कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको जानकारी दिए ।
जिल्ला संयन्त्रमा साविक नेकपा(एमाले)बाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन नेकपा माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच गरी १० जना रहने निर्णय बैठकले गरेको छ ।
अध्यक्ष पाण्डेका अनुसार जिल्ला संयन्त्रले महानगरपालिकामा दश, नगरपालिकामा आठ र गाउँपालिकमा छ सदस्यीय पार्टी संयन्त्र गठन गरेर पार्टीका विधान, नियमावली र पार्टीको निर्देशनलाई आधार मानी तल्ला तहको पार्टी एकीकरण सम्बन्धमा प्रदेश कमिटीलाई आवश्यक सुझाव दिनेछ ।
बैठकले आगामी कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी संयन्त्र गठनबाट तल्लो तहमा पार्टी एकीकरण प्रक्रियालाई गति दिन सहयोग पुग्ने विश्वास नेकपाको छ । नेकपा गण्डकी प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पार्टीको अन्तरिम विधानानुसार देशका ८ वटै प्रदेशमा प्रदेश इञ्चार्ज तथा पदाधिकारी चयन भएकाले पार्टी केन्द्रको निर्णयलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
Leave a Reply