वेदवाचक सुन्दास ‘सिस्टर’

राज सरगम ११ माघ २०७६, शनिबार १९:४६

मंसिर अन्तिम साता पोखराको तालबाराही किनारमा बनाइएको नेपाल साहित्य महोत्सवको भेन्यु निथ्रुक्क थियो । झरीकै कारण साहित्य महोत्सवको उद्घाटन होटलमा ‘इन्डोर’ हुने भयो । मञ्च बन्यो । दर्शकको भिड बाक्लो थियो । कार्यक्रमको घुम्टो खोलियो वेदका ऋचाहरूबाट, ॐ…!

वेदवाचन गरिरहेका थिए, सुन्दास थरका तीन दिदीबहिनी । वेदका ऋचाहरू बुझे÷नबुझे पनि उपस्थिति दर्शक निकै धैर्य र एकाग्रताका साथ सुनिरहे ।  वेदका ऋचावाचनले साहित्य महोत्सवको आकर्षण नै बनेका दलित समुदायका दिदीबहिनी मनिता सुन्दास, अनिता सुन्दास र ममता सुन्दास । परीक्षाका कारण कान्छी मेलिना सुन्दास भने पोेखरा पुग्न सकेकी थिइनन् । एकै रंगको पोसाकमा तीनैजनाले वेद पाठ गरिसकेपछि मञ्चबाट बाहिरिँदा भिडले छोप्यो । एक दर्शकले सुन्दास बहिनीलाई निकै कौतुहलका साथ सोधे, ‘वेद पढ्न कहाँ सिक्नुभएको ?’ ‘पाटनको श्री सत्य साई केन्द्र’ मनिताले फ्याट्ट भनिन् ।

उसो त उनले वेदका ऋचा सिकेको सत्य साई केन्द्रको यात्रा पनि रोचक छ । चार बहिनीमध्ये माइली हुन्, मनिता । १५ वर्षअघि अर्थात् सात वर्षको उमेरमा मनिता पाटनढोका स्कुलबाट घर फर्किंदै थिइन् । आफ्नै कक्षा साथीले उनलाई नमस्ते सुपरमार्केट पछाडि रहेको ‘साई केन्द्र’ चलाउँदै आइरहेको ‘बाल विकास स्कुल’मा पुर्‍याइन् ।

पहिलोपटक त्यहीँ देखेकी थिइन, मनिताले सेता र पहेला वस्त्र लगाएर भजन र वेदवाचन गरिरहेका भक्तालुलाई । ‘कहिलेकाहिँ रहरले पनि मानिसलाई प्ररेणा दिँदोरहेछ,’ साई केन्द्रको पहिलो यात्रा स्मरण गर्दै मनिता भन्छिन् । यस्तै, रहरले वेद पढ्न लालायित गराएको थियो मनितालाई । मन्दिरमा बस्नु, माइकमा बोल्नु, माला लगाइदिएर सम्मान पाउनुभन्दा पनि मन्दिरमा बाँडिने ‘प्रसाद’ले लोभ्याएको थियो उनलाई ।

प्रसादको लोभमा परेर सत्य साई केन्द्रको विद्यार्थी बनिन् मनिता । मन्दिरको माइकमा संस्कृतमा उच्चारित वेदका ऋचालाई ध्यानले सुन्थिन् । श्लोकहरू उच्चारण गर्न उनलाई हम्मेहम्मे हुन्थ्यो । तर, सत्य साई बाल स्कुल जान छोडिनन् । र, वेदका ऋचालाई सबैसँग स्वरमा स्वर मिलाएर घोक्न थालिन् । ‘कक्षा २ मा पढ्थेँ, श्लोक उच्चारण गर्न गाह्रो हुन्थ्यो,’ मनिता एकछिन गम्छिन् । त्यो समय वेदका ऋचाहरू घोकेर पनि संस्कृत श्लोकलाई नेपालमा अथ्र्याउन सक्दिनथिन् उनी । दैनिक वेदका श्लोकहरू एकध्यानले वाचन गर्न थालेपछि एकदिन जगममान गुरुङले उनलाई वेद पढिरहेको बताएछन् । उनी भन्छिन्, ‘वेद पढिरहेको छु भन्ने कहिल्यै लागेन । पछि गुरु जगमान गुरुङले वेद पढ्दै छौ भनेपछि थाहा पाएँ ।’

प्रसाद पाइने लोभमा पाटनको श्री सत्य साई केन्द्रले सञ्चालन गरेको बाल विकास स्कुल छिरेकी मनिता सुन्दास स्कुल छोड्दा भने वेदका ऋचावाचक भएर निस्किइन् । तिनै वेदका ऋचाले मनिताका चार दिदीबहिनीलाई देश र विदेशमा सम्मान दिलाएको छ ।

वेद पढ्ने स्कुल जान थालेपछि उनले आफ्ना दिदीबहिनीलाई पनि जाऊँ भनिन् । वेदवाचनमा अनिता, ममता र मेलिना पनि पोख्त भए । ‘दलित महिलाले वेद पढ्नै हुँदैन भन्दा रहेछन्, तर पढियो,’ उनको आवाज गह्रुँगो बन्यो ।

अहिले पनि प्रत्येक सोमबार बिहान चारै दिदीबहिनी वेद पाठ गर्न सत्य साई केन्द्र पुग्छन् । त्यहाँ दैनिकजस्तो वेदवाचन गरेर आ–आफ्नो कर्ममा लाग्छन् । वेदका हरेक ऋचाहरूलाई नेपालीमा व्याख्या गर्न सक्छन् ।

अहिले मनिता वेद पढिरहेकी छिन् । आफू दलित हुँ भन्ने दकस पनि छैन उनलाई । र विभेद गरेका ठाउँमा उनी खरो उत्रिन्छिन् पनि । धर्म प्रकृतिको उदाहरण दिएर सम्झाउन सक्ने भएको बताउँछिन् उनी । बाँकी तीन बहिनीलाई वेद पढ्न मन कसरी लाग्यो त ? अनिता भन्छिन्, ‘वेद पढ्ने इच्छा हामी चारैजनाको थियो । मात्रै, हामीले मनितापछि सिक्यौँ ।’

वेदका ऋचाले थपेको खुसी
जात व्यवस्थाले दलितलाई अछूत र मंगल कार्यबाट टाढा बस्नुपर्ने बनाएको छ । धार्मिक अनुष्ठानका मंगल कार्यमा सहभागी गराउन हिन्दू समाजका पुरोहितहरू हिचकिचाउँछन् । घरमा हुने कर्मकाण्डमा दलितको स्थान अझै स्वागतयोग्य छैन । तर, सुन्दास परिवारका चार दिदीबहिनीले वेद पाठ गर्नका लागि पाएको अवसर भने उदाहरणीय छ ।  धार्मिक मठमन्दिरहरूमा सहभागी हुँदै वेद पाठ गर्नुले नि विभेदको मानसिकता परिवर्तन गर्न सहयोग पुगेको उनीहरूको ठम्याइ छ ।

मनिताले वेद पढ्दै गरेको उनका बाबु नरबहादुर सुन्दासले धेरैपछि थाहा पाए । सुरुवातमा छोरीहरूले लाइनको विषय नपढेकोमा पीर गरे, आश्चर्यमा पनि परे । अहिले छोरीहरूको कारण सम्मान र बधाई पाइरहेका नरबहादुर भन्छन्, ‘छोरीले असल काम गरिदिए । जसले समाजमा सम्मान पाइएको छ । बाउआमाका लागि यो ठूलो खुसी हो ।’

नरबहादुरको पाटनढोकाको दर्जी पेसा अहिले पनि निरन्तर चली नै रहेको छ । यही पेसाको कमाइले चार छोरीलाई राम्रो पढाए, उनले । ‘छोरीहरूको सम्मानसँगै बाउआमाको सम्मान पनि जोडिँदोरहेछ,’ यति भनिरहँदा नरबहादुरको अनुहार खुसीले उज्यालियो ।

अहिले नरबहादुर छोरीको कार्यक्रम टिभीमा हेर्छन् । खुसी साट्न छरछिमेकी आउँछन् । छोरीहरूको प्रगति र सम्मान देखेर उनलाई चिन्नेहरूले स्यावासी दिन्छन्  । धादिङको सत्य साई केन्द्रमा वेद वाचनका लागि पूर्वतयारी लागेकी मनिता मन्दिरछेउ बसेर वेदका ऋचा घोकिरहेको थिइन् । यस्तैमा, कुनै पण्डितले देखेर आश्चर्यमा परे । उनले ढोग गर्दै गुरु मानेको घटना मनिताको मानसपटलमा ताजै छ । ‘वेद पढ्नु सामान्य होइन भन्ने ती पण्डितबाट पनि महसुस गरेँ,’ उनी भन्छिन् ।

देशका विभिन्न स्थानदेखि भारतसम्म पनि पुगेका छन्, यी दिदीबहिनीहरू । थुप्रै ठाउँमा बोलाउन पनि थालेका छन् । ‘सबैले दिने सम्मानै हाम्रा लागि ठूलो कुरा हो,’ मनिता भन्छिन् ।

 वेद र विभेदको बहस
कुनै समय महिलाले वेद पढ्नु हुँदैन भन्ने विश्वास थियो । अझ दलित महिलाले वेद पढ्लान् भन्ने कुरा कल्पनाभन्दा बाहिर थियो । अहिले भने वेदवाचन गर्नु खासै नौलो रहेन । तैपनि, जातीय छुवाछूत उत्तिकै छ । दलित भएकै कारण कुवा, मन्दिरबाट वञ्चित हुनुपरिरहेकै छ । धार्मिक शक्तिपीठहरूका मंगलकार्यमा सहभागी हुन सहज छैन, वेदवाचन त पर रह्यो ।

यस्तो वेला सुन्दास दिदीबहिनी भने वेद वाचनकै लागि मञ्चदेखि मन्दिरसम्म निम्तो पाउन थालेका छन् । उनीहरूलाई वेद वाचनका लागि असर भने जगमान गुरुङले जुराएको मनिता बताउँछिन् । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिबिद गुरुङ पनि मनितालाई प्रोत्साहन गरेकोमा खुसी छन् । ‘उनीहरूलाई सिक्ने पढ्ने इच्छा थियो । साईबाबा केन्द्रमा सहभागी गराएको थिएँ । मैले बाटो देखाएको मात्रै हो,’ गुरुङ भन्छन् ।

हिन्दू धर्मग्रन्थको नाममा  विभेद गर्ने कुचेष्टा गरिएको मनिताको तर्क छ ।  भन्छिन्, ‘वेदमा विभेद छ भन्छन्, तर वेदले विभेदको होइन प्रकृतिको सम्मान गरेको छ ।’

उनले नै चार बहिनीलाई वेद पाठ गर्न सिकाए ।  सत्य साई केन्द्रको वेदगुरु उनी नै थिए । पूजाआजाको अगुवाइ उनले गर्ने भएकाले अवसर पाएको मनिता बताउँछिन् ।गत वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा पृथ्वीनारायण शाह र राष्ट्रियता भन्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख थिए । त्यहाँ राई भुजेल, खनाल र सुन्दास थरका दिदीबहिनीहरूबाट वेदवाचन गराएका गुरुङ भन्छन्, ‘गणतान्त्रिक देश, धर्म निरेपक्ष देश भन्ने दलितले वेद पढ्न हुन्न भन्ने हुन्छ ? उनीहरूले वेद पढ्न हुन्न भनेर कहीँ लेखेको छैन ।’

के धार्मिक शक्तिपीठहरूमा हुने अनुष्ठानहरूमा सुन्दास दिदीबहिनीलाई वेद वाचनका लागि सहभागी गराइएला ? संस्कृतिविद् गुरुङ भन्छन्, ‘साई अभियानमा छुवाछूत तथा विभेद छैन । विभिन्न साई परिवारको मान्छे मरेका वेला पनि वेद पाठ हुन्छ त्यहाँ पनि म अगाडि सार्छु । सहभोजनमा पनि अगाडि सार्छु । वैदिक मंगलाचरण वाचन गरेर सम्पूर्ण कर्मकाण्डमा सहभागी गराउँछु ।’

प्रज्ञा प्रतिष्ठानका उपकुलपति गुरुङ थप्छन्, ‘साई परिवारमा कसैको घरमा मान्छे मरे, पूजा भयो, घर सर्ने दिन या केही शुभकार्य छ भने पनि वेद मंगलवाचनका लागि उनीहरूले राम्रै स्थान पाउँछन् । अरूको व्यवहारमा म यसै भन्न सक्दिनँ ।’ उनी अब राष्ट्रपति कार्यालयमा हुने धार्मिक अनुष्ठानमा यी दिदीबहिनीलाई वेद पाठ गराउने अभियानमा लागिरहेको बताउँछन् ।

राजनीतिक विश्लेषक आहुती भने दलित युवतीले वेद पढ्नुलाई सामान्य लिनुपर्ने बताउँछन् । तर, दलित युवतीले वेद पाठ गर्नुलाई विशिष्ट बनाइनुचाहिँ गम्भीर विषय भएको ठान्छन् । ‘आज त वेद किताब पसलपसलमा किन्न पाइन्छ । दलितहरूले वेद होइन, ज्ञान लिन पाएनन्,’ आहुती भन्छन्, ‘जुन वेलामा शास्त्र सुने मात्र पनि फलाम पगालेर कानमा हालिदिने भन्ने नियम थियो, त्यतिवेला वेद पढेको भए ठूलो र नौलो जनवादी कुरा हुन्थ्यो । आजको समयमा वेद पढिनु रुचिको कुरा हो ।’

सत्य साई केन्द्रमा सुरुआततिर मनिताका दिदीबहिनीलाई वेदवाचन गर्न रोक्ने कोसिस पनि भएको थियो । दलितले वेदवाचन गरेको सुन्दैना भनेर सत्य साई केन्द्रका केही गैरदलित समुदायका युवायुवतीले विरोध पनि गरेका थिए । तर, जगमान गुरुङले यस किसिमको विभेद स्विकारेनन् । मनिता भन्छिन्, ‘दलित महिलाले वाचन गरेको वेद नसुन्ने भनेर टेडिएका थिए । पछि गुरुले सम्झाएपछि शान्त भए ।’

कोखको आधारमा अछूत देख्ने मानिसहरूको सोचमै विभेद रहेको बताउँछिन् अनिता । उनी भन्छिन्, ‘वेद नभएर समाजले बनाएको रहेछ अछूत ।’ उनी हिन्दू धर्मका पुरोहितहरूले विभेद देखाइरहेको बताउँछिन् मनिता । हिन्दू धर्मको ग्रन्थमा विभेद देखाएर विभेद गर्ने कु–प्रचार गरिएको उनको तर्क छ । मनिता भन्छिन्, ‘वेदमा विभेद छ भन्छन्, तर वेदले विभेदको होइन प्रकृतिको सम्मान गरेको छ ।’

(यो सामाग्री नयाँ पत्रिकाको झन नयाँबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank