पोष्टमार्टम रिपोर्ट गलत : शान्तिपूर्ण आन्दोलनमा प्रहरीकाे दमन

दलित अनलाईन असार २, २०७७

काठमाडौं— अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित ढंगबाट हत्या गरिएको सोती प्रकरणका मृतकहरुको पोष्टमार्टम रिपोर्ट गलत आएपछि नवराज विकको आमा सहित पीडित परिवारहरु आन्दोलित भएका छन् ।
नवराज र उनका पाँच साथीको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख भएपछि पोष्टमार्टम रिपोर्ट दिने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै माग राखी आन्दोलनमा उत्रिएका छन् ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले चार राउण्ड हवाइ फायर र एक राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गर्दा पाँच आन्दोलनकारी घाइते भएका छन् । झडपमा परि स्थानीय पदम बुढा, उर्मिला विक, हजारी नेपाली, भिजन बुढा र अस्मिता सिंह घाइते भएका छन् । घाइते पदम मृतक गणेश बुढाका बुवा हुन भने उर्मिला नवराज विककी आमा हुन् ।
मृतक नवराज विक सहितका आफन्तहरुले घटनालाई ढाकछोप गर्ने गरी पोस्टमार्टम रिपोर्ट आउनु गलत रहेको भन्दै विरोधमा उत्रिएका थिए । आन्दोलनमा उत्रिएकाहरू प्रहरीले तिरवितर गरी दमन गरेकाे थियो। आन्दोलनकारी स्वास्थ्य सेवा कार्यालयमा तोडफोड गरेका छन् । तोडफोडबाट स्वास्थ्य सेवा कार्यालयको एक्सरे मेसिनमा क्षति पुगेको छ ।
पोस्टमार्टम रिपोर्टमा के छ ?
नवराज र उनका पाँच साथीको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । अभियोगपत्रमा उल्लेख भएअनुसार, सन्जु विक, टीकाराम नेपाली र गणेश बुढामगरको डुबेर मृत्यु भएको हो । नवराज, लोकेन्द्र सुनार र गोविन्द शाहीको हकमा मृत्युको कारण किटान गरिएको छैन । मृत्युको कारणमा ‘सम्भवत : डुबेर’ लेखिएको छ ।
लोकेन्द्रको टाउकाको अघिल्लो भागमा डाम परेको, दुवै खुट्टाको ददारिएका घाउहरू देखिएको छ । सन्जु विकको नदीमा खस्ने क्रममा टाउकाको विभिन्न भाग र आँखीभौंमा चोटपटक लागेको उल्लेख छ । नवराजको शरीरको बाहिरी तीन भागमा दाहिने र देब्रे कुहिनो ददारिएको अनि टाउकामा रड वा लाठीजस्तै केहीले हानेका घाउहरू देखिएको छ । टीकारामको टाउको र मुखलगायत घाँटी र दुवै खुट्टाका विभिन्न भागहरूमा रडजस्तै केहीले हानेको घाउहरू देखिएका छन् ।
गणेश बुढामगरको पोस्टमार्टम रिपोर्टमा लेखिएको छ– ‘दुवै हात, घुँडा र खुट्टाका औंलाहरूमा ददारिएका घाउहरू छन्, जुन जमिनमा खस्ने कारण भएको हुन सक्छ । तर, मृत्युको हुने जतिको गम्भीर होइन ।’ त्यस्तै, गोविन्द शाहीको शरीरको बाहिरी तीन भाग दायाँ तिघ्रा, देब्रे घुँडा र गोलीगाँठामा चोटपटक देखिएको छ ।
आरोपितहरूले लखेट्दै जाँदा नवराजलगायतको टोली भेरीमा हामफालेको र बगेर ज्यान गएको दाबी गरेका छन् । तर घटनास्थलको प्रकृति, बयान र अन्य वस्तुस्थितिले मारेर वा मरणासन्न हुने गरी कुटेर पानीमा फालेको पुष्टि हुने रुकुम पश्चिमको जिल्ला अदालत स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank