रानागाउँ (जाजरकोट) — पढाईभन्दा खेलकुदमा अब्बल थिए, नवराज विक । उनले गतवर्ष कक्षा–१२ को परीक्षा उत्तीर्ण गरे । त्यही वेला नेपाल प्रहरी र नेपाली सेनामा दरखास्त खुल्यो । उनले पनि आवेदन दिए । नेपालगञ्ज गएर तयारी कक्षा लिए । फिजिकल टेष्टमा दुवैतर्फ उत्तीर्ण भए । तर, लिखितमा नेपाल प्रहरीको जवान पदमामात्रै उनको नाम निस्कियो । फागुन अन्तिम साता अन्तरवार्ता हुने तयारी थियो । तर, कोरोनाका कारण रोकियो । लकडाउन भएपछि घर र मेलापातका काममै आफुलाई व्यस्त राखेका नवराजको जीवनमा केही उतार चढाव सुरु पनि भए । तीनै उतार चढावले उनको जीवन र सपना पनि खोसिदियो । लकडाउन भएपछि नवराजले धेरै समय घरमा विताउँथे । तर, दुई वर्षदेखि सम्बन्धमा रहेकी प्रेमिका सुष्मा मल्ल भने घरि घरि टाढिन खोजिरहन्थिन् । कहिले काँही सम्पर्क पातलिँदा उनलाई पोल्थ्यो । उनी तड्पिन्थे । तर, पातलिँदो सम्पर्क भएपनि उनीहरुको प्रेम सम्बन्धमा कुनै असर परेको थिएन ।
सम्पर्क टुट्न लागेपछि उनी चैतमै पनि सुष्माको घर पुगे । नवराजसँगको प्रेम सम्बन्धबारे थाहा पाएपछि सुष्मालाई भने परिवारले दबाब दिन थालेको थियो । उनको मोवाइल नम्बर फेरिन्थ्यो । परिवारले नवराजसँग कुरा गर्न दिदनथे । कुरा गरेको थाहा पाए मोवाइल खोसिदिन्थे । प्रहरीकाअनुसार नवराज तेश्रो पटक १७ बैशाखमा सुष्माको घर चौरजहारी नगरपालिका–८, सोतीगाउँ पुगे । तर, त्यसवेला नवराजलाई सुष्माले स्वागत गर्न पाइनन् । सुष्माका बुवा र दाजुले गाउँले बोलाएर कुटपिट गरे । प्रहरीको जिम्मा लगाईदिए । १८ बैशाखमा नवराजकी आमा उर्मिला र आन्टीहरु गएर उनलाई छुटाए । त्यतिवेला उनलाई फेरि युवतीलाई नभेट्नु र त्यहाँ नआउन भनेर कुटपिट भएको थियो ।
त्यसपछि भने नवराज र सुष्माको सम्पर्क झनै पातलियो । दुई पटक आएर आफ्नै घरमा बसेकी प्रेमिका सुष्माको घर जाँदा आफुले भोगेको अपमान नवराजका लागि पनि सह्य थिएन । तर, सुष्माले साथी र भाईको मोवाइलबाट कहिले काँही सम्पर्क गरिरहन्थिन् । ९ जेठमा त्यस्तै एउटा फोन आयो । जसले नवराजको रिस र आवेगलाई शान्त मात्रै पारेनन्, खुसी र उज्यालो भविष्यको आशा देखे । सुष्माले फोनमा आफुँलाई भगाएर लैजान भनेकी थिइन् । उनले नजिकका साथीलाई शनिबार सोतीगाउँ जाने तयारीका लागि आग्रह गरे ।
१० जेठ । शनिबारको विहान । उनको हाउभाउ छुट्टै थियो । उनी खुसी थिए । प्रायः खाना नपकाउने उनी त्यो दिन आफैंले खाना बनाए । आफ्नो कोठा र घर वरिपरिको सरसफाई गरे । कपाल काटे र नुहाई धुवाई पनि गरे । ‘टाढै जान लागेको छस् कि बाबु ?’ भनेर सोध्दा ‘सरसफाई गर्न पनि नहुने भनेर’ हाँसेका थिए । आमा उर्मिला विक भन्छिन्, ‘खाना खाएर हामी आफ्नो काममा लाग्यौं, दिनभर उसका चप्पल कोठा बाहिरै थिए, त्यही होला भन्ठान्यौं, भरे फोन गर्दा ‘काफल खाएर आउँछु’ भनेको थियो ।’
नवराजले आमासँग गरेको त्यही कुराकानी अन्तिम भयो । काफल खान जान्छु भनेर प्रेमिकालाई भगाएर ल्याउन भेरी पारी गएका नवराज घर फर्किएनन् । राति ११ः४५ बजे भेरीमा उनको लास भेटियो । उर्मिलाको काख खोसियो । मुनलालको वंश मासियो । गैरदलित युवतीसँग प्रेम गरेकै कारण जाजरकोटको भेरी नगरपालिका–४, खलंगा रानागाउँका नवराजको परिवारको खुसी लथालिङ्ग बन्यो । नवराजसँगै गएका उनका पाँच जना साथीहरुको पनि ज्यान गुमाए । अरु १२ जना घाइते भएर फर्किए ।
आमा उर्मिला भन्छिन्, ‘मैले त ‘मल्लकी छोरी हाम्री बुहारी हुन्नँ’ भनेर सम्झाएकी थिएँ, नजानु भनेकी थिएँ, हामीलाई ढाँटेर गयो, यत्ति कारणले मारेर भेरीमा फाल्दिए, बरु फेरि पुलिसलाई जिम्मा लाइदिएको भए हुन्थ्यो नि !’
नवराज भलिबल, फुटवल र एथ्लेटिक्सका राम्रा खेलाडी थिए । विद्यालय तहदेखि नै यहाँ सञ्चालन हुने खेलकुदमा उनी सक्रिय हुन्थे । खेलकुदमा सहभागी भएर उनले ल्याएका प्रमाण पत्र र मेडलहरु अब उनको याद बनेका छन् । मारेर फालेपछि नवराज गाँजा खान्थ्यो, कुलतमा फसेको थियो, भन्ने आरोप लगाएको सुनेपछि आमा उर्मिलाले घरमा आउनेलाई ती प्रमाणपत्र र मेडल देखाउँछिन् । उनी भन्छिन्, ‘दलित भएकै कारण उनीहरुले मारे, त्यतिले पनि नपुगेपछि मेरो छोरामाथि गाँजा र ट्याब्लेट खान्थ्यो भनेर आरोप लगाछन् ।’
गाउँलेले लखेट्दा वेपत्ता भएको भनिएका नवराज कहिल्यै घर नफर्किने गरी गए । त्यो साँझ मुनलाल र उनको परिवार खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पुग्दा धल्ला पुल नजिकै एउटा लास भेटिएको खबर आयो । आधा रातमा नवराज र उनका साथीहरुलाई खोज्न आफन्त र छिमेकीहरु भेरी किनार पुगे । राति करिब १ बजे शवको पहिचान भयो । ११ जेठको दिउँसो १ बजे मुुचुल्का गरेर जाजरकोट अस्पताल ल्याइयो ।
वुवा मुनलाल भन्छन्, ‘लास ढुंगामा अड्किएको थियो, पुलिसले निकाल्न दिएन, त्यसपछि भोलि यहाँबाट बगाए कसले जिम्मा लिने ? भनेपछि डोरीले बाँधेर राखियो ।’ उनको हात भाँचिएको थियो, जिऊमा चोटै चोट थियो । टाउकोमा चार औला डुब्ने घाउ थियो । नाक पनि सुन्निएको थियो । ‘क्षत्विक्षत् हुने गरी ढुंगाले किच्याएर मारेछन्, हामीले हेर्नपनि सकेनौं, हेरौँ पनि कसरी ?’ उनकी सानीआमा पुर्णिमाले भनिन् ।
भेरीमा पौडी खेलेर वारीपारी गर्ने नवराजको लास भेटिएको खबरले गाउँमा रुवाबासी मच्चियो । वेपत्ता भएका अरु पाँच साथीका परिवार पनि आत्तिए । उनीहरुको सोधी खोजी सुरु भयो । चोटै चोट लागेर भेरीमा बग्दै गरेको नवराजको लास भेटिएपछि मुनलाल र उनको परिवारलाई ठकुरीहरुले मारेर फालिदिएको यकिन भयो । मुनलाल भन्छन्, ‘केटी आफैं यहाँ आएर बसेको थाहा पाएपछि मैले खलंगा बस्ने उनका ठुलाबुवा इन्द्रबहादुर मल्ललाई सम्झाउन भनेको थिएँ, तर त्यसवेला इन्द्रबहादुरले ‘मल्लको सम्धी बन्ने रहर नगर्नु’ भनेका थिए ।’ मुनलालले इन्द्रबहादुरको धम्कीपछि छोराले अन्तरजातीय विवाह गर्दा समस्या होला भनेर जिल्लाका अरु दलित अगुवा र नेतालाई पनि सुनाएका थिए । सबैले सहयोग गर्ने वचन पनि दिएका थिए । तर, कसैलाई सहयोग माग्न नपाउँदै मल्ल परिवारले नवराजको ज्यान लिएका मुनलाल सुनाउँछन् ।
बजार छेऊमा घरबाहेक केही छैन । थोरै भएको जग्गा पनि बाटोले खाइदियो । घरको कमजोर आर्थिक अवस्थाकै कारण राम्रो पढाई गर्न नपाएपछि नवराजले पढाई छाडेर जागिर खाने विचार गरेका थिए । उर्मिला घरछेऊको स्कुलमा सहयोगीको काम गर्छिन् । मुनलाल मिस्त्री काम गर्थे ।
गतवर्ष लडेर ढाड भाँचिएपछि अहिले काम गर्न सक्दैनन् । आफ्ना हातपाउ रगडेर हुर्काएको छोराले जागिर खाएर सुख देला भनेर सोचेका मुनलालले उल्टै जवान छोराको काजकिरिया गर्नुप¥यो । नवराजको परिवारमा हजुरबा, हजुरआमा, बुवा, आमा र बहिनी छन् भने उनका दुई दिदीहरु सरिता र सविता विवाहित छन् ।
बहिनी सुस्मिता एसईई परीक्षाको तयारीमा छिन् । मुनलाल भन्छन्, ‘अहिले दबाब त कसैले दिएको छैन, तर मल्लकी छोरीसँग माया गरेकै कारण मेरो छोराले ज्यान गुमाएको छ, मैले न्याय पाउनुपर्छ ।’ उनले सरकारले मल्लहरुले पहुँच देखाएर घटनालाई भवितव्यमा बदल्ने कोसिस गरेकाप्रति आपत्ति जनाउदै भने, ‘निदोषलाई थुन्नुहुन्नँ, दोषीलाई आजीवन कैद गरिनुपर्छ ।’
घटनापछि घरमा आएर सोधी खोजी गर्नेहरुलाई दुःख बिसाउँदा बिसाउदै उर्मिलाका आँखामा आँसु सकिएका छन् । भन्छिन्, ‘धेरै मान्छे आउनुभयो, को को आउनुभयो ? मलाई त होस् पनि छैन, तर हामीले न्याय पाउनुपर्छ, मेरो छोराको आत्माले शान्ति पाउँछ ।’
दुई वर्षअघि कुदुमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चिनजानपछि नवराज र ती युवती प्रेम सम्बन्धमा थिए । गत मंसिरमा युवती नवराजकै घरमा आएकी थिइन् । ‘मेला हुँदा आएका बेला ५ दिन बसी, पछि पुस १२ गते भाईको जन्मदिन मनाउन पनि आएकी थिई, सुरुमा छोरीकी साथी होली भन्थे,’ उर्मिला भन्छिन्, ‘सोध्दा खेरि उसैले म नवराजको साथी हुँ, हामी आठ वर्षपछि विहे गर्ने भनेकी थिई, आमा, बुवा भनेर सासु–ससुराझैं गर्थी, हामीले तिमी मल्लकी छोरी नवराजसँग कसरी विहे हुन्छ भन्दा, उसले हामी माओवादी हौं, त्यस्तो हुँदैन भनेर गएकी थिई ।’ नवराजका परिवार र आफन्त न्याय पर्खिएर बसेका छन् । घरमा पुग्ने जो कोहीलाई पनि उनीहरु आफ्ना विन्ती बिसाउँछन् । न्याय दिनुस् भनेर आग्रह गरिरहन्छन् । अहिलेसम्म उनीहरुले आश्वासन बाहेक पाएका छैनन् । उनीहर न्यायको आश गरिएका मान्छे भने घरमै नआएको पनि गुनासो गर्छन् ।
Leave a Reply