जातीयताले रोक्न नसकेको प्रेम

प्रकाश तिवारी ५ भाद्र २०७८, शनिबार १९:४२

आफ्नो लक्ष्यप्रति अटल मोहन शारदालाई प्रिय लाग्न थाल्यो । त्यस रात शारदा खाना खाएर ओछ्यानमा पल्टिएकी थिई, गजबको सपनादेखी ।
दुलही बनी सिँगारिएको । दुलहासँग माहुर चटाइ खेलेको । सपनाले सम्पूर्ण शरीरमा मृदु–झङ्कार छोड्यो । आँखा खुल्नेबित्तिकै उसले ऐनामा प्रतिबिम्ब हेरी । आफ्नो रूप आजभन्दा पहिले यति सारो प्यारो कहिल्यै लागेको थिएन उसलाई । उसले आफ्नो ओठमा म्वाइँ खाई । मनको भित्री कुनामा उमङ्गको लहर बेजोडले दौडिन थाल्योे । ऊ मुसुक्क मुस्कुराई । सपनाको बयान कोसित गरुँझैँ भयोे उसलाई ।
बिहान भयो । उसले मोहनलाई सम्झी । फोन गरूँ कि नगरूँ दोधार छायो । दोमनदोमन हुँदै उसले मोबाइल थिची । पहिलो घण्टीमा नै फोन उठ्यो ।
‘गुडमर्निङ शारदाजी !’
‘गुडमर्निङ सर !’
‘सबेरै फोन गर्नु’भो । खास केही थियो कि ?’
शारदा मौन रही ।
‘हेलो ! बोलेको सुन्नुभएन कि ?’
‘सुनेँ ।’
शारदा फेरि मौन भई ।
‘किन बोल्नुहुन्न त ?’
‘बोल्दै थिएँ आफैभित्र !’
‘सन्चो छैन कि ?’
‘ठीक छु, खुसी छु । आनन्दित पनि छु । तपार्ईंंसित पेटभरि कुरा गर्ने सोचमा छु !’
‘के कुरा ?’
‘आज शनिवारको दिन । फुर्सद कत्तिको छ ?’
‘तपार्ईंंका लागि फुर्सदैफुर्सद छ ।’ मोहनले हाँस्दै भन्यो ।
‘उसो भए दिउँसो बाह्र बजेतिर सदरमुकाम गेटमा भेटौँ न । बाँकी कुरा त्यही गरौँला ।’
‘हुन्छ शारदाजी !’

०००

शारदा सदरमुकाम जाने बसमा चढेकी मात्र के थिई । रमन टुप्लुक्क आइपुग्यो । ऊ शारदाभन्दा अघिल्लो सिटमा बस्योे । शारदाले देखेको नदेख्यै गरी ।
सदरमुकाम गेटमा शारदा र मोहनको भेट भयो । दुबै रेस्टुरेन्टभित्र छिरे ।
मोहनले दुई बोतल चिसो र एकएक प्लेट ममः मगायो । शारदा चुपचाप थिई ।
‘के सोच्दै हुनुहुन्छ शारदाजी !’
शारदा झसङ्ग भई ।
‘हँ.. क्यै हैन । मन आत्तिइरहेछ । मुटु जोडले धड्किरहेछ ।’ उसले भनी ।
‘म बुझ्छु तपार्ईंंका कुरा ।’
‘के बुझ्नु भो ?’
‘यही कि तपार्ईंं केही भन्न खोज्दै हुनुहुन्छ ।’
शारदाका परेली कहिले उठ्थे त कहिले झुक्थे । उठेका बेला दुई नजरको पेचिलो जम्काभेट हुन्थ्यो ।
‘लजाउनु भएजस्तो लाग्यो । मतिर हेर्नुस् न प्लिज !’
शारदाले परेली उठाएर हेरी तर सेकेन्डभरमै फेरि झुके ।
‘मैले तपार्ईंंको आँखाभित्र केही देखेँ शारदाजी !’
‘के देख्नुभो ?’
‘आफूलाई दखेँ ।’
‘मैले पनि तपार्ईंंको आँखामा आफूलाई देख्दैछु ।’
शारदा खुल्न थाली ।
‘मेरो आँखाको नानीमा तपार्ईंं देखिनु, तपार्ईंंको नानीमा म देखिनु तर भन्न नसक्नु…!’
‘यही कुरा गर्नका लागि तपाईंंलाई बोलाएकी !’
शारदाको मुटुको धड्कन शान्त हुँदै गयो ।
‘म तपाईंंलाई मनैमन प्रेम गर्छु ।’
‘म पनि तपाईंंलाई ह्रृदयदेखि प्रेम गर्छु ।’
‘त्यसो भए के हामी जीवनसाथी…?’
‘तर त्यो यात्रा बहुत कठिन हुनेछ । हाम्रो यात्रा सिसैसिसाको बगरबीच हुनेछ । मेरो पैतालामा भन्दा तपार्ईंंको पैतालामा धेरै घाउहरू लाग्नेछन् ।’
‘म घाउमा मलमपट्टी गर्दैै अघि बढ्नेछु ।’
‘अझै राम्ररी सोच्नुस् ।’
‘धेरै सोचेँ । सपनामा, विपनामा, एकान्तमा अनि मानिसै मानिसको समुद्रमा ।’ शारदाले भनी ।
‘निष्कर्ष फरक फरक आयो कि एउटै ?’
‘एउटै आयो । मनले भन्यो, जा मोहन नाम गरेको साहसी यात्रीको सारथी बन् । तेरो सहारा पायो भने ऊ अझै माथि पुग्नेछ । सगरमाथाको चुलीभन्दा पनि माथि !’
‘मलाई यति धेरै माया गर्नुहुन्छ ?’
‘हजुर ! मैले आज राती सपनामा..!’ शारदा लजाई ।
‘नलजाइ भन्नुस्, के देख्नुभो ?’
‘तपार्ईंं दुलहा, म दुलही भएको देखेँ !’
‘त्यसैले यति सारो लजाइरहनु भएको थियो ?’
‘एउटा अर्को कुरा भनुँ !’
‘भन्नुस् ।’
‘अब मलाई तपार्ईंं हैन तिमी भन्ने गर्नुस् । म तिमी शब्दमा धेरै स्नेह लुकेको पाउँछु !’
‘आजबाट तिमी भन्न सुरु गरेँ ।’
‘हाम्रो विवाह भयो भने रमन पागल हुन्छ ।’
‘त्यसको दिमाग चड्कोस्, बेजोडले पड्कोस् । त्यो पाजी त्यसैको लायक छ ।’ शारदाले भनी ।
‘आज पनि तिम्रा बुबालाई चाहिँदा नचाहिँदा कुरा सुनाउनेछ त्यसले ।’
‘अस्ति पाल्पाली ढाकाको तीन थान कपडा बोकेर बाआमा फकाउन आएको रच । शारदाजस्ती केटी पाए बिहा गर्चु पो भन्च । त्यो बाँदरसित मैले बिहा गर्ने रे !’
‘त्यसले फिल्मको खलनायकलाई मात दिने भो ! खलनायकहरू कागजी बाघ हुन् । चलचित्रको समाप्तिसँगै खलनायकको मृत्यु निश्चित छ ।’
‘प्यार किया तो डरना क्या !’ शारदाले भनी ।

०००

त्यसको केही दिनपछि स्थानीय पत्रिकामा सनसनीपूर्ण खबर छापियो–
‘विद्यालय दुई जोडी एक !’ खबरको हेडलाइन थियो ।
‘भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमले जातभात, ठुलो जाति, सानो जाति केही भन्दैन । यसको जल्दोबल्दो उदाहरण हुन् मोहन र शारदा । आजभोलि जनहित माविकी शिक्षिका शारदा र नयाँ किरण माध्यमिक विद्यालयको प्रिन्सिपल मोहनको रौँरौँमा प्रेमको अनौठो तुफान उर्लने गरेको छ । विश्वकर्मा पुत्र मोहन र ब्राह्मण पुत्री शारदाले एक होटलमा गरेको चुम्बनसहितको आपत्तिजनक कार्यको भिडियो हाम्रो संवाददातासँग सुरक्षित छ !’

खबर यत्रतत्र–सर्वत्र वायुवेगमा फैलियो । स्कुलको ठुलो बदनामी भएको कारण देखाउँदै प्रिन्सिपल बाबुरामले शारदासँग सोधपुछ ग¥यो । शारदाले समाचार सोह्रै आना झुटो भएको प्रतिक्रिया दिई ।
बिना खोज, अनुसन्धान एफएमहरूले समेत पत्रिकाको हवाला दिएर समाचार प्रसारण गरे । शारदालाई सफाइ दिन मुश्किल पर्न थाल्यो ।
‘पेसाको मर्यादा राखेर काम गर्नु पर्दैन ! नयाँ किरण विद्यालयमा जाने मन छ कि कसो हो ?’ प्रिन्सिपल बाबुरामले व्यङ्ग्य हान्यो ।
चिन्ताग्रस्त शारदा स्कुलबाट सिधै रुचिलाको घर पुगी । रुचिलाले एफएमबाट प्रसारित समाचार सुनिसकेकी थिई । उसले ढाडस दिई–
‘मोहनको बढ्दो सामाजिक प्रतिष्ठाबाट आत्तिनेहरूले यो हरकत गरेका हुन् । कुकुर भुक्तै गर्छ, हात्ती लस्किँदै गर्छ । विद्रोह गर्ने आँट छ भने अघि बढ् । परिवर्तनको बिगुल फुक्नेहरूलाई समाजले जैले पनि विद्रोही देख्छ । अपुच्छ बाँदरबाट विकसित हुँदै पूर्ण मानवको प्रादुर्भाव भएको होे भन्ने विकासवादी सिद्धान्त प्रतिपादन गरेकै कारण डार्विनले कति दुःख हन्डर खेपे । न्युटन, ग्याालेलियो आदि विद्रोही कहलाए ।’
‘जात, जात, जात ! मेरो त टाउको खाइसक्यो ।’
‘निराश नहो शारदा ! सबै मानिस एकै आमाका सन्तान हुन् । कसले के भन्च, बिर्सिदे । जसले जीवनभर सुख दिन सक्च भन्ने लाग्च, उसैसित बिहा गरे  ।’ रुचिलाले भनी ।
‘हामी अघि बढिसक्यौँ । मेरो र मोहनको विवाह रोकेर रोकिने छैन ।’
‘अगाडि बढ्, म तेरो साथमा छु ।’ रुचिलाले हिम्मत दिई ।

शारदा रुचिलाको घरबाट निस्केर मोहनलाई भेट्न स्कुल गई । साँढे पाँच बजिसकेकोले स्कुल सुनसान थियो । मोहन काममा व्यस्त थियो । दुईबीच लामो छलफल भयोे । पत्रिकामा प्रकाशित समाचार सम्झिँदै शारदा रुन थाली । मोहनले आक्रोश व्यक्त ग¥यो ।
‘यो सबै रमनको काम हो । भोलि अदालत गएर गाली बेइजती मुद्दा दायर गर्नुपर्छ ।’ उसले भन्यो ।
………………..
शारदा घर फर्किँदा साँझ परिसकेको थियो । छोरी देखेर चन्द्रप्रसादको कन्सिरी तात्यो । ‘आज पनि ‘डाङ्रो’लाई भेटेर आइस् हैन । नभेटेसम्म खाको पच्दैन कि कसो ? ’कामी‘सित मुख जोडेको समाचार गामभरि छ । सम्झाउनु सम्झायौँ तर टेरपुच्छर लाइन । अब अति भो । जुन त बाटो आइथिस् त्यै बाटो जा ।’ बुढो गर्जियो ।
‘पत्रिकामा लेखेको झुटो हो । रमनेले फैलाको हल्लाको पछि नलाग्नुस् बुबा !’
‘केको बुबा ! को बुबा ? म¥यो तेरो बुबा !’
बाबुछोरीको चर्काचर्की भयो । हल्लाखल्ला सुनेर गाउँलेहरू जम्मा भए ।
‘रमनले मात्र भन्या हो र ? सबै कामीसित जान लाई भन्चन् । जाने भए गैहाल्, म तेरो मुख पनि हेर्न चाहन्न ।’
‘त्यस दिन हामीले रेस्टुराँमा बसेर चिसो र एकएक प्लेट ममः खाएको मात्रै हो ।’ शारदाले रुँदै भनी ।
‘भेटेको त हो रैच नि । थुक्क कुकुर्नी ! गाउँभरि बुइँबुइँ छ । छोरी सुध्रेली भनेको तर । यो घरबाट निस्किहाल् ।’ रमा पनि कुर्लिई ।
‘रमाले ठीक भनिन् । अब यौटा टुङ्गोमा पुक्नैपर्च । केजातीलाई भन्दा देख्नीलाई लाज भनेजस्तो । हाम्लाईसमेत लाजमर्नु भैसक्यो ।’ लप्टन्नी कान्छीले थपी ।
दहलफसल चल्दाचल्दै रमनको बाबु वामदेव पनि टुप्लुक्क आइपुग्यो ।
‘बोरामा कुइएको आलु प¥यो भने सबै आलु कुहाउँच । सासू मरी भन्नुभन्दा काल पल्केला भन्नी डरभो । छोरीलाई मोहनेको जिम्मा लाएर आउ चन्द्रप्रसाद !’ उसले भन्यो ।
‘छिमेकीले के भने सुनिस् ?’
‘मलाई मोहनको जिम्मा लाउने कि आफ्नो छोरालाई मखमलीको जिम्मा लाउने हो, सोचेर बोल्नुस् ।’ शारदाले कडा जवाफ फर्काई । वामदेव वचनको चोटले घाइते भयोे ।
‘ठुलाबडासँग मुखमुखै लाग्ने ! कुलङ्गार काँकी । ह्याँबाट निस्किहाल् ?’ चन्द्रप्रसाद फेरि कड्कियो ।
‘म किन जाने ? के अपराध गरेकी छु र जाने ?’ शारदाले अड्डी लिई ।
‘यस्ता सन्तान जन्मनुभन्दा कोख बाँझो रहेको राम्रो ! धिक्कार छ तँलाई !’ रमा शारदाको जगल्टा लुछ्न अघि बढी ।
‘मोहनेसित नलाग् भनेर कति सम्झायौँ । हाम्रो लागि तँ मरिस् ! हट्, भाग् !’ चन्द्रप्रसादले शारदालाई घोक्¥यायो । ऊ घरको भित्तामा ठोकिई । टाउको र अनुहारमा चोट लाग्यो ।
रमाले भुइँमा पछारिएकी शारदाको कपाल लुछी ।
‘आजदेखि तँ मेरी छोरी हैनस् । ’कमिनी‘ होस, कमिनी !’ उसले भनी ।
‘यिनको पक्षमा बोल्दिने कोइ छैन भन्दैमा अत्याचार गर्न त भएन नि ! छोरी हो हजुरहरूकी । पाप लाग्च ।’ रञ्जनालाई दया लाग्यो ।
‘जान्ने हुन्चेस्, ला…!’
रमाले रञ्जनाका गालामा एक चड्कन हानी ।
शारदा आँगनको डिलमा घोप्टो परेर रोइरहेकी थिई ।
‘जा भनेको सुनिनस् ?’ चन्द्रप्रसादले जगल्टा समाएर घिसार्न थाल्योे ।
गाउँलेहरूले चन्द्रप्रसाद र रमाकै पक्ष लिए । बेसहारा शारदा रुँदै रुचिलाको घर पुगी । रुचिलाले शारदालाई आफ्नो कोठामा लगेर राखी ।
भोलिपल्ट मोहन र शारदा जिल्ला अदालत पुगे । उनीहरू पत्रिकामा प्रकाशित समाचारको सत्यतथ्य छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै गाली बेइज्जती मुद्दा दायर गरी फर्किए ।
०००

शारदा र मोहन ‘पिपल ट्री रिसोर्ट’मा पुगे । मोहनले शारदालाई रिसोर्टमा बस्ने बन्दोबस्त मिलायो । ‘भोलि व्यवस्थापन समितिको बैठक छ । बैठकमा तिम्रो नियुक्ति र बस्ने कोठा उपलब्ध गराउने प्रस्ताव राख्नेछु ।’ उसले भन्यो ।
रातको नौ बजे मोहन घरतर्फ लाग्योे ।
औँसीको रात भएकोले जताततै अन्धकार थियो । ओरपर स्याल कराईरहका थिए । नजिकैको बाँसको झ्याँङ्बाट हुँचिल कराएको त्रासद आवाज आइरहेको थियो । ऊ मोबाइल लाइटको सहारामा अगाडि बढ्दै गयोे । खोल्सोजस्तो ठाउँमा पुगेपछि खस्याक्खुसुक् गरेको आवाज आयो । चारपाँच जना केटाहरू नाटकीय शैलीमा देखापरे । उनीहरूले मुखमा रुमाल बाँधेका थिए । त्यसमध्येको यौटाले मोहनको बाटो छेक्यो । अन्य केटाहरूले लाठी वर्षाउन थाले । मोहन भुइँमा पछारियोे ।
‘तैले जनहित माविलाई धरासयी बनाइस् । चलिआएको धर्मसंस्कारलाई माटोमा मिलाइस् । ‘कामी’ भएर बाहुनकी छोरी ताक्ने अनि उल्टै हाम्लाई गाली बेइजती मुद्दा दिने ?’ छातीमा टेक्दै नकावधारीले भन्योे ।
‘रगत छाद्ने गरी हान् !’ अर्कोले आदेश दियो ।
होहल्ला सुनेर परबाट कसैले टर्चलाईट बाल्यो । आक्रमणकारीहरू फरार भए । उनीहरू नजिकै खोला छेउको झाडीमा गएर लुके । मोहनले शारदालाई फोन ग¥यो । केही बेरमा शारदा र रिसोर्ट साहु आइपुगे । शिवराम पनि भाइभतिजाहरूलाई लिएर आइपुग्यो ।
मोहनको टाउकोमा गहिरो चोट लागेको थियो । शारदा र तुलाराम मिलेर उसलाई पश्चिमाञ्चल अस्पताल पोखरा लिएर गए ।
भोलिपल्ट बिहान दोषीउपर कडा कारबाहीको माग गदै बाबु शिवराम स्थानीय नेताको घर पुग्योे । नेताजीलाई बोल्न गाह्रो प¥यो । लामो मौनतापछि उसले मुख खोल्योे–
‘मैले सबै कुरा बुझेँ । गाउँमा तल्ला जातको दुई अढाई सय भोट हो तर गैर दलितको भोट हजार हाराहारी छ । चुनाव आउँदैछ । थोरै तलवितल भो भने भोट ब्याङ्क बिग्रन्छ । हाम्रो पक्षमा पर्दै आएको भोट विरोधी पार्टीको बाकसमा जान सक्छ । अरू क्यै भए भन्नुस् तर यो विषयमा सरी !’ जवाफ आयो ।
‘उसोभा आउँदो चुनावमा हाम्रो भोट चाइँदैन हैन ? दुई हात जोर्दै भोट माग्न नआउनु नि फेरि ।’ शिवराम रिसले चुर हुँदै नेताको घरबाट निस्कियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank