बाँके – यो सेतु विकको घर हो ? पिँढीमा टोलाएर बसिरहेका शेरबहादुर विकले पहिलो आवाज सुनेनन् । दोस्रोपटक अलि ठूलो स्वरमा फेरि सोधें । उनी चनाखो भए । टाउको हल्लाउँदै घरतिर आउने इशारा गरे । पिँढीमा रहेको कुर्सीमा बस्न लगाए । चिसो पानी खुवाए र ‘केही थियो कि हजुर ? ’ भन्दै उनी आफैंले कुरा कोट्याउन थाले ।
अटोरिक्सा चलाउने शेरबहादुर लकडाउनले घरै छन्। अटोरिक्सा थन्किएको छ। कान्छी पत्नी र छोराछोरी पाल्ने उनको जिम्मेवारी दिन प्रतिदिन बोझिलो बन्दै छ। वडाले लकडाउनमा दिएको १० किलो चामल सकिन लागेको छ। सहिद पत्नीको नाम लिएर आउने जोकोहीप्रति उनको ठूलो आशा हुन्छ। किनकि सेतुले नै उनको जीवनमा एकातिर शून्यता ल्याइदिइन् भने अर्कातिर जीवन जिउने आधार पनि। बाँकेस्थित खजुरा गाउँपालिका–३ ‘क’ गाउँमा सेतु विकको सानो झुप्रो थियो। अहिले त्यही झुप्रोमा टिनको छानो लगाइएको छ। उनी सहिद भएपछि सहयोगमा आएको ४ लाख रुपैयाँले छाप्रो घरमा टिनको छानो राख्न सकिएको थियो। शेरबहादुर सेतुको सम्झना गर्दै भन्छन्, ‘उनी सहिद बनिन्, घरमा टिन छायो।’ तर उनकै कोखबाट जन्मिएका तीन छोराको अवस्थाले उनको खुसीमा अँध्यारो छायो। ०६२र६३ सालको दोस्रो जनआन्दोलनमा सेतु सहिद भएकी थिइन्। शेरबहादुरले पत्नी गुमाए। छोराहरूले आमाको काख गुमाए।
वैशाख ५ को त्यो दिन उनी छोराहरूलाई लिएर नेपालगन्जस्थित सेतु विक चोकमा पुग्छन्। फूलका थुँगा सालिकमा चढाइदिन्छन्, अनि घर फर्कन्छन्। लोकतन्त्र दिवसमा समग्र सहिदलाई देशले सम्झिए पनि शेरबहादुर र उनका छोराहरूले वैशाख ५ गते नै सेतुको सम्झना गर्छन्। किनकि त्यही दिन उनले जनआन्दोलनमा सरिक हुँदा कुल्चिएर ज्यान गुमाएकी थिइन्।
पुर्ख्यौली घर रुकुम भएका शेरबहादुर र सेतुको प्रेमविवाह भएको थियो। बाँकेको ‘क’ गाउँमा बस्दादेखि उनीहरू स्कुल पढ्थे। विवाह भयो। २५ वर्षको उमेरमा सेतुले तीन छोरा जन्माइसकेकी थिइन्। जेठो छोरा ८, माइलो ६ र कान्छो छोरो २ वर्षको हुँदा उनी जनआन्दोलनमा सरिक भएकी थिइन्। सेतु सानैदेखि विद्रोही स्वभावकी थिइन्। उनकी आफन्त सुशीला विकका अनुसार गाउँघरको अन्याय अत्याचारप्रति सेतु विरोध गर्थिन्। खास गरी दलित समुदाय व्यवस्थित हुन आफैंले परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता उनको थियो। शेरबहादुर त्यतिबेला भारतमा मजदुरी गर्थे। गाउँघरमा हुने सानोतिनो झगडा मिलाउन, महिला समूह गठन गरेर आर्थिक बचत गर्ने, विभेदविरुद्धको जनचेतना जगाउन र रक्सी पार्नु हुँदैन भन्दै गाउँका महिलालाई सचेत बनाउन सेतु घरघरै पुग्थिन्। उनको यो व्यवहारले शेरबहादुर कहिलेकाहीं दुःखी हुन्थे। ‘नेतागिरी गर्न छोड भन्थें,’ उनी सम्झन्छन्, ‘गाउँमा बसेपछि यी सबै गर्न जरुरी छ भन्दै मलाई सम्झाउँथिन्।’
भारतमा मजदुरी गर्न गएका शेरबहादुरले फोनमा समेत सेतुलाई सम्झाएका थिए। तीन छोराको स्याहार गर्दै बसेकी उनी वैशाख ४ गते माइत गएकी थिइन्। भोलिपल्ट टोलटोलमा माइक फुक्दै नेताहरू आए। चन्दा देऊ कि सयौं जनालाई खाना खुवाऊ, कि आन्दोलनमा हिँड भन्ने आवाज सुनियो। सेतुकी आफन्त सुशीला विकका अनुसार सेतु भने खाना खुवाउन अन्न छैन, चन्दा दिन पैसा छैन बरु छोराछोरी छाडेर आन्दोलनमा होमिन्छु भन्दै ठूलो आँट जुटाएर निस्किएकी थिइन्।
सेतुका जेठा छोरा आशिष विक २३ वर्षका भए। आमा गुमाउँदा उनी ८ वर्षका थिए। आमाको मुहार कस्तो थियो भन्ने मगजमा धमिलो चित्र छ। माइलो भाइ र कान्छो भाइले त त्यही धमिलो अनुहार पनि सम्झन पाएनन्। कान्छो भाइ दुई वर्षको थियो। ‘भाइ राम्रोसँग हेर्नु म एकैछिनमा आउँछु’ भन्दै बज्यैको साथ छाडेर आमा आन्दोलनमा गएको दिन आशिष कहिल्यै भुल्न सक्दैनन्। वैशाख ५ गते उनले सम्झने पहिलो दृश्य नै त्यही हो। ‘आन्दोलनमा गएकाहरू बेलुका सबै फर्किए, आमा आउनुभएन,’ उनी भन्छन्, ‘त्यो रात आमा सम्झेरै बिताएँ।’ सहिदको छोराछोरी भनेर पढ्ने अवसर पाएका आशिषले त्यसको सदुपयोग गर्न सकेनन्। ‘सबै सुविधा थियो, खै के कुरा पुगेनरु पढ्नै मन लगेन,’ उनी भन्छन्। सहिद आमाको छोरोभन्दा उनको छाती फुलिन्छ। त्यहीअनुसार आफ्नो करिअर बनाउन नसक्दा निराश छन्। माइलो छोराले पनि पढाइ छाडे। कान्छो छोरा एसओएसमा कक्षा ८ मा पढ्दै छन्।
शेरबहादुर सहिद पत्नीको भन्दा पनि छोराहरूको भविष्य बिथोलिएकामा चिन्तित छन्। सहिद भएपछि तीन भाइ छोराको नाममा नाबालक खाता खोलेर सरकारले १० लाख रुपैयाँ बचत गरिदिएको छ। सुरुका एक–दुई वर्ष सेतुको सम्झनामा सहयोग गर्ने हात थुप्रै थिए। त्यति सहयोगले शेरबहादुरले झुप्रो हटाएर टिन लगाए। आफ्नै मिहिनेतले अटोरिक्सा किनेर भारत नगई स्वदेशमै रोजगार गर्न थाले। दिनभरि अटो चलाए पनि उनको घरमा चुल्हो जल्नमै ठिक्क छ। बल्लतल्ल सहयोगले छाएको टिनको घर अब कहिले भत्कने हो टुंगो छैन। ५ आना ऐलानी जग्गामा बस्दै आएका शेरबहादुरको आफ्नो सम्पत्ति भनेकै अटोरिक्सा हो। ऐलानी जग्गा पनि कुनै व्यक्तिको नाममा रहेको भनेर विवाद सुरु भएको छ। बेलाबखत बस्ती नै हटाउने खालका विवाद आउँछन्।
४७ वर्षे शेरबहादुरलाई त्यो बस्तीसँग पत्नी सेतु विकको प्रेम समेटिएको छ। ‘बस्ती उजाडिए सेतुको इतिहास मेटिन्छ,’ उनी भन्छन्, ‘कहाँ गएर बस्ने होरु एक टुक्रो जमिन छैन।’
(यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।)
Leave a Reply