जुम्ला – दुरुपति नेपाली जुम्ला तातोपानी गाउँपालिका–५ की वडा सदस्य हुनुहुन्छ । कैयौँ सर्वसाधारणहरुको सेवाका निम्ति उहाँ गाउँको नेतृत्वमा पुग्नुभएको छ । तर चेतनामा पछि परेका सर्वसाधारणबाट मात्र होइन् गाउँपालिकाका आफ्नै राजनीतिक सहकर्मीबाट समेत विभेदको भारी बोकिरहनुपरेको छ दुरुपति नेपालीले ।
नेतृत्वमा भएपछि वडाको वैठक हुने नै भयो । राजनीतिमा भएपछि सर्वसाधारणको काममा लाग्नै प¥यो । तर जव गाँउमा बैठकको आयोजना हुन्छ उहाँको मन भित्रैदेखि अमिलो भएर आउँछ । त्यही अमिलो पोख्नुहुन्छ, ‘सामूहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानी समेत पिउन मान्दैनन् ।’ यतिसम्मको तितो त पचाएकै थिए उनीहरुले । बैठकको खाजा खाने समयमा झुक्कीएर हात लागे पनि अन्य जातका प्रतिनिधीहरुले खाजा नै फिर्ता गर्न भन्छन् अनि उहाँलाई निकै हेपिएको महशुस हुन्छ । दुरुपतिको अनुहार नै मधुरो हुन्छ, ‘वडापालिकाका ब्राह्मण सदस्यहरूले मैलै छुन्छु अनि उनीहरुले खाजा फर्काउने मात्र होइन सुनपानी नै छर्केर चोख्याउँछन् । त्यतिबेला त मान्छे भएको मै धिक्कार लाग्छ ।’
उहाँ आफैमा एकल महिला हुनुको पीडा छ तर, एकल महिला भएकैले उहाँलाई समाजले अर्को कलंकको टिका लाइदिएको छ । यतिसम्मकी धामी झाँक्रीले समेत गाउँमा दुरुपतिलाई छुन मान्दैनन् । बाटोमा कतै देखे तर्केर हिड्छन् । स्थानीय तह कार्यान्वयनमा आएपछि या वडापालिकाको सदस्य भएपछि झन् बढी विभेदको शिकार हुनुपरेको अनुभव छ उहाँसँग ।
कानुनले त जातीय विभेदलाई जघन्य अपराध मानेको छ तर कानुन कार्यान्वयनकै ठाउँमा रहेकी दुरुपतिमाथि दिनप्रतिदिन विभेद हुन्छ र उहाँ लाचार भएर सहन बाध्य हुनुहुन्छ ।
दुरुपति मात्र होइन तातोपानीका लोकबहादुर परियारसँग पनि उस्तै अनुभव छ । लोकबहादुर भन्नुहुन्छ, ‘जातीय विभेदको मारमा जनप्रतिनिधि नै परेका छन् । सार्वजनिक ठाउँमै छुवाछूतको अवस्था जर्जर छ । हामी भोगिरहन बाध्य छौँ ।’
जिल्ला समन्वय समिति जुम्लाका प्रमुुख लालबहादुर सार्कीले अर्को पीडा सुनाउनुहुन्छ, ‘विहान खानेपानी भर्ने धारादेखि नै विभेद शुरु हुन्छ । उनीहरुको भाँडा नभरिए सम्म हामी कुरेर बस्नुपर्छ । पानी भरेर सबै फर्कीएपछि मात्र हामीले रित्तो गाग्री थाप्नुपर्छ ।’
Leave a Reply