतिरोध गरेको देखिन्छ । समकालीन लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला, युग पाठक, राजेन्द्र महर्जन, सरिता तिवारी, संजीव उप्रेती, उज्ज्वल प्रसाईंलगायतले दलितमाथि भएका विभेदको प्रतिरोध गर्दै लेखरचनाहरू प्रकाशित गर्दै आएका छन् ।
गैरदलितहरूले छुवाछुत तथा विभेद जस्ता जघन्य अमानवीय व्यवहारप्रति मौनता साँध्दा, आफ्नो सरोकारको विषय नै होइन जस्तो गरी प्रस्तुत हुँदा छुवाछुत अन्त्यको दूरी घट्नुको सट्टा बढेको छ । समयले नै परिवर्तन गराउँछ, एकैपटक सम्भव छैन, समय पर्खिनुपर्छ भन्ने गौण विषयलाई अघि सार्दै विभेदलाई नै साथ दिएको देखिन्छ । अर्काेतर्फ यो ‘मेरो’ चासो र सरोकारको विषय नै होइन भनेर मौनता साँधेर बसिदिने प्रचलन अधिक देखिन्छ । नेपाली समाजमा हजारौं वर्षदेखि संस्कारकै रूपमा विकसित भएको यो विभेदको प्रतिरोध गर्ने सामथ्र्य दलितहरूमा केही दशकदेखि उजागर भए पनि गैरदलित भने (अपवादबाहेक) मौनता साँधेर बसेको देखिन्छ ।
लेखक तथा विश्लेषक उज्ज्वल प्रसाईं दलितहरूको आन्दोलन भनेको दलितहरूको मुक्तिको कुरा मात्रै होइन, यो गैरदलितहरूको मुक्तिको कुरा पनि रहेको बताउँछन् । किनभने गैरदलितले जात व्यवस्था नमान्दा त, दलित आन्दोलन आवश्यकता नै पर्दैन, गैरदलितले जात व्यवस्था अंगीकार गरेकोले, जात मानेको भएर, जातअनुसारको गतिविधि, मानसिकता, त्यहीअनुसारको व्यवहार गर्ने भएकाले विभेद भएको उनको धारणा छ । त्यसकारण दलितहरूले उठाएको तथा प्रतिरोध गरेको विषय दलितहरूको मुक्तिको कुरा मात्रै नहुने उनको बुझाइ छ । उनी भन्छन्, ‘यसबाट गैरदलित पनि मुक्त भएर जात नमान्दा स्वाभाविक रूपमा दलित स्वतः मुक्त हुन्छ ।’
२१ औं शताब्दी भनिए पनि सूचना प्रविधि, आर्थिक रूपमा विश्वले नै फड्को मारेको चित्रण, व्याख्या हुँदै गर्दा आफ्नै समुदायभित्रका दलितहरूमाथि हुने विभेद ज्यूँका त्यूँ छ ।
गैरदलितले दलितहरूको आन्दोनलनलाई ‘मेरो’ आन्दोलन भनी स्वीकार गर्न सक्नुपर्छ । यद्यपि गैरदलितले प्रतिरोध गरेको ठूलो र प्रशंसनीय काम निकै नै कम भएको उनको धारणा छ । कसैकसैले व्यक्तिगत रूपमा आन्दोलनलाई सघाएको, राजनीतिक नेतृत्व, सामाजिक अभियन्ताहरूले ठाउँठाउँमा केही काम गरेका हुन सक्छन् । ‘तर, गैरदलितहरूबाट सामूहिक रूपमा, सांगठनिक रूपमा ठूलो काम भएको जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘गैरदलितहरूले दलितहरूका विषयमा लेख्ने गरेका छन्, नवराज विक, अंगिरा पासीको निधनपछि पनि गैरदलितहरूले आफ्नो ठाउँबाट सकेको विरोध, प्रतिरोध गरेको देखिन्छ ।’
अखबारहरू, विभिन्न जर्नलहरूमा गैरदलितहरूले बोलेको लेखेका कुराहरू प्रशंसनीय नै देखिन्छन् । दलितहरूकै नेतृत्वमा भएको आन्दोलनको पछिपछि सहयोगी बनी हिँड्ने, उनीहरूको सामथ्र्य बढाउने, आन्दोलनमा सदाशय राख्ने र आन्दोलनबाट गैरदलितले पनि सिक्नुपर्ने उनी बताउँछन् । ‘पहिलो कुरा त दलितहरूले उठाएको मुद्दालाई, उनीहरूको संघर्षलाई बुझ्न, नियाल्न र अनुभूति गर्न सक्नुपर्छ,’ उनले भने, ‘अर्काे भनेको गैरदलितले आफूले कस्तो भूमिका र कस्तो ठाउँबाट उनीहरूको आन्दोलनलाई सघाउन सकिन्छ भनेर हेर्नुपर्छ, न कि आफै जानेको छु भनेर नेतृत्व लिनुपर्छ ।’
गैरदलितले आफ्ना कुराहरू अघि सार्ने, नेतृत्व लिनेभन्दा पनि दलितको अगुवाइमा भएका आन्दोलनको सामथ्र्य बढाउनका लागि सघाउन सकिन्छ । दलित आन्दोलन किन भइरहेको छ ?, जात व्यवस्था के हो र कहाँबाट आयो ?, जात व्यवस्था मान्छेले नै निर्माण गरेको कुरा हो र यसलाई मान्छेले नै निमिट्यान्न पार्न सक्छ र जातबाट निस्कियो भने गैरदलितहरूलाई पनि शान्ति हुन्छ भने अर्काेतर्फ जातकै कारण सँगै खाने, बस्ने, बिहेवारी गर्ने जस्ता विषयमा व्यवधान खडा गरेको छ । यी कुराहरूको अनुभूति गैरदलितहरूले गर्नुप¥यो । यो अनुभूति गर्नकै लागि दलितहरूले के भन्दै छन्, किन मुद्दा उठाइरहेका छन्, किन आन्दोलन गरिरहेका छन्, त्यसलाई बुझ्न जरुरी छ भने यी कुरा बुझ्न कान, आँखा खुला राख्नुपर्छ । भइरहेको कुरा के हो, उठिरहेको कुरा सुन्ने, बुझ्ने र आफ्नो ठाउँबाट गर्न सक्ने कार्य गरेर आन्दोलनलाई गैरदलितहरूले प्रतिरोध गर्नुपर्छ ।
गैरदलितले आफ्ना जीवनका महत्वपूर्ण कुराहरू विवाह, साथी बनाउने, हाम्रा परम्पराहरू, कर्मकाण्डहरूमा हुने विभेदका विषयमा निर्णायक भूमिका खेल्नुपर्छ भन्दै उनले भने, ‘तब मात्रै जातका आधारमा हुने विभेद, छुवाछुतबाट मुक्तिको यात्रा सम्भव हुन्छ ।’ लेखक तथा अभिवक्ता सरिता तिवारी समाजमा दलित र गैरदलितको वर्गीकरणले बाहिरबाट हेर्दा दलित पीडित र गैरदलित पीडक देखिएको बताउँछिन् । यस्ता विभेदले गैरदलितलाई अमानवीय नै बनाइराख्ने नै भन्दै उनले भनिन्, ‘दलित मुक्ति र समतामूलक समाज निर्माण गैरदलितको सरोकारका साथसाथै चासोको विषय पनि बन्नुपर्छ ।’ दलितले मात्रै प्रतिरोध गर्ने तर गैरदलितले मेरो विषय नै होइन भनेर बस्दा समाज परिवर्तनशील हुँदैन भने अर्काेतर्फ गैरदलित पीडककै चरित्रमा रहिरहन्छन् भन्ने धारणा उनको छ ।
अहिलेको संरचनागत तहबाट फड्को मार्न गैरदलितको प्रतिरोध आवश्यक हुने उनको तर्क छ । गैरदलितले विवेक पु¥याएर अघि नबढ्ने हो भने दलितबाट हुने प्रतिरोधले निम्त्याउने जुनसुकै अवस्थाले समाज र देशमै अशान्त वातावरण हुन सक्ने उनी बताउँछिन् । पछिल्लो समय लोकतन्त्र, गणतन्त्रको आन्दोलन सफल भइसकेपछि पनि दलितहरूमाथि भएका घटनाक्रमहरू नरोकिनु, दोहोरिरहनु र विभेदसम्बन्धी घटनाहरूको पराकाष्ठा नै भएको उनको बुझाइ छ । नवराज विश्वकर्मा, अंगिरा पासी, शम्भु सदालगायतमाथि अमानवीय क्रूर व्यवहार भयो । ‘पहिला पहिला त, यस्तै हुन्छ, भनेर यस्ता कुराहरू बाहिर आउँदैनथे,’ उनले भनिन्, ‘यस्ता प्रकरणहरू बाहिर आएपछि दलित भएकै कारण थप उत्पीडन भयो भनेर गैरदलित (हामी)हरू र दलितहरू (स्वयम्) प्रतिरोध ग¥यौं, लेख्यौं, बोल्यौं, यो कुराको तरंग अहिले भइरहेको छ ।’
गैरदलितहरूले प्रतिरोध गर्दा अहिलेको अहिले विभेद तथा छुवाछुत कहाँ हट्छ, समय लाग्छ भनेर बस्नेहरूलाई पनि यी कुराले सोच्न बाध्य पारेको उनको भनाइ छ । दलित लगायतका साथै गैरदलितहरूको पनि प्रतिरोधका कारण केही सकारात्मक कुराहरू देखिए पनि यो पर्याप्त भने छैन । पहिला मिडियाहरूमा सानो कोलमका समाचार आउने गरे पनि अहिले दलित भएकै कारणले हिंसा, विभेद भयो भनेर आउने गरेको भन्दै उनले भनिन्, ‘म आफै कोलम लेख्छु, भने मिडियाहरूमा पनि विभेद गलत हो भन्ने सोच भएका मानिसहरू आएका छन् ।’
यो समाज शोषणरहित, विभेदरहित हुने र आफूलाई समातावादी भन्ने हो भने सबै मुद्दाहरू मेरो पनि हो भन्नेहरूको पंक्ति पहिलाभन्दा बढेको उनको धारणा छ । ‘मेरो घरमा पनि प्रतिरोध गरेकी छु,’ तिवारीले भनिन्, ‘कसैले पनि हात नउठाई, सिंको नभाँची केही हुनेवाला छैन, हामीले घरभित्रै आफ्ना तथा आफन्तहरूसँग एक तहको लडाइँ आफै गर्नु परिरहेको छ, उनीहरूले पनि यो त कानुनविपरित र दण्डनीय रहेछ भन्ने हेक्का राख्न थालेका छन् ।’ एक पटक बोलेर, मौनता साँधेर दलितमाथि भएका विभेदविरुद्धको प्रतिरोध साम्य नहुने भएकाले पटक–पटक बोलिरहनुपर्ने र विभेदविरुद्ध गैरदलितले प्रतिरोधको अंशलाई बढाउनुपर्ने उनी बताउँछिन् ।
अहिले भएका घटनाक्रम त परिणाम मात्रै हुन् । यो संरचनागत पक्ष भएकाले इतिहास जोडिन्छ । गैरदलितहरूले विभेदको जरो पहिल्याउन पनि जरुरी भएको उनले बताइन् । शासकहरूले श्रमको काम गर्नेहरूलाई अछुतको दर्जामा राखेर आफू अनुकूल समाज बनाई दण्डित गर्नका लागि मात्रै हो भन्ने कुराको तथ्यको भेद गैरदलितहरूले छुट्याउनुपर्छ । अर्काेतर्फ संघ, वडा तहदेखि व्यक्तिको घरभित्रसम्म विभेद उन्मुलनका लागि राज्यबाट नै ठोस योजनागत प्रतिबद्धता पनि आउनुपर्ने उनको सुझाव छ ।
दलित मुक्तिका लागि गैरदलितको हात र साथ नभएसम्म र उनीहरूले खुलेर प्रतिरोध नगर्दासम्म दलित आन्दोलनले पूर्णता पाउँदैन । आर्थिक, सामाजिक र राजनीतिक रूपमा दलितहरू सशक्त हुँदा विभेदका घटनाहरू कम होला तर यसलाई ‘सती प्रथा’ जस्तै निर्मूल पार्न भने गैरदलितहरूले सामुहिक तथा सांगठनिक रूपमा प्रतिरोध गर्न जरुरी छ । गैर दलितको एकल प्रयास होइन, बहुमतबाटै यो कुप्रथालाई हटाउन प्रतिरोध गरे हाम्रै पालामा समाज छुवाछुतमुक्त बन्न सक्छ । यसलाई पुस्तान्तरण गरेर समयसँगै जात व्यवस्था र छुवाछुत हट्छ भनेर कुर्न जरुरी छैन । हालसम्म आउँदा राजनीतिक, सडक, समाज, मिडिया, सामाजिक सञ्चालन, संघसंस्थाहरू, अधिकारकर्मीहरू यसको प्रतिरोधमा लागेका छन् ।
नेपालको दलित आन्दोलनको इतिहासमा बागलुङका भगत सर्वजित विश्वकर्माले जातीय विभेद तथा छुवाछुत विरुद्ध पहिलो पटक प्रतिरोध गरेको पाइन्छ । उनले १९९७ ‘विश्व सर्वजन संघ’ नामक संस्था खोलेर आधुनिक नेपाली दलित मुक्ति आन्दोलनको सुरुवात गरेका थिए । उनले धर्मशास्त्रको आधारमा उत्पीडित समुदायलाई अछुत मान्न र भेदभाव गर्न नमिल्ने, यो समुदायले जनै धारण गर्न र शिक्षा आर्जन गर्न पाउनुपर्ने तर्क अघि सारेका थिए । यही संस्थाको अगुवाइमा उत्पीडित समुदायको निम्ति पहिलोपटक बागलुङमा विद्यालयसमेत खोलिएको थियो । हालसम्म सोही विषयलाई दलित सवालको पहिलो आन्दोलनको रूपमा मानिँदै आएको छ । उनले १९७०-८० को दशकमै प्रतिरोधका क्रियाकलापहरू गरेको बताइन्छ । त्योअनुसार अहिले दलित आन्दोलनको इतिहास १ शताब्दी पूरा गरेको छ । तर, त्यसमा गैरदलितहरूको प्रतिरोधको केही दशक पार गरे पनि नगन्य नै छ । गैरदलितहरूले साँधेको मौनतालाई नतोडेसम्म र उनीहरूको सामूहिक, संगठनात्मक रूपमा र उनीहरूकै नेतृत्वमा समेत प्रतिरोध नहुँदासम्म समाजमा रहेको छुवाछुत र विभेद अन्त्य हुन सक्दैन ।
(मार्च २१ को सन्दर्भमा राष्ट्रिय दलित आयोगको सहकार्यमा आरएम मिडिया हाउसले प्रकाशित गरेको प्रतिरोधको शतक विशेषांक दलित अनलाईनमा पढ्न सकिन्छ ।)
Leave a Reply