गन्धर्व समुदायले छाड्दै पुख्यौली पेशा

दलित अनलाईन ११ भाद्र २०७५, सोमबार १७:५४

नारायणी रजौरे

दाङ- गाउँंगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वको पुख्र्यौली पेशा ओझेलमा परेको छ ।
बढ्दो गीत संगीत एवं प्रविधिको विकासका साथै समाजले पनि आपूmहरूलाई हेयको दृष्टिले हेर्ने गरेका कारण आफूहरु अहिले परम्परादेखिको यो पेशा छोडेर अरु पेशा अँगाल्न बाध्य भएको उनीहरु बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरको गणेश टोल बस्ने ७० वर्षीय दिले गन्धर्व भन्नुहुन्छ, “पहिलेका घर मालिकले प्रशस्त अन्न दिन्थे । त्यहीबाट घरपरिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारङ्गी बोकेर गाउँदै हिँड्दा धेरैले अपशब्द प्रयोग गर्छन् । अल्छी भनेर गाली पनि गर्छन् त्यो जवाफले त शरम पनि लाग्छ ।”

बीस वर्ष पहिलेदेखि जिल्लाका ग्रामीण क्षेत्र एवं तुलसीपुर, घोराही, लमहीका बजार क्षेत्रमा गीत गाउँदै हिँड्नुभएका उहाँ भन्नुहुन्छ, “हामीलाई समाजले हेला गर्ने र राज्यले पनि वेवास्ता गरेकाले गाउने पेशाबाट खान लाउन नपुग्ने अवस्था आएको हो ।”दिलेका अनुसार करीव ५० घरधुरीमा करीव ४०० गन्धर्व रहेको उक्त टोलमा अहिले १० जनाले मात्र यो पेशा अँगालेका छन् । उनीहरु पनि कुनै काम नपाएको बेलामा मात्र गाउँदै हिड्छन् ।हातमुख जोड्न साह्रै मुश्किल परेकाले यो पेशा नै गर्न नपरोस् भन्ने उनीहरुको सोच छ । अहिलेको पुस्ताले गायन पेशाप्रति देखाएको उदासीनताले आफ्नो जातिको अस्तित्व नै मेटिनसक्ने चिन्ता उक्त टोलका शालिकराम गन्धर्वलाई छ ।

आफ्ना युवा पुस्तालाई आर्थिक रुपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचान जोगाउन पुख्यौली पेशा अँगाल्न सकिने उहाँको भनाइ छ । आफ्ना पुर्खाहरु सल्यानको हिउल्चाबाट दाङमा आएको बताउनुहुने सोही टोलका टेकबहादुर गन्धर्व हात मुख जोर्न मुश्किल भएपछि पलायन भएका गन्धर्वहरु हाल दाङको तुलसीपुर, पातेटाकुरा, एकली लगायत स्थानमा ज्याला, मजदुरी, माछा मार्ने गरेर जीविका चलाउदै आएका छन् भन्नुहुन्छ ।

स्थानीयवासी टेकबहादुर गन्धर्व पनि पहिले मानामुठी अन्न बटुल्ने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पालगायत स्थानसम्म पुग्ने गरिए पनि सो पेशाबाट घरपरिवार पाल्न नसकेपछि हाल तुलसीपुरमा आएर मजदूरी गर्दै परिवार पाल्ने गरेको गरेको बताउनुहुन्छ ।

सल्यान हिउल्चा घर भएका महेन्द्र गन्धर्व आफ्नो जातीय पहिचान बोकेको गन्धर्वको संस्कृति हराउन थालेकामा चिन्तित हुँदै भन्नुहुन्छ, “गाइनेहरुले हिजोआज गायकगायिकाका गीतहरु मात्र सुनाउने तर आफूले खासै मेहनत नगरेका कारण पनि परम्परागत शैली हराइसकेको छ, कुनै घटनाको कथावस्तुलाई गीत बनाएर गाइने ‘कर्खा भाका’ अहिले सबैलाई गाउन आउदैन । ”

नयाँ गायकको नक्कल गर्ने प्रवृत्तिले लोकप्रिय ‘कर्खा भाका’ हराउन लागेकामा गन्धर्व समुदायका अगुवा एवं गायक सुशील गन्धर्व भन्नुहुन्छ, “गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले नेपाली संस्कृतिको एउटा अध्याय नै मेटिन लागेकोे छ । हरेक चुनावमा हामीलाई भोट बैङ्कका रुपमा मात्र प्रयोग गरिन्छ ।”

लोपोन्मुख यो संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र उक्त समुदायका युवालाई रोजगारी तथा आयआर्जनका काममा लगाउन राज्यले उचित नीति बनाउनुपर्नेमा शिक्षक निर्मल नेपाली बादी जोड दिनुहुन्छ ।

समाजमा भएका राम्रा, नराम्रा घटनालाई गीत बनाएर सुसेल्ने गन्धर्वको पेशा हराउँदै जानु नेपाली संस्कृतिका लागि दुर्भाग्य हुने संस्कृतिविद् अशोक थारूको भनाइ छ । उहाँ भन्नुहुन्छ, “समाजमा भएका विकृतिलाई सारङ्गीको मीठो धून अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि गर्ने गन्धर्वको पेशाको संरक्षण गर्न सबैले पहल गर्नुपर्छ, साथै गन्धर्वले पनि आफ्नो पेशाप्रति गर्व गर्नुपर्छ ।” नेपाली संस्कृतिको पहिचान दिलाउने लोकगीत पनि ओझेलमा पर्ने भएकाले यसलाई संरक्षण गरी संस्कृतिलाई पुनः जीवन दिनुपर्नेमा डा. गोबिन्द आचार्य जोड दिनुुुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank