नरजन तामाङ
हुम्ला–सर्केगार्ड गाउँपालिका ३ स्थित उनापानी गाउँकी मनमति सार्की १७ वर्षको उमेरमा २ सन्तानकी आमा बनिन् । उनका छोरा ३ वर्ष र ६ महिनाका छन् । उनकै छिमेकी दुधकली सार्की १५ वर्षकी पुगिन् । पुसको पहिलो हप्ता छोरा जन्माइन् तर छोराको मृत्यु भइसकेको छ । सुत्केरी भएर १५ दिन गोठमै ओढ्ने ओछ्याउने प्रशस्त नभएपछि २ बच्चाको हेरचाह गर्न गाह्रो भयो । हेरचाह राम्रो नहुँदा छोरा गुमाएको उनले दुःखेसो पोखिन् ।
प्रजनन स्वास्थ्यमा ध्यान दिन नपाउँदा समस्या भोग्नुपरेको उनीहरु बताउँछन् । १६ वर्षकी सुपुरी कार्मीलाई स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउनुपर्छ भन्ने जानकारी समेत छैन । ‘स्वास्थ्य संस्थामा चेक गरी त्यहीँ सुत्केरी भए भत्ता पनि पाइने रैछ’ अचम्म मान्दै भनिन्, ‘बुहारी बनेपछि घरको सबै काम आफैले गर्नुपर्छ ।’
उनीहरु त जिल्लाका प्रतिनिधि पात्र मात्रै हुन् । सानैमा विवाह गरेकाहरु उमेर भन्न हिच्किच्याउँछन् ।
अनौठो संस्कार : गर्भअवस्थामै माग्छन् हात
हुम्लाको सर्केगार्ड गाउँपालिका २ स्थित उनापानी गाउँमा अनौठो संस्कार छ । महिला गर्भवती भएको समय ‘तपाइकी छोरी भए मेरो छोरालाई दिनुपर्छ’ वा ‘तपाइको छोरा भए मेरी छोरी दिन्छु’ भन्दै हात माग्न जाने चलन अझै छ । बच्चा जन्मेको एक दुई वर्षमा छोरी मान्छेलाई सिक्काको माला, सिलाका माला, पोते, चुरा लगाएर छोरी माग्ने चलन रहेको सर्केगार्ड गाउँपालिका २ का स्थानीय गोइध्या फडेराले बताए । बच्चा जन्मेको एक दुई वर्षमा छोरालाई बुहारीका लागि सानै हात माग्ने भन्दै पोते लगाउने चलन छ । पहिलाको तुलनामा यो चलन घट्दै गइरहेको उनको भनाइ छ । बच्चा ठुला भएपछि सानै उमेरमा मागेको जोडनु प¥यो भनेपछि स्थानीय भाषामा (जारी) ज्याला रकम लिने गर्छन ।
विद्यालय पढ्दै विवाह
विद्यालयमा पढ्ने लेख्ने उमेरमै हुम्लाका किशोरीहरु विवाह बन्धनमा बाँधिने गरेका छन् । सर्केगार्ड गाउँपालिका २ स्थित उनापानी गाउँका अधिकांश किशोरीहरु विद्यालय जाने उमेरमै आमा बन्ने गरेका छन् । गाउँका किशोरीहरु विहेपछि विद्यालय जानै छाड्ने गरेको स्थानीय धर्मशिला फडेराले बताइन् । ‘पहिला महिला गर्भवती हुँदै माग्ने चलन थियो’ उनले भनिन्, ‘अचेल त्यो चलन घट्दै जाँदैछ, विवाहका लागि किशोरकिशोरीहरु विद्यालयबाटै भाग्ने गरेका छन् ।’
Leave a Reply