जाजरकोट (रानागाउँ) । जाजरकोटको भेरी नगरपालिका–४, खलंगा बजार रानागाउँको सिरानमा नवराज विकको घरबाट अरु दुई घरमुनि सञ्जु विक (२२) को घर छ । सञ्जु र नवराजको घरमात्रै नजिक हैन, मन पनि नजिक थियो । नवराजलाई आफ्नै भाई जस्तै ठान्थे सन्जुले । दुवै जना सरकारी जागिर खान चाहन्थे । दुवै खेलकुदमा उत्कृष्ट थिए । नवराजले प्रहरीमा लिखित परीक्षा पास गरिसकेका थिए । तर, सञ्जु भने नेपाल आर्मीमा भर्ती हुन चाहन्थे । त्यसैको तयारीमा उनको समय बितितिरहेको थियो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँमा १० जेठमा प्रेमिकालाई भगाउन गएको नवराजको टोलीमा सबैभन्दा परिपक्क सन्जु नै थिए । सबैभन्दा हट्टाकट्टा र उमेरले पनि अरुभन्दा जेठोबाठो । नवराजले आफ्नी प्रेमिकालाई भगाउन जाने कुरा उनलाई पहिल्यै थाहा मात्रै दिएनन्, उनकै सहयोगमा भगाएर ल्याउने आँटसमेत जुटाएका थिए । त्यही दिन सञ्जुका ५ वर्षे छोराको जन्मदिन पनि परेको थियो । भाईका लागि बुहारी ल्याइदिने र बेलुका छोराको बर्थ–डे मनाउने सञ्जुको योजना थियो । तर, नवराजको विहे गरिदिने सोचले भेरी तरेका सञ्जु पनि नवराजसँगै भेरीमा बगे ।
उनले छोराको जन्मदिन समेत मनाउन पाएनन् । उनको शव १५ जेठको दिउँसो ३ बजे कालेभीर मुनि भेटियो । घटनाको पाँच दिनपछि पनि उनको शरीरमा रगत सकिएको थिएन । अनुहारमा धारिलो हतियारको चोट थियो । जिउभरि निलडाम थिए । ‘त्यत्रो दिनपछि भेटिएको लास समेत हेरिनसक्नु थियो सर, खुकुरी प्रहार गरेका रहेछन्, पानीमा बगेपनि रगत बगिरहेको थियो,’ आमा सविता विकले भनिन्, ‘शरीरभरि चोटै चोटै थियो ।’
आर्मीमा भर्ती हुने प्रयास गरिरहेका उनको मृत्युले श्रीमती २० वर्षीय सविना अझै बेहोस् जस्तै छिन् । आमा सविता विक भन्छिन्, ‘सुपारी पनि मुखमा हाल्दैन थियो मेरो छोरो । बुवा पनि आर्मीबाट रिटायर्ड हुनुहुन्छ । ऊ पनि आर्मीमा भर्ती हुन चाहन्थ्यो ।’
उनले अर्काको लहै लहैमा लागेर आफ्नो छोराले ज्यान गुमाएको बताइन् । भनिन्, ‘मेरो नानीको के गल्ती थियो र ? उसको त बच्चा पनि सानो छ । हामी त काम गरेर काम खाने मान्छे हौँ, कसैको केही बिगारेका थिएनौं ।’ उनले दलित भएकै कारण मारिएकोप्रति दुःख मान्दै भनिन्, ‘बरु पुलिसले थुनिदिएको भए घरबारी राखेर भएपनि उकास्थे, तर मृत्यु नै दिएपछि त हामीले के गरेर चित्त बुझाउनु ? हामी त दलित प¥यौं, दलितलाई कसले हेर्छ र ?’ आँखाभरि आँसु पार्दै उनले अघि भनिन्, ‘हात भाँच्देको भए बरु उपचार गथ्र्यौँ । के गल्ती थियो र ? सिधै मारिदिनु पर्ने हाम्रो छोरोको । हामी त दलित भयौं, हामीलाई कसले हेर्छ र ?’
सञ्जुका बुवा पनि आर्मीबाट निवृत्त भएर बसेका छन् । सोतीगाउँ पुग्नेमध्ये सबैभन्दा बलियो र ज्यान भएका पनि सञ्जु नै थिए । उनी सजिलै भेरी वारीपारी गर्थे । सानैमा पढाई छाडेपनि उनी खेलकुद र मार्सल आर्टमा भने उत्कृष्ट थिए । उनकी आमा भन्छिन्, ‘मेरो छोरो विना कारण मारियो, पक्राउ परिएकाहरु मिठो मिठो खाएर बस्छन्, उनलाई परिवारले भेट्न पाउँछन्, तर, हामीले कहाँ गएर भेट्नु ? अब यी लालाबालाको भविष्य कसले थाम्छ ?’ सञ्जुकी श्रीमती सविना पनि कक्षा–१० मा पढ्दै थिइन् ।
१० जेठ शनिबारको दिउँसो चौरजहारी नगरपालिका–४ की प्रेमिका सुष्मा मल्ललाई भगाएर विहे गर्न गएका नवराज विक र उनका पाँच जना साथीहरु ठुली भेरीको छालसँगै बगे । उनीहरुसँगै उनीहरुको सपना र परिवारको खुसी पनि बग्यो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, गैरीज्यूलामा गाउँलेको आक्रमणमा वेपत्ता भएकाहरुको शव भेरीमा भेटिएको थियो ।
घटनामा परी सञ्जुसहित जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षे नवराज विक, १९ वर्षे गणेश बुढामगर, भेरी नगरपालिका–११ मटेलाका १८ वर्षे लोकेन्द्र सुनार र १७ वर्षे गोविन्द शाही तथा चौरजहारी नगरपालिका–१ का २० वर्षे टिकाराम सुनारको ज्यान गएको छ ।
Leave a Reply