सपनाका रास, मुक्तिका लाल र सबैका राम

 गणेश विश्वकर्मा ३ श्रावण २०७७, शनिबार १६:२९

रासलाल राम तराई मधेश कार्यक्षेत्र बनाएर आजीवन दलित आन्दोलनमा समर्पित दलित नेता हुन् । उनी वि.सं. २०२५ साल असोज १२ गते लाहान १४ स्थित वस्तिपुरमा जन्मेका हुन् । उनी दलितहरुको अधिकारको पक्षमा आवाज उठाउँदा उठाउँदै यही २०७७ असाढ ३१ गते हामीबाट सधैका लागि विदा भए । उनी जमिनसंग जोडिएका र जातीय विभेदसंग जोडिएका मुद्दामा १० वर्षको उमेरदेखि प्रतिवाद गर्दै आएका थिए । उनी जन्मदा पनि हरवा भएर जन्मे अनि मर्दा पनि हरवा नै भएर मरे । साझा सवाल, साझा आन्दोलन, साझा उपलब्धी र साझा इतिहास स्वतन्त्र र सशक्त र संयुक्त दलित आन्दोलनको परिकल्पनाकार मध्ये एक जना रासलाल २०५६/०५७ सालतिर नेपालमा सर्वाधिक चर्चा पाउने गरी उठेको सिरहा र सप्तरीको चमार बहिष्कार विरुद्धको आन्दोलनदेखि निरन्तर नेतृत्वमा रहे । “बरु गर्धन जाओस् तर सिनो नफाल्ने” भन्ने उदघोषका साथ नेता बलदेव रामको नेतृत्वको आन्दोलनमा हरेक कदम कदममा साथ दिदै सिरहा र सप्तरीको हरेक गाउँ, बजार, नगरका बाटा र गल्लीहरुमा हजारौ हजार दलितहरुलाई संगठीत गरे । उनले सिरहा र सप्तरीको सडकदेखि सिंहदरवारसम्म दलित आन्दोलन पु¥याए । सिराहा, सप्तरी, धनुषालगायतका जिल्लाका गाउँ गाउँमा दलित संगठन बनाउने र तराई दलितका विभिन्न जातिहरुलाई एकै ठाउँमा संगठित गर्ने काममा उनी अन्तिमसम्म लागि  रहे ।

२०६१ श्रावण ११ को सप्तरीमा भएको चर्चित भूमि, आरक्षण र नागरिकता अधिकारको लागि ४८ घण्टे धर्नाका उनी अगुवा हुन् । साथै सिंहदरबार घेराउ र छिन्ता भगवती मन्दिर प्रवेशको अगुवामध्येका एक हुन् । यही कारणले राष्ट्रिय दलित आयोग र दलित विकास समिति बनेको थियो तर रासलालहरु कहिल्यै ती आयोगका सदस्य समेत हुन सकेनन् ।

रासलालमा साच्चिकै मुक्तिको हुटहुटी थियो । यही हुटहुटी बोकेर उनले सर्वप्रथम आफूलाई जातीय छुवाछुत विरोधी आन्दोलनमा समर्पित गरे । सो आन्दोलनको एक महत्वपूर्ण मुद्दा उनले भूमि अधिकारलाई बनाएर सोको आन्दोलनमा होमिए । टोलदेखि सिंहदरबारसम्मका हरेक मोर्चामा दलित भूमिहिनताको मुद्दालाई उठाइ रहे । हरेक नेता र प्रशासकका अगाडि आँखा जुधाएर बोल्ने सक्ने हैसियत उनले निर्माण गरे । दलितहरुको अधिकार स्थापना गर्न उनले आफ्ना समर्थकहरुलाई नाँगा खुट्टासहित लाहानदेखि काठमाडौंसम्मका सडकमा उत्रिए । दलित आन्दोलन लोकतन्त्रको अभिन्न आन्दोलन हो भन्ने मान्यताका आधारमा उनले ऐतिहासिक जनआन्दोलन २०४६ र २०६२/६३ को आन्दोलनमा सिंगो आन्दोलनलाई समर्पण गरे । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर रासलालले आफूले उठाउँदै आएका आधारभूत मुद्दाको सम्वोधन भएन । नेपालको संविधान जारी भयो । संविधानको धारा ४० को ५ र ६ ले उनमा खुशीको सीमा रहेन तर संविधान जारी भएको ५ वर्ष पुग्न लाग्दा पनि उनले उठाएको जमिनको मुद्दा र हरवाचरवा मुक्तिको सम्वोधन भएन । स्थानीय तहको निर्वाचन भयो उनले वडा अध्यक्षको दावी गरे, वडा सदस्यको दावी गरे, कार्यपालिका सदस्यको दावी गरे तर कही स्थान पाएनन् । उनलाई अशिक्षित भन्नेहरुलाई छोराहरुलाई १० कक्षा पास गराए । १२ पास गरेकी बुहारी ल्याए तर रोजगारीमा राख्न सकेनन् । अनि छोरालाई १३७ प्रतिशत व्याजमा ऋण लिएर विदेश पठाए । आफ्नो लाहान बजारको जुत्ता पसल छोडेको त उनलाई २० औं वर्ष भइसकेको थियो ।

रासलालहरुले गौरवका साथ प्राप्त गरेको उपलब्धी भने सिनोे फाल्नैपर्ने सामाजिक बाध्यताबाट चमार जातिलाई सदाका लागि मुक्ती हो । नेपालको बहुआयामिक गरिवीको मारमा रहेका तराई मधेशका दलितहरुलाई संगठीत गरे । कमैया र हलियाहरु पहाडी समस्या भएर हल भयो हरवाचरवा मधेशी दलितको समस्या भएर हल भएन भन्ने उनको निराशावादी अभिव्यक्ति आइरहन्थ्यो ।

दलित आन्दोलनका विभिन्न कार्यक्रममा रासलाल राम सयौं पटक काठमाडौं पुगेका छन् । उनी पशुपतिको गौसला, माइतीघर मण्डला, सिंहदरबार घेराउ, प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालय घेराउमा सहभागी भएका थिए । काठमाडौं बाहिर सुनसरी, झापा, जनकपुर, बुटबल, पोखरा, दांङ्ग, कैलाली कैचनपुर, बैतडी पुगेका छन र आन्दोलनको अग्रस्थानमा खडा भएका थिए । उनले गिरिजाप्रसाद कोइरालादेखि यताका सबैजसो प्रधानमन्त्रीहरुलाई भेटेर दलित भूमिहिन र हरवाचरवा समस्यालगायत आक्रोशपूर्ण रोदन सुनाएका थिए । तर उनको आवाज सुनिएन । तर पनि थाकेनन् र तीन वर्ष पहिला लाहानमा ११ जिल्लाका हरवाचरवाको राष्ट्रिय सम्मेलनको आयोजना गरे राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको महासचिवमा निर्वाचित भए । यसबीचमा उनले सिराहा, सप्तरी र धनुषाका अधिकाँश स्थानीय तहमा करिव ५०० वटा संगठन निर्माण गरेका छन् । हालै स्थानीय कमिटी र जिल्ला तहका सम्मेलनहरु सम्पन्न गरेका थिए । रासलालको योजना दोस्रो राष्ट्रिय सम्मेलन भव्यताकासाथ सम्पन्न गरी आफू अध्यक्ष बन्ने चाहना र हरवाचरवाको मुक्तिको घोषणा भएको सुन्ने चाहना पूरा भएन । उनी तराई मधेशका दलित भूमिहिन सुकुम्वासीका लागि सेभ गार्ड नै थिए । दलितहरुको वस्ती उजाड गर्दा, दलितहरुमाथि अन्याय पर्दा र दलितहरुलाई कुनै सेवा र सुविधाको सूचना प्रवाह गर्नुपर्दा उनी दलित वस्तीमा नै हुन्थे ।

रासलाल आ.व.२०७७/७८ को केन्द्रीय नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाको मुक्तिको घोषणा हुने कुरामा ढुक्क थिए । किनभने उनले अघिल्लो वर्ष नै भूमिव्यवस्था मन्त्री र श्रममन्त्रीसमक्ष ज्ञापन पत्र बुझाउँदा आगामी बजेटमार्फत घोषणा हुने प्रतिबद्धतासहितको आश्वासन पनि पाएका थिए । जब केन्द्रीय बजेटमा हरवाचरवाको सम्बोधन भएन त्यसपछि उनी प्रदेशतिर लागे । ज्ञापन पत्र लिएर प्रदेश प्रमुख, मुख्यमन्त्री र विभागीय मन्त्रीसमक्ष पेश गरे । प्रदेशले पनि हरवाचरवाको मुक्तिको घोषणा गरेन । त्यसपछि उनी निरास भएर स्थानीय तहमा पुगे । स्थानीय तहले पनि यस कुराको सनुवाई गरेन । बरु तीनवटै तहको सरकारले हरवाचरवाको समस्यालाई गरीवी निवारणको औसत मुद्दाको रुपमा लिए । ज्ञापनपत्र बुझाउने क्रममा उनले प्रदेश नंबर २ का मुख्यमन्त्रीको अगाडि हामी सबै दाजुभाई नै हौं । अनि हामी एउटा भाई भूमिहिन छौं र अर्को भाई सम्पन्नशाली छ । अब तपाईहरु हाम्रो अभिभावक भएर आउनु भएको छ न्याय दिनुहोस भनेका थिए । उनले प्रचण्ड प्रधानमन्त्री हुंँदा उनीसमक्ष भनेका थिए अब हामी हाम्रा नागरिकता र मतदान परिचय पत्र जम्मा गछौं र ती सबै नागरिकता राज्यलाई फिर्ता गछौं । जब हामीले पाएको नागरिकताले जन्मदर्तादेखि लालपूर्जासम्म केही काम गर्दैन, हाम्रो मतले पुस्तौंदेखि केबल चुन्ने मात्र काम गर्छ चुनिने काम गर्दैन अनि किन चाहियो नागरिकता भन्दै फिर्ता गर्ने चुनौति दिएका थिए ।

रासलालहरुले गौरवका साथ प्राप्त गरेको उपलब्धी भने सिनोे फाल्नैपर्ने सामाजिक बाध्यताबाट चमार जातिलाई सदाका लागि मुक्ती हो । नेपालको बहुआयामिक गरिवीको मारमा रहेका तराई मधेशका दलितहरुलाई संगठीत गरे । कमैया र हलियाहरु पहाडी समस्या भएर हल भयो हरवाचरवा मधेशी दलितको समस्या भएर हल भएन भन्ने उनको निराशावादी अभिव्यक्ति आइरहन्थ्यो । उनको अगुवाईमा सिराहा सप्तरीमा दलितहरुलाई नयाँ शक्तिको रुपमा स्थापित गर्न सफल भए । सिराहा सप्तरीमा २०५९ पछि चरमोत्कर्षमा पुगेको माओवादी संकटकालमा दलित नेताहरु र उनका साथीहरु दोहोरो मारमा परे । उनीहरुले निर्माण गरेका संगठन गल्र्यामगुल्र्याम ढले । त्यसपछि चमार बहिष्कार आन्दोलनबाट भौतारिएको दलित आन्दोलन भूमि आन्दोलनमा परिणत भयो । उनीहरुको एकता भूमिअधिकार मञ्चको रुपमा विकास भयो रासलाल रामहरु पुनः आन्दोलमा उत्रिए । पछिल्लो समय भने दशनलाल र रासलालहरुले हरवाचरवा आन्दोलनको अगुवाई गरिरहेका थिए ।

मैले झण्डै २० वर्ष रासलालसंग प्रत्यक्ष र परोक्ष रुपमा संगै काम गर्ने मौका पाएँ । उनको विश्वास के थियो भने नागरिक संघ÷संस्थाहरुले पनि समाजिक रुपान्तारणमा काम गर्न सक्छन् तर संघ संस्थाहरु गैरराजनीतिक जमात बन्नु हुदैँन । अन्यथा तिनीहरुले आन्दोलनको मोर्चा छोडेर भाग्ने डर हुन्छ । अर्को कुरा जसको सवाल उसको नेतृत्व सिकाउन आउने दातृ निकायहरुले जसको सवाल उसको बजेट पनि भनोस भन्ने उनको बलियो तर्क थियो अर्थात दातृनिकायले दलित अधिकारका लागि दिइने सहयोग दलितहरुकै संस्थाहरुमार्फत दिनुपर्छ भन्ने उनको अडान थियो । हालै कोरोनाबाट त्राहीमान भएका हरवाचरवा अगुवाहरुको वस्तिस्तरमा र ६ दर्जन बढी अगुवाहरुलाई व्यक्तिगत रुपमा राहात वितरणको काम सम्पन्न गरेका थिए । रासलाल राम आफ्नो जीवनको अन्त्यमा पनि रुकुमपश्चिमको जातीय नरसंहारमा हत्या गरिएका नवराज विकलगायतका ६ जनासहित अंगिरा पासी, शम्भु सदा, राजु सदा, मल्लर सदालगायतको हत्याका विरुद्धको आन्दोलनमा लहानको आन्दोलनको मोर्चाको अगुवाई गरिरहेका थिए । आन्दोलन सकेर घर आएको राति सुते भोलिपल्ट विहान नास्ता खाएपछि धारामा पानी थाप्न जाँदा उनी ढले तर कहिल्यै नउठ्ने गरी । अल विदा परम मित्र दलित जनताको सपनाको रास अनि परिवर्तनको लाल रासलाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank