विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य मन्त्रालयले कोरोनाका विरामीको संख्या गनिरहेको बेला जातीय विभेदको घटना बारेको ग्राफ केलाउनु आफैमा दुखद विषय हो । तर, पीडितले उजुरी दिएको पाँच दिनमा बल्ल तल्ल प्रहरीले जाहेरी दर्ता गर्छ । अनि प्रदेश सभा सदस्यले सारा काम छाडेर हतारहतार विभेदका दोषीलाई आफ्नो पार्टीको नेता भन्दै निशर्त रिहाइको मागसहित प्रेस विज्ञप्ति जारी गर्छ । र, पीडितलाई अदालतले जसरी सदिऔँदेखिको सामाजिक सद्भावलाई धमिल्याउने उच्छृंखल तत्व करार गरिदिन्छ । यस्तो अवस्थामा पीडितलाई कोरोनाको सन्त्रासले पिरोल्ला की आफ्नै मुलुक वैरी भएको हिनताबोधले ?
र, पनि पोखरा महानगरपालिका – १६ बाटुलेचौरका पीडित मोहन सुनार (६०) भने विभेदविरुद्ध निरन्तर लडिरहने वताउँछन् । जसको लागि आफै खरानी हुन किन नपरोस् । किनकी उनलाई कानूनी राजमा गहिरो विश्वास छ । अल्पायुमै भाई गुमाएको पीडामा समाजले दिएको विभेदको चोटलाई कम्तीमा कानूनले न्याय गर्ला भन्ने मोहनको आशा अझै चुडिसकेको छैन ।
चैतको महिना । कोरोनाले पेन्डामिक रुप लिइसकेको थियो । त्यसैले चण्डीटोलका मोहन सुनारले पनि कोरोनाको डरले चुपचाप लकडाउनको पूर्ण रुपमा पालना गरिरहेका थिए । भागदौडको दुनियाँलाई विर्सेर मोहनको परिवारमा शान्ति छाएको छ । तर, २३ चैतमा अकस्मात दुवईबाट आएको अप्रिय खवरले मोहनको परिवारको शान्तिलाई छियाछिया पारिदियो । खवर थियो मोहनको आफ्नै भाइ समरको निधन ।
संसार ठप्प छ । अब के गर्ने ? भाइलाई कसरी लिने ? परिवारलाई कसरी सम्हाल्ने ? दुई दिनसम्म केही सोच्नै सकेनन् मोहनले । अर्को दिन दुवैमै दाहसंस्कारको व्यवस्था मिलाउने योजना बनाए । किनकी उनका छोरा र अर्का भाई पनि दुवईमै थिए । एकातिर अन्तिम पटक भाइको अनुहार देख्न नपाएकोमा त अर्कातर्फ लकडाउनमा क्रियाको बन्दोबस्त मिलाउनुपर्ने तनावले थप रुमलेको थियो मोहनलाई ।
मोहनको घरभन्दा पाँच सय मिटर पर क्रियापुत्री भवन थियो । दिनको समय खाना पकाउने र बस्नको लागि त्यही भवन माग गर्न उपयुक्त देखे मोहनले । नत्र त तीन किलोमिटर हिँडेर काली खोलामा पुग्नुपथ्र्यो । जहाँ बंगुर पालनले बस्न नसक्नुको दुर्गन्धित छ ।
त्यसैले उनी भवनको चावीको माग गर्नको लागि राम जिसीसँग पुगेर आफ्नो घटनाबारे बेलिविस्तार लगाए । यस्तो अवस्थामा भवन उपलब्ध नगराउनु कारण नै के छ र ? फेरि दुई वर्षदेखि यही प्रयोजनको लागि त यो भवनको निर्माण गरिएको हो । रामले हुन्छ भनिदिए । तर, चावी लिन भरतकहाँ पठाए ।
वडा सदस्य मेयरमान थापासँग पनि मोहनको राम्रो सम्बन्ध थियो । त्यसैले उनलाई पनि सम्पर्क गरेर विनय गरे मोहञ नले । र, चावी माग गर्न भरत कहाँ पुगे । भरतकी श्रीमतिले भनिन्, ‘भरत पनि छैनन्, चावी पनि छैन ।’ मोहनले त्यहीबाट भरतलाई सिधा सम्पर्क गरे । भरतले मोहनलाई जवाफ फर्काए, ‘चावी त छ दाई । तर, हजुरले राम जिसीलाई लिएर आउनुपर्छ ।’ मोहनले फेरि राम जिसीलाई फोन गरे पटक पटक तर फोन उठेन ।
जातीय विभेदजस्तो अमानवीय व्यवहारप्रति आएको माननीयको विज्ञप्तिले नश्लीय राजको एउटा उदाहरण प्रस्तुत गर्छ । विज्ञप्ति प्रति दलित संघसंस्थाले घोर भत्र्सना गरेका छन् भने सामाजिक सञ्जालमा कृष्णको आलोचना भएको छ ।
एकातिर दुवईमा भाइको दाहासंस्कार हुन सकेको छैन । अर्कोतर्फ क्रियाको लागि एउटा भवन पाउन पनि युद्ध नै लड्नुपर्ने अवस्था छ । डाडाथोक क्षेत्री समाजको अगुवाइमा सार्वजनिक जग्गामा बनेको जुन भवनमा महानगरकै लगानी छ ।
अर्को दिन मोहनले गाउँका केही बुद्धिजिवीलाई बोलाए र चावी मागे । उनलाई लाग्यो यति भएपछि त पक्कै पनि भवन पाइएला ।
तर, अर्को दिन माहौल अर्कै बन्यो । राम जिसीले चावी नदिनुको कारण खुलाए, ‘क्षेत्रीहरुले हजुरलाई चावी दिन मानेनन् ।’ त्यसपछि देवबहादुर र जनक थापा पाखुरा सुर्किदै मोहनको अगाडि प्रकट भए, ‘त मुला कामी भएर क्षेत्रीले बनाएको घर विगार्ने ।’ मोहन दुई कदम पछि सरे । कानूनले भने नीजी ठाउँमा समेत जातीय आधारमा भेदभाव गर्न नपाउने भनेको छ । तर, कोरोनाले भारतदेखि अमेरिकासम्म हारेको बेला आफ्नै समाजमा सामना गर्नुपरेको जातीय अहंकारको तीरले मोहन भाइको वियोगमा भन्दा बढी थलिए ।
परिवारको आर्थिक अवस्था सुधार्नको लागि १५ वर्षदेखि दुवईको चर्को घाम खेपिरहेको समर अन्तत बैशाख तीन गते दुवइकै बालुवामा विलाए । संस्कारअनुसार किरिया त गर्नु नै छ । मोहनले कपाल खौरिए । अनि दैनिक त्यही काली खोलाको किनारमा गएर खाना पकाउने खाने र दिन विताएर फर्कने गरे । तैह्रौ दिनमा उनी खौरिएको कपालमा सेतो टालो बाँधेर करियाबाट वाहिर निस्कीए ।
घटना यतिमै सिमित रहेन ।
१४ बैशाखमा जनक थापा फेरि मोहनसँग प्रतिशोध साँध्न पुगे । मोहनको गुडिरहेको मोटरसाइकल रोकेर मुख र हात एकै पटक चलाउन खोजे, ‘सञ्चार माध्यममा हाम्रो नाम लिएर किन बद्नाम गर्न खोजेको ?’ ‘तत्कालै गाउँलेको भीड लाग्यो । त्यसैले बचेँ’, मोहन भन्छन् । एउटा महानगरपालिकामा भएको यस्तो घिनलाग्दो व्यवहार खासमा लोकलाज थियो ।
त्यसपछि भने मोहनभित्रको सहनशीलताको धरहरा ढल्यो र उनी जातीय छुवाछुत र भेदभावको कसुरमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पुगे । रामबहादुर जिसी र जनक र देवबहादुर थापाविरुद्ध उजुरी दिए । ‘नेकपाको जिल्ला सदस्य भएकाले पनि म जत्तिको मानिसले विभेद सहेर बस्नु मानवजातीकै लागि अपराध हुने भएकाले प्रहरीकहाँ पुगेँ’, मोहन बताउँछन् ।
तर, पाँच दिनसम्म पनि छानविन नभएको भन्दै २३ गते मोहन, स्थानीय दलित जनप्रतिनिधी र वकील घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय पुगे । तर, प्रहरीले कुनै चासो दिएनन् । आश्वासन दिनुको सट्टा अपमानित शव्दले प्रहार गरे । प्रहरी निरिक्षक नरहरि अधिकारी र दिपक केसी कड्किए, ‘पक्षलाई हुल बाँधेर आई अनुसन्धानमा प्रभाव पार्न खोजेकाले तपाहरुको कारवाही हुँदैन । डिएसपीको व्यवहार उस्तै छुद्र थियो ।
सँगै पुगेको पत्रकार प्रेम नेपालीले यही दृष्यलाई क्यामेरामा कैद गर्न खोजे र, प्रहरी निरिक्षक नरहरी भने जंगीदै क्यामेरा खोस्न पुगे र अपशब्द बोल्दै जवरजस्ती क्यामेरा बन्द गर्न लगाए । पत्रकारमाथिको प्रशासनको अभद्र व्यवहारलाई पत्रकार महासंघदेखि, स्थानीय मिडियाले समेत निन्दा गरे । त्यही दिन बेलुकी प्रहरीले रामबहादुर जिसी र जनक थापालाई नियन्त्रणमा लियो । देवबहादुर थापालाई भने पक्राउ गरिएको छैन । अहिलेको कानुनी संहिताले पक्राउ नगरी पनि अनुसन्धान गर्न मिल्ने भएकोले त्यसरी नै अनुसन्धान भइरहेको डिएसपी राजकुमार केसी बताउँछन् ।
तर २४ वैशाखमा पीडक पक्षबाट प्रहरी कार्यालयअघि आन्दोलन निस्कियो । त्यो भीडले लकडाउन हटेको आभाष दिन्थ्यो । रामबहादुर र जनकको रिहाइको माग गर्दै उनीहरुले प्रहरी कार्यालय घेराउ गरे र प्रहरी कार्यालयतर्फ ढुंगा बर्साए ।
त्यही दिन साँझ गण्डकी प्रदेशका सांसद तथा नेकपाका जिल्ला अध्यक्ष कृष्णबहादुर थापाको सनसनीपूर्ण विज्ञप्ति आयो । उक्त भवन निर्माणले कृष्णले लगाएको महत्वपूर्ण गुण विर्सन नपाउँदै अर्को गुण लगाए । यसरी विज्ञप्ति जारी गरेर, ‘षड्यन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएका नेकपा वडा नम्बर १६ सचिवालय सदस्य रामबहादुर जिसी र जनक थापालाई विना सर्त रिहाइको माग गर्दछु र प्रहरी प्रशासनले गरेको ज्यादती तुरन्तै रोक्न सम्बन्धित निकाय तथा सरकारसँग माग गर्दछु ।’ जातीय विभेदजस्तो अमानवीय व्यवहारप्रति आएको माननीयको विज्ञप्तिले नश्लीय राजको एउटा उदाहरण प्रस्तुत गर्छ । विज्ञप्ति प्रति दलित संघसंस्थाले घोर भत्र्सना गरेका छन् भने सामाजिक सञ्जालमा कृष्णको आलोचना भएको छ ।
०००
क्रियाबाट निस्कीएका मोहनको कपाल पनि राम्रोसम्म उम्रिएको छैन । आघातले आँशुको आहलमा डुवेका परिवारको आँखा अझै ओभाएका छैनन् । समाजबाट सहानुभुती पाउने बेला मोहन ढोकामा ताल्चा ठोकेर घरभित्रै कैद हुन विवश छन् । केही दिनदेखि उनको घर नजिकै भेला हुने हुलका हुल पीडकहरुको भीडले उनलाई थप त्राहिमान बनाइरहेको छ । अर्कातर्फ उजुरी फिर्ता लिनका लागि धम्कीसहित बजिरहेका फोनको रिङटोनले उनको विश्वासलाई थप कमजोर पार्दैछ र पनि मोहनले खुट्टा कमाएका छैनन् ।
तर मुद्दा प्रहरी कार्यालयबाट अझै अदालत पुगिसकेको छैन । डिएसपी राजकुमार केसीले भने, ‘अनुसन्धान भइरहेको छ । अनुसन्धान सकेपछि मात्र अदालतमा पठाउँछौँ ।’
(लेखक अनलाइन खबरमा कार्यरत छन् । )
Leave a Reply